Idea Studio Nepal

क्यान्सरलाई जित्दै ५ वर्षमा उद्यमी बनेकी सीता

२०७२ सालमा नेपालमा महाभूकम्प गयो । भूकम्पले थलिएको काठमाडौँभन्दा बढी थलिएकी थिइन् सीता थापा भट्टराई । लामो समयदेखि थाइराइडको क्यान्सरले पिरोल्नसम्म पिरोलेको थियो उनलाई ।

माइग्रेनको समस्या पनि उस्तै । ‘बाँच्दिनँ हाेला’ भन्नेमा पुगिसकेकी सीतालाई भूकम्पमा सहयोग गर्न आएका विदेशी सहयोगीहरूले बाँच्ने आशा दिएर गए ।

विदेशीहरूले ‘बाँचिन्छ’ भनेर दिएकाे त्यही एक त्यान्द्राे आशामाथि टेकेरै क्यान्सरबाट मुक्त भइन् र उनले नयाँ जीवन पाइन् । त्यसो त उनले नयाँ जीवन मात्र पाइनन्, उद्यमी बन्ने मौकासमेत पाइन् । ५ वर्षको अविधिमा क्यान्सरलाई जित्दै उनी उद्यमी बन्न सफल भएकी छन् ।

आखिर कसरी जितिन् त उनले क्यान्सरलाई ?

भोलुन्टियरका लागि क्यानडाबाट आएका १ जना विदेशीले उनलाई हाम्रै नेपालमा पाइने जमराको जुस नियमित सेवन गरे क्यान्सरबाट मुक्ति पाइने सल्लाह दिएका थिए । ती विदेशीले दिएकाे उक्त सल्लाहअनुसार जमराकाे जुस सेवन गरेर नै उनले क्यान्सरलाई  जितिन् । यो उनको आफ्नै अनुभव हो । उनी भन्छिन्, ‘जमरा त ठूलो औषधि रहेछ, हामी भने शिरमा सजाएर मात्र बसिरह्यौँ ।’

आफैँले जमराको लाभ उठाएपछि उनी आफूजस्ता बिरामी अरुलाई पनि जमराको जुस खुवाउन सुरु गरिन् । आफैँ बिरामी, त्यसमाथि अरु बिरामीको सहयोगले नै उनले व्यावसायिक यात्रा तय गरिन् ।

सहयोगबाट व्यावसायिक यात्रा–जमराको जुस

आफूले क्यान्सरजस्तो घातक रोगलाई जितिसकेपछि भने यो अरुलाई पनि खुवाउनुपर्छ भन्दै आफैँ सक्रिय भइन् जमराको जुस बनाउन ।

जमराको जुस त्यस्ता बिरामीहरूलाई बाँडिन्, जो मुुटु, कलेजो, थाइराइड, क्यान्सर, माइग्रेनजस्ता रोगी थिए । उनीहरूले जुस प्रयोग गरेर स्वास्थ्यमा सुधार भएको कुराले सीतालाई जुसका फाइदाबारे छरछिमेकमा मात्र नभएर पूरै देशमा नै थाहा दिनुपर्ने सोच पलायाे र उनी जुसको व्यवसाय नै सुरू गर्ने याेजनामा पुगिन् ।

अन्ततः आफूले प्रयोग गरेको करिब ११ महिनापश्चात् उनले काठमाडौँको माकलबारीमा सीता अर्ग्यानिक एग्रो प्रालि सुरु गरिन् ।

अहिले उनले दैनिक १ सय ५० देखि २ सय जनालाई ३० एमएलबराबरको जुस नियमित खुवाउँदै आएकी छिन् ।

३० एमएलको एक गिलासलाई सय रुपैयाँमा बेच्दै आएकी सीताले अहिले होम डेलिभरीको व्यवस्था पनि गरेकी छन् । होम डेलिभरीका लागि भने ९८४९६५०६५२ नम्बरमा फोन गर्नुपर्ने छ ।

उनी भन्छिन् ‘जुसमा धेरै मात्रामा पोषणयुक्त भिटामिन हुनाले यो स्वास्थ्यका लागि निकै फाइदाजनक छ । एक पटक प्रयोग गरेर हेर्नुस्, बरु आफैँ बनाउनुस् । अनि लाभ पनि आफैँ अनुभव गर्नुस् ।’

अबको योजना

काठमाडौंको चाबहिल, बौद्ध, माकलबारी र स्वयम्भुमा जुस सेन्टर राख्दै आएकी सीता अब भने यसलाई बढाएर देशैभर पुर्‍याउने योजनामा छन् ।

जसका लागि उनलाई ३८ लाख ६५ हजार लगानी आवश्यक छ । २५ लाख रूपैयाँ लगानी आफैँले गरिसकेकाले कुल ६३ लाख ६५ हजार लगानी पर्न जान्छ । जसमा अब ३८ लाख ६५ हजार लगानी थप गर्ने विचारमा छिन् ।

यसबाट प्रत्येक वर्ष ८ सय ८ प्रतिशतको दरले लगानी फिर्ता आउने उनको दाबी छ । यदि लगानी जुटेको खण्डमा अबको ३ वर्षभित्रमा दैनिक ६० लिटर जुस उत्पादन गरेर बजारमा पुर्‍याउने उनको योजना छ ।

उनले अहिले सातै प्रदेशबाट मासिक रूपमा १० जनालाई जमाराको जुस बनाउने तालिम पनि दिँदै आएकी छन् ।

यसरी जमराको जुसलाई देशैभर विस्तार गर्ने उनको लक्ष्य छ ।

पहिलो चरणमा उनी सात प्रदेशमा २० वटा सेन्टर खोल्ने तयारीमा छन् । यसकाे सफल प्रयोगपछि भने विदेश निर्‍यातका लागि सीता जमराको क्याप्सुल र पाउडर बनाउने योजनामा छिन् । जसका लागि खाद्य व्यवस्था विभागबाट स्वीकृति लिने प्रक्रियामा छन् उनी ।

हाल चार स्थानबाट जमराको जुस बेचेबापत मासिक १ लाख ५० हजार नाफा कमाउने सीता उत्पादन र बिक्री क्षमता बढाएसँगै नाफा पनि स्वतः बढ्ने उनी बताउँछिन् ।

स्वदेशी स्रोत र साधनप्रयोग गरेर सिंगो मुलुकलाई स्वस्थ राख्ने उनको योजना छ ।

त्यसैले त उनी भन्ने गर्छिन्, ‘जैविक जमराको अमृत रसपान, स्वस्थकर जीवन बनाउने हाम्रो अभियान ।’

सीता थापा भट्टराई आइडिया स्टुडियो सिजन– ४ की मेड इन नेपाल राउण्डकी प्रतिस्पर्धी हुन् । उनीजस्तै ३१जना सृजनशिल युवाहरूलाई उनीहरूकै सिर्जनालाई उद्योगसम्म पुर्‍याउन आइडिया स्टुडियोले विभिन्न व्यावसायिक सहयोगदेखि तालिम तथा प्रशिक्षणसमेत दिँदै आएको छ । व्यावसायिक प्रशिक्षणपश्चात् आइडिया स्टुडियोको टेलिभिजन रियालिटी शाेमार्फत आफ्नो सोच प्रस्तुत गर्दैछन् ३१ जना आइडिएटरले । यो हरेक हप्ताको मंगबार ३/३ जनाले आइडियाको ४ भागअन्तर्गत आफ्नो व्यावसायिक सोच प्रस्तुत गर्दै आएका छन् ।

Original Post

https://shilapatra.com/detail/25926?fbclid=IwAR2-AaTN-EwCND-cXMBgFjmdVTC9sOrtvgP79N6yS0Dwg5GA2GSID3jnSPo

Watch the full episode

https://www.youtube.com/watch?v=Cl-73nkUWjU&t=1141s

 

Scroll to Top