समाचारउद्योगराेजगार संकटकालीन घडीमा पनि मिसनमै व्यस्त मार्सी बुढा, को हुन् उनी? | News Feature by Shilapatra | April 1 2020

Posted on Posted in Uncategorized

सम्झना घिमिरे | काठमाडाैं, १९ चैत

आज चैते दसैँ । सबैको घरमा विभिन्न परिकारहरू बनाइएको होला । नबनाउन् पनि किन ? आखिर हिन्दु धर्मावलम्बीहरूको दसैँ जो पर्‍यो । परिवार अफन्तहरूसँग भेटभाट रमाइलो गर्ने दिन ।

तर, अफसोच ! विश्वव्यापी फैलिएको कोरोनाले गर्दा अधिकांश नेपाली घरभित्र थुनिएका छन् । त्यसैले पनि हुन सक्छ । यस पटकको चैते दसैँको रौनक खासै छाएको छैन । बजारमा अभाव, मनमा त्रास र पीडामा रहेको बेला चार्डपर्व मनाउने कुरै आएन ।

हामी सबै जीवन लम्ब्याउने आशामा घरभित्रै थुनिइरहँदा मार्सी बुढा भने मिसन पूरा गर्ने सोचले कर्णालीदेखि काठमाडौंसम्म आएका छन् । आखिर उनको मिसन के हो ? कुनै आईएसआई वा ‘र’ का एजेन्ट त होइनन् उनी जो संकटकालीन अवस्थामा पनि मिसनमै खटिइरहेका छन् । आखिर को हुन् मार्सी बुढा ?

दौरा सुरूवाल कोट र ढाका टोपीमा ठाँटिएका मार्सी बुढा उर्फ दीपकबहादुर बुढा कर्णालीका रैथाने हुन् । उनी कर्णालीदेखि काठमाडौंसम्म त्यसै आएका होइनन् । कर्णालीमै जन्मिएर हुर्किएका दीपक कर्णालीलाई काठमाडौंका व्यक्तिव्यक्तिको स्वादमा रूपान्तरण गर्ने मिसन पूरा गर्ने सपना बोकेर आएका हुन् ।

आफ्नो मिसनबारे मार्सी बुढा साहित्यिक पारामा भन्छन्ः

‘कर्णालीको विम्ब बदल्ने सपना छ मेरो,
आफ्नै जीवनमा साकार पार्ने संकल्प हो मेरो
बरू मार्सी फलाउँछु, चौँरी चराउँछु,
स्वदेशमै श्रम र सीप बगाउँछु,
कर्णालीको विम्ब बदल्ने सपना हो मेरो ।’

यस्तो मिसनमा लागिपरेका मार्सी बुढा अत्यन्तै हँसिला र साहित्यिक व्यक्ति हुन् । आफ्नो मिसनबारे समेत कवितात्मक शैली बताउने उनी साहित्यिक व्यक्ति मात्र नभएर उद्यमीसमेत हुन् । राम्रो उद्यमी बन्ने आफ्नो सपनालाई दीपक अर्थात् मार्सी बुढा ‘मिसन मार्सी’को संज्ञा दिन्छन् ।

मिसन मार्सी

 

मार्सी चामलको भात । तपाईं हामी कतिले यो चामलको भातको स्वाद नचाखे पनि यसबारेको चर्चा भने निक्कै सुनेका छौँ । कतिपयले खानु पनि भएको होला र यसको चर्चा पनि स्वतःस्फूर्त गर्नुभएकै होला । हाम्रा नेताहरू पनि मार्सी चामलको भातको चर्चाले नचुलिएका होइनन् ।

हो, यही मार्सी चामललाई कर्णालीदेखि काठमाडौँसम्म ल्याएर प्रत्येक खानाप्रेमीहरूलाई चखाउने मिसन नै दीपकको सपना हो अर्थात् उनको ‘मिसन मार्सी’ ।

बेचिएको गरिबी

विकट मानिने कर्णाली क्षेत्रमा ६० प्रतिशतभन्दा बढी जनता गरिबीको चपेटामा छन् । यस क्षेत्रमा बेलाबखतमा भोकमरी लागेको समाचार पनि सुनिँदै आएको छ । गरिबीको पीडाले पेलिएर निस्केका हुन् दीपकबहादुर बुढा, अर्थात् मार्सी बुढा ।

उनी भन्ने गर्छन्, ‘हाम्रो गरिबीलार्ई बेचेर स्रोत साधन परिचालन गर्नुको साटो विदेशी वस्तु किनाइरहेका छन् । घरघरसम्म पुर्‍याइरहेका छन् । चेतना होइन वस्तु पुर्‍याइरहेका छन् । जसले गर्दा घरमा फलेको वस्तुले भन्दा आयातित गुणस्तरहीन वस्तुले घर भरिने गरेका छन् ।’

मार्सी बुढाको मुख्य उद्देश्य भनेको नै चेतनासँगै गाउँघरमै उत्पादित वस्तुलाई कर्णालीमा मात्र होइन, सिंगो देशभरि नै सबैको घरमा राज गराउनु हो ।

मार्सी बुढाले कर्णालीको विकासका लागि मुख्य विम्बको रूपमा उभ्याएका छन् मार्सी चामललाई । उनका अनुसार कर्णाली क्षेत्रमा वर्षमा १ लाख हेक्टर क्षेत्रफलमा मार्सी धान उत्पादन हुन्छ ।

स्वास्थ्यका लागि अति नै लाभदायक मानिने र जुनसुकै रोगका लागि पनि राम्रो गर्ने यो बहुगुणी मार्सी चामलको भात राजघराना र राणाहरूले मात्रै प्रयोग गरे पनि अहिले हुनेखाने वर्गहरूको घरमा समेत पाक्न थालेको छ । यसलाई महँगो खाना पनि भन्ने गरिन्छ । यो जातको चामल विदेशमा समेत ब्राउन राइसको रूपमा निकै चर्चित छ ।

हो, यही चर्चालाई आयस्रोतको रूपमा अगाडि बढाउँदै दीपकले ल्याएका छन् मिसन मार्सी उद्यम ।

कर्णालीको सपना– काठमाडौंलाई अर्ग्यानिक बनाउने

उपत्यकामा घुइँचो लागेर रासायनिक मलबाट उत्पादित खाद्यवस्तु किनेको देख्दा नमीठो लाग्छ दीपकलाई । यही नमीठो अनुभूतिलाई उनले बिजनेसको रूप दिएका छन् ।

कर्णालीमा १ लाख हेक्टरमा उत्पादन हुने मार्सी धानको चामललाई काठमाडौंमा ल्याई सहज र सुलभ तरिकाले बेची काठमाडौंलाई नै अग्र्यानिक बनाउने सोच छ उनको ।

मार्सी बुढाको भावी योजना

५ जनालाई रोजगारी दिइरहेका मार्सी बुढाले अहिले एउटा स्टोरबाट मात्रै दिनमा झण्डै १५ हजारको कारोबार गर्दै आएका छन् । उनको स्टोरबाट दैनिक ५० केजी मार्सी धानको चामल काठमाडौंमा बिक्री हुँदै आएको छ ।

कर्णालीका ५ जिल्लाबाट संकलन गरेर ल्याएको मार्सी चामललाई काठमाडौंमा अझ विस्तार गर्ने योजनाअनुरूप उनी अब स्टोरमा मात्र सीमित नरही अनलाइन, हेल्थ क्लब र डिपार्टमेन्टल स्टोरसम्म पुर्‍याउने योजनामा छन् ।

यी सबै स्थानमा पुर्‍याउन सके ५० केजीदेखि ५ सय क्विन्टलसम्म चामल कर्णालीबाट काठमाडौंमा बेच्ने योजनामा छन् । यसका लागि उनले १ करोड रुपैयाँको लगानी गर्नुपर्ने अनुमान गरेका छन् । बजारसमेत अध्ययन गरिसकेका मार्सी बुढा काठमाडाँैका ४० लाख मानिसमध्ये २० प्रतिशतलाई १ केजी चामल बेच्न सके मात्रै पनि २ सय क्विन्टलभन्दा बढीको व्यापार हुने दाबी गर्छन् ।

त्यति मात्र होइन, कर्णालीलाई गरिब जिल्लाको उपमा हटाउँदै नेपालको पहिलो अग्र्यानिक क्षेत्रको रूपमा स्थापित गर्ने योजना छ उनको । उनी भन्छन्, ‘मेरो उद्यमबाट १७ लाख कर्णालीवासीको मुहारमा मुस्कान छर्न सकूँ– अग्र्यानिक मार्सी धान उत्पादन गरेर ।’

भावनालाई उद्यमसम्म पुर्‍याइदिने आइडिया स्टुडियो

भावनात्मक रूपमा मात्र उद्यम गर्न नसकिने बुझेर दीपकले त्यही भावनालाई उद्यमसम्मको बाटो दिन आइडिया स्टुडियो आएको बताउँछन् । प्रविधिको विकाससँगै उद्यम गर्ने शैलीलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरा उनले आइडिया स्टुडियोबाटै पहिल्याए ।

दीपकबहादुर बुढा आइडिया स्टुडियो सिजन– ४ को सोसल इम्प्याक्ट राउण्डका विजेता हुन् । ५ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी सोसल इम्प्याक्ट राउण्डका विजेता बनेका हुन् । आइडिया स्टुडियोले विजेता दीपकलाई ५ लाख रुपैयाँको व्यावसायिक सहयोग गरेको छ ।

‘सोचदेखि उद्यमसम्म’को नारा लिएर सुरू भएको आइडिया स्टुडियोले २४ जना सृजनशील युवाहरूलाई तालिम, परामर्श र लगानीको माध्यमबाट उद्यमसम्मको बाटो पहिल्याउन सहयोग गर्दै आएको छ ।

Watch the full episode

Original Post

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६