बन्ने होइन त अब स्मार्ट !

स्मार्ट बन्न कसलाई मन हुँदैन र ? घरदेखि कार्यालय र स्कुलदेखि कलेजसम्म हामी अरुमाझ फरक, आकर्षक बन्ने प्रयासमा हुन्छौँ ।

सुन्दा सामान्य लाग्न सक्छ । तर, सोच्नुस् त, के हामी हरेक कुरामा स्मार्ट छौँ ? हामीले गरिरहेका कामहरू चुस्त, छरिताे र प्रभावकारी छन् ? सबैमा यसकाे जवाफ ‘एस’ पक्कै छैन ।

स्मार्ट बन्न खोजे पनि स-साना गतिविधिले रोकिरहेको हुन सक्छ । लकडाउनमा घरभित्रै थुनिएर बसेको समयमा कार्यालयको काम, पढाइ र घरका अन्य कामहरू सहज तरिकाले गर्न स्मार्टनेस कति किफायती हुन्थ्याे ।

लकडाउनकाे समयमा सुतेर दिनरात काटिरहेका पाठकलाई स्मार्ट हुने केही आइडिया सेयर गर्दैछाैँ । जसले तपाईंलाई खाटबाट जुरुक्क उठाएर पेट मिचीमिची हँसाउन सक्छ, अनि हँसाएर बिजनेस गराउन पनि सिकाउँछ ।

त्यति मात्र होइन, घरलाई सुरक्षित बनाउने र घरमै बसेर तपाईंलाई पढाउन पनि सक्छ । अनि हुनुभएन त स्मार्ट तपाईं ?

घरमा बसेर मज्जाले हाँस्दै खाटमै बसेर मोबाइलबाटै कप्युटर ल्यापटप खोल्नुस्, अनि खाटमै बसेर पढ्नुस् स्मार्ट तरिकाले ।

अब बनाऔँ घरलाई स्मार्ट

लकडाउनमा फुर्सदिलो हुनुभएको छ भने यो समयमा स्मार्ट हुन सिक्नुस् है । स्मार्ट हुनका लागि पहिले घरलाई स्मार्ट बनाउनुपर्छ । आखिर सुरुवात नै घर हो हामी सबैको ।

कसरी बनाउने त अब घरलाई स्मार्ट ? स्मार्ट घर बनाउन गजबको आइडिया लिएर आएका छन् सुशान्त महर्जन, सृष्टि अवाले र गौतम श्रेष्ठ ।

यी ३ युवाले तपाईंको घरलाई सुरक्षित बनाउने स्मार्ट घर नामक नयाँ एप लिएर आएका छन् । स्मार्ट एपको माध्यमबाट तपाईंले एउटा कोठाको बत्ती अर्को कोठामा बसेर निभाउने बाल्ने दुवै गर्न सक्नुहुन्छ ।

त्यति मात्र होइन, भान्सामा बिजुलीबाट केही पकाइरहनुभएको छ । बिर्सेर तपाईं बाहिर निस्किनुभयो भने पनि बाहिरैबाट भान्सामा पाकिरहेको परिकार बन्द गरेर खराब हुनबाट रोक्न सक्नुहुन्छ ।

कहिलेकाँही बाहिर निस्कँदा हतारमा फ्यान खुल्लै छोड्ने, बत्ती निभाउन बिर्सने हामी सबैको समस्या हो । दिनभर मिटर घुमिरहन्छ बिल चढिरहन्छ । यसले हैरान हुनभएको छ भने पनि अब स्मार्ट घर एपबाट तपाईं जहाँ बसेर पनि बत्ती, फ्यान, फ्रिजजस्ता विद्युतीय वस्तु निभाउन खोल्न दुवै गर्न सक्नुहुन्छ । अनि भएन त स्मार्ट घर । घर स्मार्ट भएपछि तपाईं पनि स्मार्ट ।

यसका लागि तपाईं घरमै रहँदा मोबाइलको हटस्पट र बाहिर इन्टरनेटबाट यो एप प्रयोग गर्न सक्नुहुनेछ ।

यो एप सबै प्रकारका ग्राहकलाई लाभदायक हुने सृष्टिको दाबी छ । यसका लागि पहिले तपाईंलाई एउटा घरका लागि ५० हजार शुल्क लाग्छ तर प्रयोग गदै जाँदा शुल्क पनि घट्दै जाने सृष्टि बताउँछिन् ।

स्टार्टअपमै रहेका ३ युवाले स्मार्ट्ली अटोमेसन सेवा कम्पनी दर्ता गराइसकेका छन् । जसबाट घरलाई स्मार्ट बनाउन लागिपरिरहेको सुशान्त महर्जन बताउँछन् ।

सिर्जनालाई बिजनेसकाे रूप दिन लागिपरिरहेका यी ३ युवाहरू अहिले लागानीको खोजीमा छन् ।

गौतम श्रेष्ठका अनुसार क्यापिटल इन्भेष्टमेन्ट अर्थात् कुल पुँजी २० लाख रहनेछ । जसमा १० लाख रूपैयाँ लगानी आफैँ गर्ने सोचमा छन् भने, बाँकी १० लाख रूपैयाँका लागि उनीहरू लगानीकर्ताको खोजीमा छन् ।

यदि लगानी पाउने हो भने अबको ६ महिनाभित्रमा सफ्टवेयर इन्जिनियर, टेक्निसियनलगायत विषेशज्ञ व्यक्तिहरूलाई कम्पनीमा ल्याएर उपत्यकाका प्रत्येक घरहरूलाई स्मार्ट बनाउने उनीहरूकाे योजना छ ।

साहको सिर्जना–घरमै बसेर लिनुस् स्मार्ट शिक्षा

तपाईं अविभावक हुनुहुन्छ भने लकडाउनमा आफ्ना छोराछोरीलाई समय बर्बाद गर्न नदिनुस् । बरु हाम्रो टुटरडककममा लगइन गरेर विद्यालयमा हुने पढाइलाई घरमा पढाउनुस् ।

कोरोनाको भयबाट छुटकारा पाउँदै बालबालिकाको भविष्य उज्ज्वल पार्न टुटरडटकम सेवा लिएर आएका छन् उमेशकुमार साहले ।

टुटरडटकम शिक्षकहरू एकजुट बनाउने थलो बन्न सक्ने साहको दाबी छ ।

हाल टुटरडटकमले होम ट्युसन सञ्चालन गर्दै आएको छ । जसले टुटरडटकममा होम ट्युसनका लागि आग्रह गरेका छन्, ती विद्यार्थीहरूलाई घरमै गएर पढाउँदै आएको छ । तर, यसलाई विस्तार गर्दै साह अब अनलाइनबाटै कक्षा पनि सञ्चालन गर्ने योजनामा छन् ।

यो योजनाबाट तपाईंले आफ्ना बालबालिकालाई घरमै बसेर बढाउन सक्नुहुनेछ । त्यति मात्र नभएर जुन विषयमा कमजोर हो, सोही विषयको मात्र ट्युसन पनि पढ्न सक्नुहुनेछ ।

यसका लागि तपाईंले हाम्रो टुटरडटकम लगइन गरेर आफूले चाहेको विषय पढ्न रिक्वेस्ट गर्ने र सोहीअनुसार एपले तपाईंलाई शिक्षकका बारेमा जानकारी दिन्छ । यसरी तपाईंले शिक्षक रोजेर घरमै बसेर पढ्न सक्नुहुनेछ । हाललाई गणित विषय मात्र राखिएको छ ।

यसमा कति कक्षाका लागि पढ्ने हो, सोहीअनुरुपको शुल्क लिइनेछ । जस्तो ५ कक्षासम्मका लागि ५ हजार, ८ कक्षासम्मका लागि ८ हजार रूपैयाँ मासिक तिर्नुपर्नेछ । यसरी कक्षा बढेसँगै शुल्क पनि बढ्दै जाने साहको भनाइ छ ।

यसमा विद्यार्थी मात्र नभएर शिक्षक शिक्षिकाहरू पनि जोडिन सक्नेछन् । जसका लागि पहिले कम्पनीले शिक्षकको अनलाइन टेस्ट लिनेछ र शिक्षकले भिडियो पठाउनुपर्नेछ । यसरी शिक्षकको गुणस्तर मापन गरेर अनलाइनबाट पढाउन अनुमति दिनेछन् ।

यसले गर्दा पढ्न चाहनेले पनि शिक्षक रोजेर पढ्न सक्ने साह बताउँछन् । यसरी शिक्षकले पढाएबापतको शुल्कबाट २० प्रतिशत कम्पनीले लिने गर्दछ । यसरी घरघरमा रोजेको र खोजेको शिक्षा र रोजगारी पुर्‍याउँदै उद्यमी बन्ने लक्ष्य छ साहको ।

साहका अनुसार देशभर २१ लाख विद्यार्थी, ३५ हजार विद्यालय र १ लाख १४ हजार शिक्षक छन् । काठमाडौँमा मात्र ५ लाख विद्यार्थी छन् । ती विद्यार्थीको ५ प्रतिशतलाई मात्र यो एपबाट पढाउन सकेमा पनि १३ सय विद्यार्थीलाई शिक्षित बनाउन सकिने उनको दाबी छ । यसबाट वार्षिक १५ देखि २० लाख रूपैयाँसम्म नाफा कामाउन सक्ने उनको दाबी छ ।

यसका लागि ३ लाख ५१ हजार रूपैयाँ लगानी आवश्यक छ । जसमा १ लाख ५० हजारले अफिस खडा गर्ने र बाँकी १ लाख ५० हजारले इन्टरनेटको माध्यमबाट घरघरसम्म शिक्षा र रोजगारी पुर्‍याउन र शाखा कार्यालयहरू खोल्ने साहको योजना छ ।

मज्जाले हाँस्दै पैसा कमाऔँ

तपाईंलाई हासाउँदै नचाउँदै उद्यमी बन्ने सोचमा अगाडि बढिरहेका छन् २ युवा– निमेष श्रेष्ठ र अनिशजंग थापा । आफ्नो सिर्जनालई फन रिभोलुसन टीभीको नाम दिँदै घरमै बसेर सबैलाई हँसाउने योजना छ यी २ जनाको ।

हाँसेर पनि पैसा कमाउन सकिन्छ त ? पक्कै पनि सकिँदैन । घरमै बसेर हाँसेर कमाउन नसके पनि यी दुवैले तपाईं हामीलाई घरमै बसाएर र हँसाएर भने पक्कै राम्रो पैसा कमाउने गरेका छन् । या उद्यमी नै बन्दै छन् ।

यी २ युवाकाे क्रियटिङ क्वालिटी फिल्म नामक आइडियाले उद्यमसम्मको बाटो पहिल्याइसकेको छ । अहिले ५८ हजार सब्स्क्राइबर रहेको युटुवसाइटबाट उनीहरूले अहिले मासिक १ लाख ५० हजार रूपैयाँ मासिक आम्दानी गर्दै आएका छन् ।

अब यसलाई बढाउँदै ३ महिनाभित्रमा १ लाख सब्स्क्रावर्स पुर्‍याउने योजना उनीहरूकाे छ ।

यसरी १ लाख पुर्‍याउनका लागि उनीहरूले १३ जना थप सहयोगी कर्मचारी राख्ने योजनामा छन्, जो स्क्रिप्ट राइटरदेखि प्राविधिकसम्मका हुनेछन् । यसरी महिनामा ४ वटासम्म भिडियो बनाएर मासिक रूपमा ४ देखि ५ लाख रूपैयाँसम्म कमाउन सकिने श्रेष्ठको दाबी छ ।

यसका लागि श्रेष्ठ र थापालाई ३६ लाख ७० हजार ६ सय रूपैयाँ लगानी आवश्यक छ । अहिले क्यापिटल इन्भेष्टमेन्ट १६ लाख ३२ हजार छ । यसरी कुल पुँजी ५३ लाख २ हजार ५ सय पुर्‍याउन सके युट्युवबाट मात्रै पनि वर्षमा ५० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न सकिने थापा बताउँछन् ।

यसका लागि २ वर्ष अध्ययनसमेत गरिसकेका छन् श्रेष्ठ र थापाले । अध्ययनबाट नेपालमा २ वर्षमा ६६ फिल्म बनेको र त्यसमा ६० वटा फिल्म चल्न नसकेको बताउँदै यसमा गुणस्तरको अभाव मुख्य कारण रहेकाे उनीहरू बताउँछन् ।

यसरी फिल्म तथा भिडियो बनाउने सिद्धान्तलाई प्रयोग नगरिँदा नेपाली फिल्म उद्योग चल्न नसकेको उनीहरूकाे दाबी छ ।

यी २ युवाले आफूले पढेकाे सिद्धान्तलाई व्यवहारमा उतार्दै तपाईं हामीलाई हसाउँदै वर्षमा ५० लाखभन्दा बढी कमाउन सक्छन् । अनि भएनन् त बिजनेसम्यान ?

माथि प्रस्तुत व्यावसायिक सिर्जनाहरू आइडिया स्टुडियो सिजन– ४ का हाई फ्लाइङ सेगमेन्टको डिल राउण्डका प्रतिस्पर्धीहरूका हुन् । यी प्रतिस्पर्धीहरूजस्तै ३१ जना सिर्जनशील युवाहरूलाई उनीहरूकै सिर्जनालाई उद्योगसम्म पुर्‍याउन आइडिया स्टुडियोले विभिन्न व्यावसायिक सहयोगदेखि तालिम तथा प्रशिक्षणसमेत दिँदै आएको छ । व्यावसायिक प्रशिक्षणपश्चात् उनीहरूले आइडिया स्टुडियोको टेलिभिजन रियालिटी शाेमार्फत आफ्नो सोच प्रस्तुत गर्दै छन् । यो हरेक हप्ताको मंगबार ३/३ जनाले आइडियाको भाग ४ अन्तर्गत आफ्नो व्यावसायिक सोच प्रस्तुत गर्दै आएका छन् ।

Original Post

https://shilapatra.com/detail/26195?fbclid=IwAR2udInomBIn6vg5e-2xevvSjStrIcVVbUttWmBFJtcFnrTYSEje5VcG0fQ

Watch the full episode

https://www.youtube.com/watch?v=CKIiJmNRm_U