Idea Studio Nepal

मकैका विभिन्न परिकार खाने हो ? आउनुहोस् मिस्टर कर्न

कोरोनाका कारण घरमा थुनिएर बसेको पनि १७ दिन भइसक्यो । खाजाका लागि जोहो गरेको सामान पनि सकिइसक्यो होला । अहिले शहरी क्षेत्रमा बसेका करिब ६० प्रतिशत मानिस गाउँ फर्केका छन् ।

गाउँमा खाना र खाजा पनि उही मौलिक होला- भात, दाल, तरकारी र खाजामा मकै-भटमास । सुरुसुरुमा त घरको न्यानोपन, त्यसमाथि गाउँले खाजाले सबैलाई बालापनमा पक्कै पनि पुर्‍याएको हुनुपर्छ । किनकि हामी सबैले मकै-भटमास, आमाको हातको गुन्द्रुकको अचार खाएकै छौँ ।

एक दिन, दुई दिन भन्दाभन्दै १७ दिन कटिसक्यो । अब त यी खानेकुराबाट पनि वाक्क लाग्न थालिसक्यो होला । हो, तपाईं हाम्रो घरमा भएको र दिनहुँ एउटै स्वादमा खाइरहनुभएको मकैका मीठामीठा परिकारहरूका बारेमा कुरा गर्नेछौँ- त्यो पनि तपाईं हामीले खाने सडक छेवैमा राखिएका पकौडा पसलदेखि पाँचतारे होटलकै स्वादमा ।

अचम्म लाग्यो ? मकै भुटेर, हरियो मकै पोलेर, उसिनेर र पिसेर ढिँडो मात्र खाने हामी नेपालीलाई अचम्म लाग्नु स्वाभाविक नै हो ? आखिर मकैले नै सडकदेखि पाँचतारे होटलसम्मको स्वाद दिन सक्छ त ? प्रश्न उब्जिन सक्छ । पक्कै पनि सक्छ । यो गज्जबको जुक्ति लगाएका छन् – राजकुमार अधिकारीले ।

नेपालमा अत्यधिक मात्रामा उत्पादन हुने मकैलाई नेपालीहरूले प्रयोग गर्न नजानेको भन्दै नयाँ स्वरूपमा ल्याएका छन् अधिकारीले, जसलाई उनले मिस्टर कर्नको नाम दिएका छन् । सडकमा बसेर मकै पोल्नेदेखि मकैका परिकार बनाएर बेच्ने साना व्यवसायीहरूलाई तालिम दिएर उद्यमी बनाउने सोचले अगाडि बढिरहेका छन् अधिकारी । अधिकारीसँगै मकैका परिकारलाई विस्तार गर्ने सोचमा छन्- निश्चल जोशी र दुर्गा सुवेदी ।

यस्तो छ योजना

अधिकारीका अनुसार अहिले एउटा आउटलेट अर्थात् एउटा शाखाबाट १ दिनमा १२ हजार रुपैयाँको मकैका परिकार बेच्दा ४ हजार २ सय रुपैयाँ फाइदा लिन सकिन्छ । यसरी मकैका परिकार बनाएर मात्र एउटा शाखाले वार्षिक रूपमा १५ लाख ३३ हजार रुपैयाँ नाफा कामाउन सकिन्छ । यसका लागि मिस्टर कर्न टिमले सातवटै प्रदेशमा मकैका परिकार पस्कने जमर्को गरेको छ ।

यसो हुँदा एउटा शाखा खोल्न १० लाख रुपैयाँ लगानी चाहिने अधिकारीको भनाइ छ । यसरी खोलिएका प्रत्येक शाखाबाट एउटा फ्रेन्चाइजले मासिक २५ हजार रुपैयाँ कमाउन सक्नेछन् । त्यसको ५ प्रतिशत रोयल्टी भने मिस्टर कर्नलाई आउनेछ ।

नेपालमा पहाडी र तराईका ८० प्रतिशत क्षेत्रमा मकै उत्पादन हुँदै आएको छ, जसमध्ये व्यावसायिक रूपमा मकै खेती गर्नेहरू १५ देखि २० प्रतिशतको हाराहारीमा मात्र छन् । बाँकी ६० प्रतिशत क्षेत्रमा उत्पादन हुने मकै घरेलु रूपमै प्रयोग हुँदै आएका छन् ।

यदि बाँकी ६० प्रतिशत क्षेत्रमा उत्पादन भएका मकैलाई पनि व्यावसायिक रूप दिने हो भने कृषक मात्र नभएर सडक छेउमा मकै पोल्ने व्यवसाय गर्नेहरूलाई पनि उद्यमी बनाउन सकिने अधिकारीको भनाइ छ ।

नेपालको सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक स्विट कर्न अर्थात् गुलियो प्रकारको मकै उत्पादन गरिसकेकाले नेपाली वातावरणमा गुलियो स्वादका मकै उत्पादन गर्न सकिने बताउँछन् अधिकारी । यसरी ६० प्रतिशत कृषकलाई व्यावसायिक बनाउँदै सातै प्रदेशमा रोजगारी सिर्जना गर्ने उद्देश्य छ उनको, जसअन्तर्गत रेस्टुराँहरूमा मकैको माग बढ्ने देखिन्छ ।

त्यति मात्र नभएर कृषि, होटल व्यवसायमा सयौँलाई रोजगारीसमेत दिन सकिने अधिकारीको योजना छ । अहिले मिस्टर कर्न नामक यो व्यवसायको एउटा मात्र शाखा सञ्चालनमा रहेको छ । सुरुवाती चरणमा काठमाडौंको न्यूरोड, बुटवलमा शाखा खोल्ने तयारीमा छन् । विभिन्न क्षेत्रमा शाखा खोलिए पनि यसको केन्द्रीय भने काठमाडौंमा नै रहनेछ ।

यसरी ‘सेन्ट्रल किचन’ बनाउनका लागि अब मिस्टर कर्नलाई १५ लाख रुपैयाँको लगानी आवश्यक पर्ने अधिकारी बताउँछन् । मकैका परिकारहरू अहिले नेपालमा फाट्टफुट्ट मात्र देखिँदै आएका छन् मकैका परिकारहरू । मिस्टर कर्नले भने २० प्रकारका परिकारहरू खानाका पारखीहरूलाई पस्कँदै आएको छ, जसमा मकैको चिया, सुपदेखि लिएर भेज पिजालगायत २० प्रकारका परिकारहरूको स्वाद पाउन सकिन्छ । यसका लागि लोकल मकै र स्विट कर्न अर्थात् गुलियो प्रकारको मकैको प्रयोग गरिँदै आएको छ ।

सामान्यतया नेपालमा यस्तो स्विट कर्नको खासै प्रयोग छैन । उत्पादन पनि नहुने हुनाले विदेशबाट स्विट कर्नको बिउ नेपालमा भित्र्याएर आफ्नै देशमा उत्पादन थाल्ने योजना रहेको अधिकारीका सहकर्मी निश्चल जोशी बताउँछन् । यस प्रकारको मकैको उत्पादन सुरु गर्नका लागि कृषि विभागसँग पनि सहकार्य गरिरहेको र उत्पादन गर्नका लागि कृषकलाई तालिमसमेत दिने योजना छ ।

अहिले भारत, स्विट्जरल्याण्डलगायतका देशबाट मकै आयात गर्दै आएको जोशी बताउँछन् । त्यसैले अब नेपालमै उत्पादन गरेर मकैको बजारीकरण गर्ने मुख्य उद्देश्य मिस्टर कर्नको छ ।

यसरी बनाउनुहोस् घरमै मकैका परिकार

मकैको सुप सुरुमा १ सय ५० ग्राम मकै लिनुहोस् र त्यसलाई २ भाग बनाउनुहोस् । १ भागलाई मिक्स्चरमा राम्रोसँग पिस्ने र बाँकी रहेको अर्को भाग मकैका दानै राख्ने । त्यसपछि सस्पेन्स वा कुनै भाम्हडामा ३ सय मिलिलिटर पानी राखेर तताउने । पानी उम्लिएपश्चात् पिसिएको मकैको पिठो राख्ने । अदुवा, लसुन स्वादअनुसार राख्ने ।

त्यसमा स्वादअनुसार घीउ र तिलको तेल हाल्ने । अघिको बाँकी रहेको १ भाग दाना मकै पनि राखेर ५ मिनेट राम्ररी पकाउनुहोस् । यसरी तयार भएको सुपमा तपाईंले थोरै हरियो प्याज र स्वादअनुसार कागती राख्न सक्नुहुन्छ । यसरी घरमै बसेर मकैको सुप बनाउन सकिन्छ । यो स्वास्थ्यका लागि पनि निकै लाभदायक हुने हुनाले परिवारमा सबै उमेरकाले खान सक्नेछन् ।

अमेरिकी कर्न

आवश्यक सामान

स्विट कर्न- ५ सय ग्राम

कर्न फ्लोर- ५० ग्राम

मैदा- २० ग्राम

सोयाविन वा सूर्यमुखी तेल

घीउ वा तिलको तेल

मरिचको धुलो

अदुवा र लसुन

हरियो प्याज

खुर्सानीको धुलो र आवश्यकअनुसार नुन

सुरुमा स्विट कर्नलाई कुकरमा हालेर २ सिठी लगाउनुह‍ोस् । मकै पाकिसकेपछि पानी निकालेर त्यसमा कर्न फ्लोर, मैदा, स्वादअनुसार नुन र मरिचको धुलो राखेर मकैलाई राम्ररी मोल्ने । त्यसपछि कराहीमा तेल तताएर सो मकैलाई डिप फ्राई गर्ने ।

यसरी तेलबाट मकै फ्राई गरेर निकालेपछि फ्राई प्यानमा राखेर आवश्यकताअनुसार हरियो खुसार्नी वा धुलो खुर्सानी, अदुवा, लसुन राख्ने र २ मिनेटसम्म घीउ वा तिलको तेल राखेर पकाउने । यसरी तयार गर्न सकिन्छ घरमै बसेर अमेरिकन कर्न ।

अहिले मकैका परिकारका लागि मिस्टर कर्नले झम्सिखेलमा शाखा स्थापना गरिसकेको छ भने न्यूरोड र बुटवलमा तयारी अवस्थामा छ । केही समयपछि भने सातै प्रदेशमा पुर्‍याउने योजना छ ।

राजकुमार अधिकारी आइडिया स्टुडियो सिजन ४ को नवौँ एपिसोडअन्तर्गतका मेड इन नेपाल राउण्डका प्रतिस्पर्धी हुन् । उनीसँगै यस राउण्डमा ६ जनाले आफ्नो आइडिया प्रस्तुत गर्नेछन्, जसमा ३ जना आइडिएटरले आफ्नो आइडिया प्रस्तुत गरिसकेका छन् भने बाँकी आइडिएटरले अर्को हप्ता प्रस्तुत गर्नेछन् ।

यसरी हरेक राउण्डमा आइडिया स्टुडियोले एक उत्कृष्ट प्रतिस्पर्धीलाई विजेता बनाउँदै ५ लाख रुपैयाँ बराबरको व्यावसायिक सहयोगसमेत गर्दै आएको छ ।

‘सोचदेखि उद्यमसम्म’ नारा लिएर सुरु भएको आइडिया स्टुडियोले २४ जना सिर्जनशील युवाहरुलाई तालिम, परामर्श र लगानीको माध्यमबाट उद्यमसम्मको बाटो पहिल्याउन सहयोग गर्दै आएको छ ।

Original Post

https://shilapatra.com/detail/24923?fbclid=IwAR1EoZn113YVcFE7Y0bjgxgmx5-eKSAW-yiX-wXAzoS_AKDkQ83fvX60_mE

Watch the full episode

 

Scroll to Top