Idea Studio Nepal

आर्यघाटले दिएकोे ‘आइडिया’ | News Feature by Shilapatra | March 21, 2020

सम्झना घिमिरे | काठमाडौं, ८ चैत

‘सोचदेखि उद्योगसम्म’को अवधारणामा रहेर नयाँ आविष्कार गरेर उद्यमी बन्ने सपना बोकेर हिँडेका आमयुवाहरूलाई उद्योगसम्मको बाटो देखाइदिने उद्देश्यले सञ्चालित आइडिया स्टुडियोको सिजन ४ को छैटौँ एपिसोडको ग्रिनोभेसन विधामा आङ डोल्मा शेर्पाले ग्रिनोभेसन आइडिया प्रस्तुत गरेर ५ लाख रुपैयाँ जित्न सफल भएकी छन् ।

आइडिया स्टुडियोले ६ सय प्रतिपस्पर्धीबाट ३१ जना र ३१ जनाबाट २४ जनालाई छनोट गरी ४ वटा विधामा प्रतिस्पर्धा गराएर विजेता ४ जनालाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्दै आएको छ । आङ डोल्मा शेर्पा भने आइडिया स्टुडियो सिजन ४ को एपिसोड ६ की विजेता हुन् ।

biodegradable khata khada

आफ्नो कामप्रति दंग

जबजब आङ डोल्मा शेर्पा कसैको अन्तिम संस्कारका लागि पुग्छिन्, उनी मुसुक्क हाँस्छिन् । शोकमै किन नहोस्, उनी समवेदना प्रकट गरेपछि पनि मुस्कुराउँछिन् । मालामी जाँदा मात्र होइन, उनी अरू कसैको विवाह पार्टी या बिदाइमा जाँदा पनि पुलकित बन्छिन् ।

तपाईंलाई अचम्म लाग्ला, आखिर किन आर्यघाटदेखि पार्टी हलसम्म र अन्तिम संस्कारदेखि स्वागत गर्दासम्म उनी मुस्कुराउँछिन् ? यसको एउटै उत्तर छ डोल्मासँग, त्यो हो– उनको सिर्जना । डोल्माको सिर्जनाले कसैलाई रुवाउँदै बिदाइ गर्छ त कसैलाई हँसाउँदै स्वागत पनि । सुख, दुःख, रोदन सबै समेटिन्छन् शेर्पाका सिर्जनामा । यही सिर्जनालाई साकार पार्दै शेर्पा आइपुगेकी छन् आइडिया स्टुडियो ।

आर्यघाटले जन्माएको आइडिया

उनी सिर्जनाको पोको निर्णायकहरूका सामु फुकाउँदै भन्छिन्, ‘यो आइडिया त आर्यघाटबाट जन्माएको हो ।’ उनको ‘आइडिया’ अर्थात् खादाको व्यापार । जबजब शेर्पा आर्यघाट पुग्थिन्, एउटै हुटहुटीले सताउँथ्यो । उनलाई र उनकी आमालाई अन्तिम संस्कारका लागि राखिएका लासमाथिको खादा विना कारण जलेको पटक्कै मनपर्दैनथ्यो । उनी सोच्थिन्, ‘किन अन्त्य गरिन्छ मानिससँगै खादालाई पनि ?’ जन्मदेखि मृत्युसम्म प्रयोग गरिने खादा जलाइएको देखेर उनलाई सधैँ नरमाइलो लाग्थ्यो अनि उनी त्यसरी खादा जलाइएको प्रति आक्रोश पोख्दै बस्थिन् । यसरी आर्यघाटाको खादाले उनमा सानैदेखि प्रभाव छाडेको थियो । उनी बढ्दै गइन् । उनीभित्र बढ्दै गयो खादाप्रतिको उनको आकर्षण पनि । खादा फालिएको र जलाइएको प्रति गुनासो गरेको २ वर्षपछि भने उनले खादाका बारेमा अध्ययन, अनुसन्धान गरिन् । भनिन्छ, केही गर्न चाह्यो भने भगवान् पनि पूरा गर्न लागिपर्छन् । अध्ययन, अनुसन्धान गर्दागर्दै अनि आर्यघाटमा छरिएका र जलिरहेका खादाहरूबाटै सुरु हुन्छ उनको खादा उत्पादन गर्ने सपना । र, त्यही खादा बनाउने सपना टेकेरै सुरु हुन्छ उद्यमी बन्ने सपना ।

चम्ब खादा

खादाका बारेमा खोज्दै जाँदा उनी नेपालमै पहिलो पटक चलन चल्तीमा ल्याइएको पहिलो खादा चम्ब खादासम्म पुगिन् । सेतो, सादा र कमसल लाग्ने खादा खासै उपयोगी लागेन उनलाई । कारण, खादा लगाउँदा लुगामा अड्किने खालको थियो । उनलाई लाग्यो, ‘म आफैँले खादा किन नबनाउने ? किन मौलिक खादा प्रयोगमा नल्याउने ?’ यही सोचले उनलाई खादा बनाउनेसम्म पुर्‍यायो ।

मौलिकताप्रतिको मोह

नेचुरल फाइबरबाट खादा बनाउने योजनामा छिन् उनी, जुन बायोडिग्रेबल हुन्छ अर्थात् पुनः प्रयोग गर्न सकिने । नेचुरल फाइबरबाट बनाइएको खादामा मौलिकता झल्काउन अष्टमंगलको चित्र राखिएको बताउँछिन् । पछिल्लो समय खादामा बौद्ध धर्मावलम्बी मात्र नभएर सबैको रुचि बढ्दै गएको छ । त्यसैले पनि पुनः प्रयोग गर्न सकिने खादाहरू बजारमा ल्याउन चाहन्छिन् शेर्पा । विस्तारै हुने विकासमा विश्वास गर्ने शेर्पा उत्पादनलाई परिष्कृत गर्दै लगेको बताउँछिन् । अहिलेसम्म उनले २३ लाख रुपैयाँ नाफा गरिसकेको बताउँदै उत्पादनलाई बढाउँदै लैजाने सोच रहेको बताइनन् ।

उनको सोच र अवधारणालाई पूरा गरेको छ, आइडिया स्टुडियोले ।

त्यसैले त उनी आइडिया स्टुडियोको डिल राउण्डअन्तर्गतको ग्रिनोभेसन प्रतिस्पर्धामा विजेता बनिन् र ५ लाख रुपैयाँ हात पार्न सफल भइन् ।

अबको योजना

वनस्पती रङमा खादा निकाल्ने उनको सोच छ । उनी भन्छिन्, ‘अहिले खादा बनाउँदा केमिकल प्रयोग गरिँदै आएको छ । अब केमिकलरहित बनाउँदै सस्तोमा बेच्ने योजनामा छौँ ।’ प्रकृतिको धनी देशमा अब खादा पनि वनस्पती रङमा नै निकाल्दा स्वास्थ्यलाई समेत थप सहयोग पुर्‍याउने उनको बुझाइ छ । त्यसमाथि वनस्पती रङ नेपालमै बन्ने हुनाले नेपालकै स्रोत परिचालन गर्ने उनको सोच छ । त्यसका लागि अब मेसिन आफैँ किनेर आफैँ उत्पादन गर्ने सोच बनाएकी छन् ।

आइडिया स्टुडियोबाट नगद जितेसँगै अब ८ सय पिस उत्पादन गर्दै आएको खादालाई बढाएर ३ हजार पिस प्रति महिना बनाउने उनको योजना छ । वनस्पती रङबाट बनाउने खादालाई देखाएर उनी विजनेस मात्र नभएर आफ्नै स्वदेशी स्रोत साधनबाट समाजमा केही गर्न सकिन्छ है भन्ने उदाहरण दिन चाहेको बताउँछिन् ।

Watch the full episode

 

Original News

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६

 

Scroll to Top