सञ्जयको सिर्जना : कुदाउने होइन त फोहोरबाटै गाडी !

के तपाईंलाई थाहा छ ? पुराना भएका र फाल्ने अवस्थाका गाडीलाई २ लाखमै पुनर्जीवन दिन सकिन्छ नि ! त्यति मात्र होइन, अब नचल्ने भनेर थन्क्याएका गाडीलाई तपाईंको घरबाट निस्किएको फोहोरबाट फिलिली कुदाउन सकिन्छ ।

न त पेट्रोल सकिएला भन्ने तनाव, न त नयाँ गाडी किनिरहनुपर्ने झन्झट । यी सबै झन्झटबाट मुक्ति पाइने अनि हाइब्रिड सवारीमा हुइँकिन पनि सकिने, त्यो पनि १ वर्ष मात्रै होइन, १० वर्षसम्म । छैन त आश्चर्यजनक !

यही आश्चर्यलाई यर्थाथमा बदल्न हिजोआज सञ्जय राजभण्डारी निकै ब्यस्त रहन्छन् । उनी मात्र होइन, उनका सहकर्मी गौरव अधिकारीको लगाव पनि उस्तै छ ।

जबजब पेट्रोलियम पदार्थको हाहाकार अनि काठमाडौंका सडक नै ढाक्नेगरी छरपस्ट फ्याँकिएका फोहोर देख्ने गर्छन्, तबतब सञ्जय निकै बेचैन हुन्छन् । उनी विश्वजगतमा हुने गरेका नयाँनयाँ ‘इन्भेन्सन’ पनि नियालिरहेका हुन्छन्- फोहोरबाट ग्यास बनाउन सकिन्छ, त्यो ग्यासबाट खाना पकाउने, मेसिन चलाउनेदेखि गाडीसम्म कुदाउन सकिन्छ ।

बेलायत र भारतमा यो विधि प्रयोगमा ल्याइसकेपछि भने नेपालमा पनि फोहोर र पुराना गाडीको फ्युजनमा हाइब्रिड सवारी किन नबनाउने भन्ने हुटहुटी चल्न थाल्छ सञ्जय लाई ।

पुल्चोक क्याम्पसमा स्नातकोत्तरमा अध्ययनरत सञ्जय यही सोचलाई लिएर आइडिया स्टुडियोसम्म पुगेका छन् ।

सञ्जय को सिर्जना

सञ्जय उपत्यकामा मात्र दैनिक ५ सय टन उत्पादन हुने फोहोरलाई कम्पोष्ट गरेर ग्यास निकाले सामान्य गाडीलाई सस्तोमा नै हाइब्रिड गाडी बनाउने तयारीमा छन् ।

अहिले अध्ययन र अनुसन्धानमा लागिरहेका सञ्जय यो योजनालाई वायो यानको नाम दिएर अगाडि बढिरहेका छन् ।

के हो वायो यान ?

प्राकृतिक स्रोतबाट सञ्चालित सवारी नै वायो यान हो । अर्थात् तपाईं हाम्रो घरबाट निस्किएको फोहोरलाई अर्ग्यानिक रूपमा कम्पोस्ट गरी निकालिएको ग्यासबाट किटको माध्यमबाट पेट्रोल डिजेल जुनसुकै इन्धनबाट चल्ने गाडीलाई पनि ग्यासबाट चल्नेगरी हाइब्रिड बनाउन सकिन्छ ।

यसरी बायो सीएनजी अर्थात् कम्प्रेस नेचुरल ग्यासको मद्दतबाट हाइब्रिड किट जडान गरी गाडीलाई पुनः नयाँ जीवन दिइन्छ ।

यो पूर्णतः वातावरणमैत्री हुने र सस्तो पनि हुने हुँदा नेपाली वातावरणमा मात्र नभएर समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण भूमिका खेल्ने सञ्जय को दाबी छ ।

नेपालमा यसको प्रयोग

सामान्यतया यस्ता किसिमका सवारीहरू विदेशमा प्रयोगमा आइसकेका छन् । नेपालमा भने यो नौलो प्रयोग हो । भारत र बेलायतमा सफल प्रयोग भइसकेको वायो यानको प्रयोग नेपालमा देखिँदैन ।

तर, नेपालमा यसको प्रयोगलाई बढावा दिँदै वायो यान विस्तार गर्ने हो भने पेट्रोल र डिजेलमा वार्षिक रूपमा खर्बौँ रुपैयाँ विदेश जानबाट रोकिने सञ्जय बताउँछन् ।

‘हामी हरेक कुरामा छिमेकी देशहरूसँग परनिर्भर छौँ, अझ नुनदेखि सुनसम्मै,’ उनी भन्छन् ‘गाडी त झनै सबै विदेशबाट मगाउने हो । यस्तो अवस्थामा स्वदेशी स्रोत साधनको प्रयोग गरेरै सवारी चलाउन सकियो भने त हरेक वर्ष बाहिरिने खबौँ रकम बच्ने भयो । यसले अन्य विकासका कामहरू गर्न सकिन्छ नि ! अनि परनिर्भर हुनुपर्ने समस्याको पनि हल हुन्छ ।’

अबको योजना

नेपालमा अहिले ५ लाख रूपैयाँबराबरका सवारी साधन हरेक दिन सडकमा गुड्छन् । यदि कुल संख्याको ५ प्रतिशत गाडीलाई हाइब्रिडको रूपमा रूपान्तरण गरे पनि ५ अर्बमा ३ खर्बको व्यापार गर्न सकिने सञ्जय बताउँछन् । एउटा कारलाई हाइब्रिड बनाउँदा २ लाख मात्रै लिने सञ्जय को योजना छ ।

यसरी २ लाखमा नै नयाँ तथा पुराना गाडीलाई हाइब्रिडका रूपमा ढालिने मात्र होइन, हाइब्रिड बनेपछि त्यस्ता गाडी थप १० वर्षसम्म चलाउन सकिन्छन् । यसरी फाइदा बढी भएकै कारण नेपालमा यसको बजार राम्रो हुने सञ्जय बताउँछन् । यसरी बनाइएको हाइब्रिड गाडी सामान्य गाडीभन्दा २ गुणासम्म माइलेज दिन सक्ने उनको भनाइ छ ।

अहिले सञ्जय र गौरव अध्ययनमा लागिरहेका छन् । जसका लागि यी दुई जनालाई ७ लाख रूपैयाँको लगानी आवश्यक  छ । ‘लगानी तपाईंको, आइडिया हाम्रो ? अनि भएन त बिजनेस, देशलाई पनि हुने, हामीलाई पनि हुने,’ उनी भन्छन् ।

सञ्जय आइडिया स्टुडियो सिजन– ४ का ‘मेड इन नेपाल’ राउण्डका प्रतिस्पर्धी हुन् । उनीसँगै अन्य २ जनाले आफ्ना आइडिया प्रस्तुत गरिसकेका छन् भने बाँकी ३ जनाले आउने मंगलबार प्रस्तुत गर्नेछन् ।

आइडिया स्टुडियोले नेपालभरका ४ सय जनाबाट ३१ जना छनोट गरेर ४ वटा विधामा उनीहरूका तमाम आइडियालाई प्रस्तुत गर्दै आएको छ । यसरी हरेक विधाबाट एक प्रतिस्पर्धी विजेता बनेकालाई व्यावसायिक सहयोग पनि गर्दै आएको छ । अहिले आइडिया स्टडियोमा २४ जना नवप्रतिभालाई व्यवसायगत तालिम तथा प्रशिक्षण दिइँदै आएको छ ।

Original Post

https://shilapatra.com/detail/25021?fbclid=IwAR1VSZ8s3pr25bwXpBYgjyexML7nGHjWRpTzdlgLlEwzE9H1DNwuIfIVKMA

Watch the full episode