यी आइडिया, जसले घरमै बसेर बनाउनेछन् लखपति | News Feature by Shilapatra | March 19, 2020

Posted on Posted in Uncategorized

सम्झना घिमिरे | काठमाडाैं, ६ चैत

‘नेपालमा पढ्न मन नै लाग्दैन । पढेर के गर्ने ? नेपालमा भविष्य नै छैन । पढ्न त पढ्ने तर व्यवसायी, उद्यमी हुन लगानी नै छैन । वातावरण पनि छैन । बैंकहरूबाट कर्जा लिएर गरौँ भने योजनालाई पत्याउँदैन । योजनालाई साकार पार्न पैसा छैन । गर्ने के त ?’

अधिकांश नेपाली युवाको समस्या हो यो ।

युवाहरू जो आफ्नै बलबुतामा नयाँ कामका साथ समाज बदल्ने सपना देख्छन्, त्यो सपनालाई यथार्थमा परिणत गर्न विगत ६ वर्षदेखि आइडिया स्टुडियोले नवीनतम सोच र ऊर्जालाई मिसाएर बलियो घर बनाइदिँदै आएको छ । त्यो घर तपाईं बस्ने सामान्य इँटा वा माटोको नभएर तपाईंको सोचको घर हो ।

नयाँ ऊर्जा र दूरदर्शी सोचहरूमा आधारित विजेनस योजना लिएर आउने र उद्यमी बन्न चाहने व्यक्तिहरूलाई उद्यमीतर्फको बाटो तय गरिदिन्छ आइडिया स्टुडियोले ।

आइडिया स्टुडियो सिजन ४ को पाँचौँ शृङ्खलामा आइपुगेका छन् ६ जना प्रतिस्पर्धी । ‘डिल राउण्ड’ नाम दिइएको यस शृङ्खलामा प्रत्येक युवाहरूले आफ्नो सिर्जना र त्यसलाई साकार पार्ने योजना प्रस्तुत गर्छन् ।

तीमध्येबाट एक प्रतिस्पर्धी छानिएर डिल राउण्डको विजेता बन्छन् । विजेताले आइडिया स्टुडियोबाट ५ लाख रुपैयाँ नगद पुस्कार पाउँछन् । २ हप्ता विजनेस कसरी गर्ने ? रिर्सच कसरी गर्ने ? अनि योजनालाई उद्योगको रूप कसरी दिने ? भनेर आइडिया स्टुडियोको तालिममा सहभागी भएर आफ्ना आइडियाले सार्थकता पाएको सपना देख्दै डिल राउण्डमा आइपुगेका छन् ६ जना आइडिया किङ ।

६ जनामध्ये यो सृङखलामा ५ जनाका आइडिया प्रस्तुत गरेका छौं, जसले आफ्नो सोच बदलेर समाज बदल्न प्रेरित गर्दैछन् ।

फोहोर होइन, मोहोर हो नफालौँ

जोसेफ श्रेष्ठ

जोसेफसँग गज्जबको आइडिया छ– देशलाई सफा राख्दै नयाँ र पृथक रोजगारी सिर्जना गर्ने । अचम्ममा नपर्नुहोस् । देशलाई सफा राख्ने हामी सबैको कर्तव्य हो तर के हामीले त्यो कर्तव्य पुरा गरेका छौँ त ? छैनौँ भने सोच्नुहोस् है ! फोहोरलाई मोहोर बनाउँदै देशको सेवा पनि गर्न सकिन्छ अनि पैसा कमाउन पनि ।

श्रेष्ठले गज्जबको मेसिन बनाएका छन्, जसको नाम हो– रिजर्भ भेन्डिङ मेसिन । यसले बजारमा हुने प्लास्टिकजन्य सामग्रीलाई थुपारेर आफैँ फोहोर लैजान आग्रह गर्छ ।

तपाईंले देख्नुभएको होला, ‘फोहोर मलाई’ लेखिएका डस्टबिनहरू सडक, पार्क छेवैमा । हामी त्यसैमा फोहोर फालेर हिँड्छौँ । तपाईंलाई थाहा छ । हामीले फालेका तिनै फोहोरबाट मोहोर निकाल्ने गर्छन् श्रेष्ठ । वास्तवमा श्रेष्ठको मेसिनले तपाईं हामीले प्रयोग गरेका प्लास्टिकजन्य सामग्री सङ्ग्रह गर्छ । त्यसका लागि यसलाई सडक, पार्क, अस्पताल, रेस्टुरेन्ट जस्ता स्थानमा राखिन्छ । भरिएपछि मेसिनकै मद्दतले सङ्कलनकर्तालाई अटोमेटिक सूचना जान्छ । सूचना पाएसँगै सङ्कलनकर्ता आएर ती फोहोरलाई मोहोरको रूप दिन थाल्छन् ।

 

 

मोहोरका रूपमा निस्कन्छन् गमला, कभर व्लक र टायल, जसलाई बजारमा तँछाडमछाड गर्दै ग्राहकले १ सयदेखि १ हजार रुपैयाँसम्म हालेर खरिद गर्छन् । अनि भएन त फोहोरबाट मोहोर ?

 

 

 

पीडा र त्रासमा उब्जिएको सिर्जना

विधि मण्डल

भूकम्पको अनुभवले तपाईं हामीलाई अझै तर्साउँँछ । घरिघरि त फेरि आउँछ कि भन्ने चिन्ताले पनि पिरोल्छ होला । हुन पनि हामीसँग भूकम्पको तीतो अनि नमीठो अनुभव छ । तपाईं हामी कतिले आफन्तलाई पनि गुमायौँ भूकम्पमा । भूकम्पले दिएको चोट र दुःखबाटै पेलिएर निस्किएको नयाँ सिर्जनालाई लिएर आएकी छन् विधि मण्डल ।

मण्डल पनि २०७२ वैशाखको विनाशकारी भूकम्प जाँदा काठमाडौंमै भाडामा बस्थिन् । भूकम्पले चिराचिरा पा¥यो उनको घर पनि । हेर्दै उराठ लाग्ने गरी । कोठा सरौँ, काठमाडौंमा कोठा पाउनै मुस्किल, चिराचिरा परेको घरलाई बस्नयोग्य बनाउन घरधनीलाई आग्रह गर्दा उल्टै नमीठो जवाफ पाइन् ।

तिनै नमीठा याद र अनुभवलाई सँगाल्दासँगाल्दै नयाँ सपना साँच्न थालिन् विधि । उनको सपना थियो– भूकम्प प्रतिरोधी घर बनाउने, धनीलाई पनि हुने, गरिबलाई पनि । उनले जताततै शहर नै प्रदूषित हुने गरी फालिएका प्लास्टिकलाई राम्रो र भरपर्दोका साथै दह्रो इँटा बनाउन सकिन्छ भन्दै खोजी गर्न थालिन् ।

‘खोज्दा भगवान् त भेटिन्छ’ भन्ने नेपाली उखान छ । उनले योजना खोज्दै थिइन् । नपाउने त कुरै भएन । काठमाडौंमा दैनिक ८२.५ मेट्रिक टन प्लास्टिक उत्पादन हुने भएपछि प्लास्टिकबाट इँटा बनाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्न थालिन् ।

उनले गरिबीकै कारण भग्नावशेष घरहरूमा बस्न बाध्य मानिसका लगि ‘आवास’ नामक योजना ल्याएकी छन् । प्लास्टिक र केमिकल प्रयोग गरेर बनाइएको इँटा अन्य इँटाभन्दा २ रुपैयाँ कमी हुने भएकाले त्यस्ता मानिसलाई लाभ हुने उनको भनाइ छ ।

यसरी बनाइएको इँटा अन्य इँटाको तुलनामा बढी बलियो हुने उनको दाबी छ । उनी सामन्य घर बनाउनभन्दा यस इँटाले बनाउने घरमा ७ लाखदेखि १२ लाख रुपैयाँमै घर बनाउन सकिन्छ ।

यो सामान्य इँटाबाट बनाउने घरभन्दा १० देखि १२ लाख रुपैयाँसम्म सस्तो पर्ने उनको भनाइ छ । यसबाट समय पनि बचत हुनेछ । एक तल्ला घर बनाउन मात्र अढाइ महिना लाग्ने मण्डलको दाबी छ । उनी भन्छिन्, ‘हामी आवास हौँ, जसले आजको वेसलाई भोलिको फाउन्डेसन बनाउन काम गर्छौं ।’

बाँसबाट व्यवसाय

अंशु प्रधान

बेत र बाँस हामी सबैले देखिरहेका हुन् । हेर्दा समान्य लागे पनि बेत र बाँसबाट भने सुन्दर सामग्रीहरू बनाउन सकिने योजनाका साथ आइडिया स्टुडियोमा आएकी छन्, अंशु प्रधान ।

अंशु प्रधान अर्थात् सिस्टर्स इन्टरप्राइजेजकी निर्देशक हुन्, जो मौलिक ह्याण्डिक्राफ्टहरू उत्पादन गरेर पर्यटकहरूलाई लोभ्याउने गर्छिन् । उनको फ्याक्ट्रीबाट उत्पादन हुने वस्तुहरूले जोसुकैलाई पनि लोभ्याउन सक्छन् । बेत र बाँसको घरेलु प्रयोगबाट उनी ठूलाठूला रेस्टुराँहरूलाई चाहिने समानहरू बनाउँछिन् ।सानासाना सामानहरूमा ‘कल्चरल आर्ट’ झल्काउने सामग्री उत्पादन गर्ने उनी विदेशमा नेपालीहरू माझ लोकप्रिय बन्दै गइन् । बेस्ट सेल अवार्ड र बेस्ट ह्याण्डिक्राफ्ट अवार्डबाट सम्मानित प्रधान अहिले ४ लाख २३ हजार रुपैयाँसम्मको मासिक व्यापार हुने गरेको बताउँछिन् ।

‘वार्षिक ५० लाख रुपैयाँको कारोबार गर्छु, त्यसमा मार्जिन २८.८ प्रतिशत छ र मासिक फाइदा ९२ हजार रुपैयाँ छ । अहिले बेतमा काम गर्ने मानिसको अभाव भएकाले भारतबाट कर्मचारी ल्याउनुपर्ने बाध्यता छ’, उनी भन्छिन्, ‘लगानी अझै बढाउन सके नेपालमै त्यस्ता व्यक्तिहरूलाई तालिम दिएर दक्ष बनाउन सकिन्थ्यो ।’ यसरी भारतबाट काम गर्ने जनशक्ति ल्याएर नेपालमा उत्पादन गर्न महँगो पर्ने गरेको थियो । यसले गर्दा कसरी पैसाको व्यवस्थापन गर्दै व्यवसायलाई उद्योगको रूप दिने भन्ने हेतुले ‘बेम्बो प्रोडक्ट’ नामक योजना लिएर लिएर आइडिया स्टुडियो आइन् । उनको नयाँ ऊर्जा र नयाँ सोचलाई स्टुडियोले नमान्ने त कुरै भएन ।

उनी बजारमा बाँस र बेतबाट बनेका समानहरू माग बढ्दै गएको र यसलाई उद्यमको रूपमा विकास गर्ने हो भने आफू मात्र नभएर मुलुक नै सक्षम हुने बताउँछिन् ।

 उनी नेपालमै रोजगारी सिर्जना गरौँ भनेर तालिम पनि दिँदै आएकी छन् । अब भने उनी बेत र बाँस नभएर बाँसमा मात्र केन्द्रित हुने बताउँछिन् । उनी भन्छिन्, ‘एकतिर मात्र फोकस हुनुपर्ने रहेछ । अनुभवले सिकायो, अब भने बाँसबाट मात्र बन्ने सामानहरू उत्पादन गर्छु । बजारमा अर्डर बढिरहेको छ । रोजगारीका लागि युवाहरू पनि छन् अनि बाँस आफ्नै देशमा भरपूर छ ।’ यो स्रोतलाई प्रयोग गरेर रेस्टुराँ र होटलहरूमा पठाउन सकियो भने उद्यमी बन्न कसैले नरोक्ने बताउँछिन् उनी । महिनाको १ हजार ५ सय युनिट बेच्ने उनको योजना छ । २५ लाख रुपैयाँबाट सुरु गरेको उद्यमलाई अझ राम्रो बनाउन १५ लाख रुपैयाँ अभाव भएको उनको भनाइ छ ।

 

 

 

यसरी फलाउनुहोस् लटरम्म तरकारी छतमा

विवश काफ्ले

‘काठमाडौंमा घर छ तर के गर्ने थोरै सब्जी लगाउने बारी छैन । जग्गा थोरै भएको भए तरकारीहरू लगाउने थिएँ’ भन्ने अधिकांश उपत्यकावासीहरूको सोच हुन सक्छ । यही सोचलाई यथार्थमा बदल्नका लागि नयाँ सिर्जना लिएर आएका छन् विवश काफ्ले ।

काफ्लेको सिर्जना साँच्चै गज्जबको छ । उनी शहरी क्षेत्रमा कसरी घरका छतछतमा तरकारी लगाउन सकिन्छ भनेर एउटा नयाँ व्यवसायको सोचमा छन्, जसलाई ‘सर्भिस रुफ फार्मिङ’को योजना लिएर आएका छन् । उनको यो योजनामा तपाईंले केही गर्नुपर्दैन । समय छैन, चिन्ता छैन । अल्छी लाग्यो, मज्जाले सुत्नुहोस् अनि घरको छतमा लटरम्म तरकारी फलाउनुहोस् । तरकारी कसरी लगाउनेदेखि फलाउनेसम्मको जिम्मा सर्भिस रुफ फार्मिङकै हुन्छ ।

उनीहरू बारम्बार फार्म भिजिट पनि गर्छन् । तपाईंलाई खेती कसरी गर्ने पनि सिकाउँछन् अनि तरकारी लटरम्म बनाएर जान्छन् । भएन त गज्जबको आइडिया ? तर, यसरी फार्मिङ गरिदिँदा उनीहरूले ‘चार्ज’ पनि लिन्छन् । यदि तपाईं आफैँ रुफ फार्मिङ गर्छु भन्नुहुन्छ भने पनि यो योजनाअन्तर्गत तपाईंले कसरी रुफ फार्मिङ गर्ने भनेर तालिम पनि पाउन सक्नुहुन्छ । तालिम दिएसँगै आवश्यकताअनुसार तपाईंले लगाएको तरकारीको अनुगमन गरेर अब के गर्ने भन्नेबारेमा जानकारी पनि दिइरहन्छन् । सर्भिस प्याकेजमा ८ वटा ‘स्टाब्लिसमेन्ट बक्स’ बनाउने तयारी पनि छ काफ्लेको । तपाईंले कति समयमा बक्स लिन चाहनुहन्छ, सोहीअनुरूपको पैसा लिन्छन् । अनि भएन त व्यवसाय ? यसमा हरित बनाउने सरकारको योजनामा पनि सहयोग हुन्छ अनि व्यवसाय पनि । काफ्ले आफैँ व्यवसायी हुन् । उनले यसका लागि काठमाडौं–१० मा भएका घरहरूलाई अध्ययनसमेत गरिसकेका छन् । यसबाट ४९.३ प्रतिशत फाइदा कमाउन सकिने उनको दाबी छ । उनी एक जना साथीबाट ४ लाख र आफूले ४ लाख रुपैयाँ लगानी गर्ने गरी सर्भिस रुफ टप फार्मिङ व्यवसाय कार्यान्वयनमा ल्याउने तयारीमा छन् ।

‘वेस्ट इज नट वेस्ट’

निशान्त मल्ल

चितवनका निशान्त मल्ल कृषिप्रधान देशमा बस्छु भने पनि कृषिप्रधान देशमा बसेर कृषिका लागि अपरिहार्य मल नपाएर किसान खेताबारी नै छाडेर विदेश भासिएको देख्दा नरमाइलो लागेको बताउँछन् । यसरी प्रत्येक वर्ष किसानहरूले मल नपाएको भन्ने गुनासो गरेको उनी सुन्छन् । त्यही गुनासोबाट जन्मिन्छ उनको जैविक मल बनाउने आइडिया । हामीले प्रयोग गरेर फालेका प्लास्टिक र धातुका वस्तुहरूलाई ‘रिसाइकल’ गरेर कसरी विजनेस गर्न सकिन्छ भन्ने नवीनतम योजना बोकेर मल्ल आइडिया स्टुडियो आइपुगेका छन् ।

उनी शहरमा थुपारिएका जैविक ठोस फोहोरलाई व्यवस्थापन गर्दै त्यसैबाट भर्मी कम्पोस्टिङ विधिबाट गज्जबको जैविक मल बनाउन सकिने बताउँछन् । कुहिने र नकुहिने फोहोरलाई सङ्कलन गरेर भर्मी कम्पोस्ट गरेर जैविक मल बनाउने उनको योजना छ । यसरी बनाइएको मल बोट बिरुवाका लागि निकै लाभदायक हुनुका साथै यस्तो मलबाट उत्पादित कृषि पूर्ण अग्र्यानिक पनि हुने उनको दाबी छ ।

हरेक वर्ष भारत र चीनबाट हजारौँ टन कृषि मल नेपाल भित्रिएको देख्दा मल्ललाई आफैँ किन उत्पादन नगर्ने भन्ने सोच आउँछ । सोही सोचलाई पछ्याउँँदै उनी अग्र्यानिक मल बनाउने विधिसम्म पुग्छन् । पुग्छन् मात्र होइन, आफैँ कम्पोस्ट मल बनाउने नवीन विधिको प्रयोगसमेत गर्छन् । बजारमा धान्नै नसकिने मलको माग र व्यवस्थापन नै गर्न नसकिने फोहोरको ‘फ्युजन’बाट उनी मल निकाल्ने बताउँछन् । यसरी निकालिएको मल कृषकहरूलाई बेच्ने योजनामा छन् । ५३ लाख रुपैयाँबाट सुरु गर्ने योजना उनको छ, जसका लागि मेसिनकै लागि उनले २२ लाख रुपैयाँ खर्च गर्नेछन् र बाँकी रकम अन्य काम गर्नका लागि खर्च गर्ने उनको सोच छ। उनी यसरी एउटा ठाउँबाट मात्र पनि लगानीको प्रतिफल २५.५ प्रतिशत निकाल्ने योजनामा छन् । अग्र्यानिक मलको योजना लिएर उनी स्थानीय तहसम्म पुगे पनि महानगरले कुनै चासो नदिएको गुनासो गर्छन् । उनी अब आफैँ मेसिन बानाएर शहर सफा गर्नुका साथै कृषकलाई त्यसैको मल प्रदान गर्ने योजनामा छन् ।

Watch the full episodes

Original news

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६