नयाँ सोच, नौलो उत्पादन : आइडियाले दिएको ऊर्जा | News Feature by Shilapatra | March 26, 2020

Posted on Posted in Uncategorized

सम्झना घिमिरे | काठमाडौं, १३ चैत

कोरोनाको डरले घरमै बस्नुभएको छ ? भागदौडको जीवनमा अभ्यस्त भइसकेका तपाईं हामीलाई घरभित्रै बस्न निकै सकस भइरहेको होला । जताततै कोरोनाको चर्चा छ । घरमा बसौँ, कसरी स्वस्थ खानेकुरा खाने ? कसरी कसैलाई नभेटी, नछोई आवश्यक सामान किन्ने भन्ने अन्योल अहिले सबैमा छ ।

पछिल्लो केही हप्ताबाट छिमेकी देशहरूसँगका नाका सबै ठप्प छन् । त्यसैले नेपालीमा अहिले एउटै चिन्ता छ, कोरोनाले भन्दा छिटो अभावले पो मार्छ कि भन्ने । हुन पनि नेपाल ८० प्रतिशत आयातमा निर्भर छ । नुनदेखि सुनसम्म विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । यसले गर्दा कोरोना भाइरसभन्दा पनि पीडादायी बन्दै छ अभावको भय ।

यस अवस्थामा अभावलाई अवसरमा परिणत गरी केही सिर्जनशील युवाहरू भने मुलुकलाई आयातमा परनिर्भरबाट आत्मनिर्भर कसरी बनाउने भन्ने दिशामा लागिपरिरहेका छन् । लामो समयदेखि कोरोनाको जोखिम र त्रासलाई पर सार्दै सुरक्षित तवरमा दिनरात स्वदेशी उत्पादनलाई वृद्धि गर्दै घरगाउँमा भएका स्रोत, साधनलाई कसरी उपयोग गरी अभाव टार्ने भन्ने योजनामा छन्- अस्मिता उपाध्याय र अनु कार्की ।

हामी नेपाली, हाम्रो राष्ट्रिय खाना गुन्द्रुक र कोदोको ढिँडो । पक्कै पनि कोदोबाट अपरिचत हामी कोही छैनौँ । कोदोको ढिँडो, रोटी, खोले आदि हामी सबैले खाएकै छौँ । यी घरेलु खानाबाट वाक्क भएर अचेल शहरतिर कोदो खासै खाँदैनन् । रगत-पसिना बगाएर फलाएको कोदोले रक्सी मात्र बनाइन्छ, जसले गर्दा किसान बजार नपाएर हैरान छन् । कोदो विस्तारै लोकल रक्सी बनाउने कच्चा पदार्थमा सीमित हुँदै आएको छ ।

तर, के तपाईंलाई थाहा छ- अस्मिता उपाध्याय र अनु कार्कीले कोदोबाट हजुरबुबादेखि नातिसम्मलाई मनपर्ने गरी नयाँ परिकार दिदै छन्- कदोको कुकिज बनाएर । भोक लाग्यो, चिया पकाएर कुकिज खायो । कतै क्याफेमा गयो, सरल कुकिज नै । कतै घुम्न जाँदा पनि छिटो अनि मीठो कुकिज नै ।

कुकिज कुकिज हजुरबुबादेखि नातिसम्मलाई मनपर्ने चिज । मार्केटमा माग बढ्दो छ । विदेशबाट थरीथरीका कुकिज नेपाल आउँदा नेपालमै स्वस्थ्यवर्द्धक कुकिज किन नबनाउने भन्दै उपाध्याय सोचमग्न हुन्थिन् । सोच्दासोच्दै लमजुङमा नै कोदो उत्पादन गर्ने किसानले गरेको दु:ख र बजार नपाएर कुहिएको कोदोलाई सम्झिइन् ।

कोदोबाट किन नबनाउने कुकिज ? शहरमा ६० प्रतिशतभन्दा बढी वृद्ध तथा वयस्कहरूलाई चिनी रोग छ । सुगर रोगीका लागि पनि हुने, स्वास्थ्यका लागि पनि हुने अनि शहरियालाई पनि र गाउँलेलाई पनि । यही सोचलाई उद्योगको रूप दिन उपाध्याय र कार्की अहिले कुकिज बनाउन व्यस्त छन्, त्यो पनि स्वदेशी कोदोबाट ।

उनीहरू विजनेसलाई कोदो कागुनो नाम दिँदै कोदोबाट कुकिज बनाउने योजनामा छन् । पौष्टिक तत्त्वले युक्त कोदोलाई बजारमा ल्याउँदा विभिन्न प्रकारका रोगीहरूलाई थप सहयोग पुर्‍याउने उपाध्यायको दाबी छ । उनको पहिलो टार्गेट अस्पतालका बिरामी र घुम्न जानेहरू हुन्, जो स्वस्थ र छिटो मीठो खानाको खोजीमा हरदम हुन्छन् ।

उमेरले सानै भए पनि सोचमा पक्का रहेकी उपाध्याय आइडिया स्टुडियोको साथबाट कोदोलाई बजार दिन लागिपरिरहेकी छन् । उनी उत्पादन मात्र नभएर उत्पादनको बजारीकरण कसरी गर्ने भन्नेमा पनि उत्तिकै चनाखो छन् । बजारीकरण गर्न उनी कुकिजको बाहिरी आवरणमा पनि मौलिकता झल्काउने र किसानको पसिना झल्काउने सोचमा छन् ।

उनी निर्धक्कका साथ भन्छिन्, ‘कुकिज खानुभन्दा अगाडि तपाईंको अधिकार हो त्यसबारे जान्न पाउने । कहाँबाट अनि कसरी उत्पादन भएको छ भनेर जान्ने । त्यसैले हामीले कुकिजको प्याकेजिङलाई पनि ध्यानमा राखेका छौँ ।’ मौलिक शैलीमा फरक स्वादको उपाध्यायको कुकिजले आइडिया स्टुडियोका निर्णायकहरूलाई पनि लोभ्यायो । निर्णायक तथा गायिका आनी छोयिंग ड्रोल्मा कुकिज खाँदै तारिफ गर्दै भन्छिन्, ‘तपाईंको यो कुकिज म यहाँ मात्र होइन, घर लगेर सबैलाई खुवाउँछु । साँच्चै कल्पना पनि गरेकी थिइनँ यतिधेरै मीठो होला भनेर ।’

उनले यसो भन्दै गर्दा निणर्यकहरू पनि होमा हो मिलाइरहेका िए । आखिर नमिलाउन् पनि किन, उपाध्यायको उत्पादन नै यति मीठो छ । उपाध्यायले त किसानले फलाएको फललाई प्रयोगमा ल्याइन्, उता मितेस श्रेष्ठ र सुप्रिम था भने अर्गानिक खेती गर्न चाहेर पनि गर्न नसकिरहेका किसानलाई कसरी अर्गानिक खेतीमा अग्रसर गराउने भन्नेमा लागिपरिरहेका छन् ।

यदि मल नै अर्गानिक भएन भने फल कसरी आर्गानिक हुन सक्ला ? हो, यही सोचले उनी जैविक किटनाशक मल बनाउन लागिपरिरहेका छन् । मितेस नेपालमै पाइने प्राकृतिक वस्तुहरूबाट जैविक मल उत्पादन गरेर अर्गानिक उत्पादनलाई बढाउन सकिनेमा विश्वस्त छन् । यो मल किटनाशक हुनुका साथै स्वस्थ पनि हुने र अन्य मलहरूको तुलनामा सस्तो पनि पर्ने हुन्छ ।

सस्तो र आफ्नै वरपरका प्राकृतिक वस्तुहरुबाट बनाइएको किटनाशक मलले स्वास्थ्यमा पनि फाइदा पुर्‍याउँछ अनि भएनन् त किसान खुसी ? किसान मात्र होइन, मलबाट फल फलाएर स्वस्थ कुकिज खुवाउने सपना बोकेकी उपाध्याय पनि मितेस श्रेष्ठ र सुप्रिम थाको योजना देखेर दंगै छन् । 

  

 

 

 

 

 

उपाध्याय, था र श्रेष्ठ हामीलाई कसरी स्वस्थ खानेकुरा प्रवाह गर्ने भनेर लागिपरिरहेका छन् । खानाबाट स्वस्थ त पक्कै हुन्छौँ हामी सबै । तर, स्वस्थ खाएर शरीरलाई सुहाउने पोसाकमा ठाँटिँदै हिँड्ने रहर कसलाई पो नहोला र ?

विजय परियार भने हामीलाई सुहाँउदो पोसाक बनाएर सजाउने योजनामा तल्लीन छन् । विजय परियारले मिस्टर परियार नामक एप ल्याएका छन्, जसले टेलरिङको काम गर्छ । टेलिरिङ मात्र नभएर सीप भएर पनि ग्राहकको अभावमा विरक्तिएका आम सिलाइकटाइ गर्ने सिपालु व्यक्तिहरूलाई रोजगारी पनि दिनेछ ।

तपाईं हामीलाई धेरैचोटि एउटा पोसाक सिलाउन कुन टेलरमा दिने ? कसले राम्रो बनाउँछ ? कतै आफ्नो कपडा उल्टै बिगारी पो दिने हुन् कि ? भन्ने संकाले सताइरहेको हुन्छ । हामी सबै सस्तो पनि, छिटो पनि अनि आफूले भनेजस्तो पनि लुगा सिलाउने ठाउँ खोजिरहेका हुन्छौँ । हो, त्यही खोजीलाई बजार बजार डुलाउनुको साटो मिस्टर परियार एपले चाहिँ एकै ठाउँमा बसेर पूरा गर्ने योजना बनाएको छ ।

यसका लागि परियारले बजार पनि अध्ययन गरिसकेका छन् । उनी भन्छन्, ‘उपत्यकामा हजारौँ ग्राहकहरू दिनभर कहाँ कपडा सिलाउन दिने भन्दै भौँतारिइरहेका हुन्छन् । तिनै ग्राहकहरूलाई यो एपबाट सजिलै टेलरिङ सुविधा दिन सकिन्छ । एपमा टेलर व्यवसायीहरू पनि जोडिने हुँदा व्यवसायी एकत्रित हुन्छन् । यसले बजारमा स्वच्छ प्रतिस्पर्धा गराउँछ अनि ग्राहकलाई कपडा कहिले बन्छ भनेर बस्नुपर्ने बाध्यता पनि हुँदैन।’

परियार मिस्टर परियार एपले ग्राहकलाई थप सहज बनाउनुका साथै व्यवसायमा पारदर्शिता पनि कायम गर्नेमा ढुक्क छन् ।

आइडिया स्टुडियोको उत्पादन

आइडिया स्टुडियोले हरेक १५ दिनमा युवाहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्दै उनीहरूको सोचलाई उद्योगसम्म पुर्‍याउने बाटो तय गर्दै आएको छ । माथि उल्लेखित योजनाहरू पनि आइडिया स्टुडियो सिजन ४ का सोसल इम्प्याक्ट राउण्डका प्रतिस्पर्धीहरूको हो । प्रतिस्पर्धीहरूको सिर्जनालाई सम्मान गर्दै आइडिया स्टुडियोले प्रत्येक राउण्डका विजेताहरूलाई ५ लाख रुपैयाको ब्यवसायीक लगानी गर्दै आएको छ। आइडिया स्टुडियोमा अहिले २४ जना प्रतिस्पर्धामा छन् ।

Watch the full episode

Original News

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६, ०९:४५:००