‘सोचलाई उद्योग’सम्म पुर्याउने आइडिया स्टुडियोका छिरिङ, जसको सम्मानमा यूकेको युनिभर्सिटीले छात्रवृत्ति दियो | News Feature by capitalnepal.com I November 28, 2020

Posted on Posted in Uncategorized

काठमाडौं । सफलताको शिखरमा पुग्नलाई विगतकोे दुख र पीडाले धेरै साथ दिन्छ । जब, मानिसमा लगनशीलता र धैर्यता हुन्छ, त्यो मान्छे एक दिन अवश्य सफल हुन्छन् । त्यही सफलता प्राप्त गर्ने व्यक्ति हुन्, आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामा ।

सिन्धुपाल्चोक जिल्लाको हेलुम्बु सेर्माथानमा विक्रम सम्वत् २०३८ सालमा जन्मिएका लामा नेपालबाट विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडरमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति हुन् । हाल सो मञ्चको लिडरको रुपमा ५ जना नेपालीहरुले प्रतिनिधित्व गरिसकेका छन् ।

उनलाई त्यहाँसम्म पुग्न त्यति सहज भने थिएन । गाउँबाटै एसएलसी उत्तीर्ण गरेका लामाले संघर्षका बीचमा उच्च शिक्षा अध्ययनका लागि

यूकेमा जाने अवसर पाए । त्यहाँ उनले धेरै व्यक्तिहरूको साथ र सहयोग लिएर अध्ययन गरेका थिए । ‘मैले पढ्दा धेरैले ५० रुपैयाँदेखि १० लाख रुपैयाँसम्म सहयोग गरेका थिए,’ लामाले भने ।

त्यति मात्र होइन एक जना बजैले आफ्नै घर बेचेरसमेत  पढ्नका लागि सहयोग गरेको कहिल्यै बिर्सिन सक्दिनँ ।’

आफ्नो अध्ययन, अनुभव र लगनशीलता लामाले आफूसँग मात्र राखेका छैनन् । आफ्नो सोच र अरुको सोचलाई एक ठाउँमा ल्याएर सोचलाई व्यवसाय, पेशा र उद्योगसम्म पु¥याइरहेका छन् ।

यूकेबाट यसकारण फर्किए
यूकेको त्यो हाइफाईलाई छोडेर डा. लामा नेपाली भूमिमै सेवा गर्ने उद्देश्यका साथ फर्किए । उनले चाहेको भए त्यहाँ बस्नलाई कुनै समस्या थिएन । त्यहाँको सुख र सुविधालाई छोडेर किन नेपाल फर्किनु भयो भन्ने जिज्ञासामा लामाले मुस्कुराउँदै भने, ‘म नेपालमै जन्मिएको हुँ ।’
यूकेमा १० वर्ष बसेपछि उनी नेपाल फर्किएका हुन् ।

‘यूकेमा बस्दा मेरो जिन्दगी सुख र सुविधामा थियो, तर, मेरो जिन्दगीको भ्यालू के त भन्ने प्रश्न मेरो मनमा धेरै आयो र म नेपाल फर्किए,’ उनले भने । नेपालमा गएर केही नयाँ काम गर्नुपर्छ र म जस्ता दुःख गरेको र गाउँबाट आएर राम्रो ठाउँमा गएर अध्ययन गर्न सक्ने वातावरण मिलोस् भन्ने थियो ।

‘अर्को भित्रि इच्छा भनेको मैले पाएको दुःख अरु नेपालीहरूले नपाओस् भन्ने हो,’ उनले भने । किन कि मैले धेरै जनाको सहयोगबाट अध्ययन गरेर अहिले यो स्थानमा आइपुगेको हुँ ।’

लामा भन्छन्, ‘म उहाँहरूको त्यो सहयोग कुनै पनि मूल्य दिएर फर्काउन सक्दिन्, तर नेपालमा गएर केही काम गरेर दुःख पाएका युवाहरूलाई मेरो आइडीया सोचले अघि बढ्न प्रेरणा मिलोस् भन्ने सोच लिएर यहाँ आएको हुँ ।’

आफ्नो बाल्यकाल शारीरिक र मानसिक हिसाबले धेरै दुःख भोग्नुपरेको अनुभव उनको छ । तर, त्यो बेलाको दुःखको कारण अहिले यो स्थानमा आइपुगेको भन्दै गर्व गरिरहेका छन् ।

‘म कोहो  र जिन्दगीको यथार्थ के हो भन्न्ने चिनाएको छ,’ लामाले भने । म अहिले जहाँ पुगेको छु, त्यो बाल्यपन नभएको भए पुग्दिन थिए होला, त्यही बाल्यपन, गाउँलेको माया र ममताको कारण म यूकेबाट फर्किएको हुँ ।’

दुःखसँग पौठेजोरी
गाउँमा रहँदा मेरो जिन्दगीभन्दा भैंसीको जिन्दगी धेरै राम्रो थियो । एक माना दूध खानका लागि उसलाई घाँस, खोले खुवाएर गोबर सोरेर मात्र म स्कुल जान पाइन्थ्यो, उनले सुनाए ।

‘मलाई अहिले पनि याद छ, कक्षा आठको जिल्ला स्तरीय परीक्षा चलिरहेको थियो, म भने त्यही भैंसीलाई घाँस काट्नलाई रुखमा चढिरहेको बेला यसो अरु गाउँका साथीहरूलाई हेरेको उनीहरू गुन्द्रीमा बसेर धमाधम पढिरहेका थिए ।’

मलाई पनि त्यो बेला लाग्थ्यो उनीहरूको जस्तो जिन्दगी कहिले आउला भनेर रुखमै रोएरसमेत बसेको थिए । त्यो बेला स्कुल जाने भनेको घरको काम छल्नका लागि मात्र थियो ।

कम्तीमा स्कुल समयभरि घरको काम त गर्नुपर्दैन थियो । कहिलेकाहीँ त स्कुल जाँदा सँगै डोको लगेर गइन्थ्यो र १ बजेको टाइममा वनमा घएर खाँस दाउँरा खोजेर ल्याउँथ्येँ ।

मेरो सपनाभन्दा पनि मेरो आफ्नै यथार्थले गर्दा खेरी जुन ऊर्जा प्रदान गर्छ । जसले गर्दा मलाई बिहानै उठाउँछ । कसले सोचेको थियो र गाउँको सिकर्मीको छोरा पीएचडी गरेर विश्व आर्थिक मञ्चको योग ग्लोबल लिडर हुन्छ भनेर ?

मेरो आफ्नो विगतलाई नै हेरेर लाग्छ कि क्षमता सबैसँग छ । मात्र, त्यो क्षमतालाई प्रष्फुटन गराउने ठाउँ बनाइदिन लागिएको हो ।

उनकै नाममा यूकेमा छात्रवृत्ति
सन् २००६ मा यूकेको इन्टरनेसनल स्टुडेन्ट अफ द एयर को अवार्ड पाए । त्यो बेला उनले त्यहाँका प्रधानमन्त्रीलाई समेत भेट्ने अवसर पाए र त्यो अवार्ड प्रधानमन्त्रीकै हातबाट लिएका थिए ।

अवार्डसँगै केही रकम पाएका थिए । पाएको सो रकम लिएर उनी नेपाल फर्किए । उनी त्यो बेला यूकेमा मास्र्टस गरिरहेका थिए । नेपाल फर्किंदा उनले धेरै सम्मान पाए ।

तर, उनलाई भने त्यो सम्मान र माया एकदम धेरै बोझ भइरहेको महसुस भइरहेको थियो । जनजातीहरूमा थोरै मात्रामा पढ्ने भएकाले धेरै संघ–संस्थाले उनलाई सम्मान गरियो । त्यो सम्मानका विषयहरू विभिन्न सञ्चार माध्यमहरूमा आयो ।

उनले पाएको ती सबै सम्मानहरू र समाचारहरू लिएर यूकेमा(जहाँ अध्ययन गरिरहेका थिए)त्यही युनिभर्सिटीमा लगेर बुझाए । ‘मलाई त्यो सम्मान लिन गाह्रो भइरहे पनि त्यो युनिभर्सिटीका लागि ठूलो प्रचार थियो उनले भने, त्यही सम्मानको समाचारको माध्यमबाट निःशुल्क मार्केटिङ भइरहेको थियो ।’

उनले पाएको सम्मान प्रतियुनिभर्सिटी पनि खुसी भयो र उनलाई सोधेका थिए कि हामी तिमीलाई के गर्न सक्छौं ? उनले त्यो बेला युनिभर्सिटीलाई भने, जो नेपाली आउँछ उहाँहरूलाई ५० प्रतिशत छुट दिनुपर्छ । उनको यो प्रस्तावपछि युनिभर्सिटीले त्यसका लागि छनौटको प्रक्रिया के त भनेर सोध्दा नेपाली हुनुपर्छ भने ।

यदि ५० प्रतिशत छुट पायो भने एउटा विद्यार्थीहरूले ऋण लिएर पनि ५० प्रतिशत रकम तिर्न सक्छन् नि । उनको प्रस्तावमा युनिभर्सिटीले सहमति जनायो ।

यूकेमा नेपाल बाहेक भारत, पाकिस्तान, बंगलादेश लगायतका विद्यार्थीहरूले छात्रवृत्ति पाइरहेका थिए । किन कि नेपालले यूकेमा अध्ययनका लागि जाने विद्यार्थीहरू धेरै कम छन् । ‘मलाई पहिला लाग्थ्यो कि नेपाल छुटेको होला, तर त्यस्तो होइन रै’छ,’ उनले भने ।

‘म जुन बेला झसङ्ग भए कि युनिभर्सिटीबाट फोन गरेर तिम्रै नामबाट छात्रवृत्ति राख्ने भएका छौं भन्ने सुनेपछि, किनकी म कुनै दुर्घटनामा परेको पनि थिइन र म कुनै समाजसेवी पनि थिइन, त्यो बेला मैले पत्याउन सकिरहेको थिइन, उनले विगत सम्झदै भने ।

‘जब, मेरो नाममा युनिभर्सिटीले पत्र पठाएर वार्षिक २० जना नेपाली विद्यार्थीलाई कुनै पनि विद्यामा मास्र्टस र पीएचडी गर्न सक्ने छन् भन्ने देखेपछि त्यो बेला खुसीको सीमा रहेन ।’ उनीहरूले त्यो छात्रवृत्ति २००६ देखि १३ सम्म निरन्तर गरे । मेरै नामको छात्रवृत्तिबाट धेरै साथीहरूले पढ्न पाए । धेरैले पीएचडी गरेर नेपालमै फर्किएका पनि छन् ।

यसरी जन्मियो आइडिया स्टुडियो
छिरिङले गाउँघरमा जाँदा धेरै सुनेको कुरा भनेको, हामीसँग पनि आइडिया छ, तर कसले सुन्छ र ? हाम्रो को नै छ र भन्ने थियो । उनले सुनेको त्यो कुराले धेरै अघिबाट उनको मनमा यस्ता आइडियाहरूलाई संकलन गरी केही सहयोग गर्नुपर्छ भन्ने लागिरहेको थियो । 

कुनै पनि काम गर्नलाई कसै न कसैलाई सोच्नुपर्छ । कोही न कोहीले नयाँ आइडिया निकाल्नुनै पर्छ । थोरै लगानीमा राम्रो काम गर्न सकोस् र उद्यमी बनेर स्वरोजगार बन्न सकून् भन्ने उद्देश्यका साथ आइडिया स्टुडियोको स्थापना भएको उनी बताउँछन् ।

नेपालमा समाज सेवा र विभिन्न दातृ निकायको सहयोग निश्चित समयका लागि मात्र हुन्छ । सधैं उनीहरूले दिन सक्दैन । त्यसैले सोचलाई उद्योगसम्म कसरी पु¥याउन सकिन्छ भन्ने लागेर आइडिया स्टुडियो निर्माण भएको हो । त्यसका लागि छिरिङले युनिसेफसँग छलफल गरे कसरी नेपालीहरूको आइडिमा लगानी गर्न सकिन्छ भनेर ।

नेपाललाई विकासको गतिमा दौडाउन के गर्न सकिन्छ भनेर छलफल र समन्वय गरियो । त्यसका लागि लगानी चाहियो । नेपालीहरूको आइडियालाई लगानी गरेर आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने विषयमा लामो समयको छलफल गरे ।

उनको इच्छा भनेकै नेपालीहरूलाई इज्जतका साथ बाँच्न सक्ने अवस्था बनाउनुपर्छ भन्ने थियो । त्यसका लागि नेपालीहरूको आइडिया र ज्ञानमा लगानी गर्न आवश्यक थियो ।

आम्दानीका लागि आवश्यक ज्ञान, सीप र लगानी चाहिन्छ । त्यसका लागि राम्रो थलो होस् र नेपालीहरूले मागेर होइन यसैलाई कर्मथलो बनाउन सकोस् भन्ने हेतु उनको छ ।

त्यो बेला उनलाई धेरैले नेपालमा यो किसिमको काम गर्न सकिँदैन । हुँदैन भन्नेहरू धेरै थिए, तर मैले हार खाइन र अहिले यहाँसम्म आइपुगेको छु । यदि यो काम सफल नभएको भए म फेरि यूके फर्किन्थ्येँ होला । मैले आँट र साहसलाई कहिल्यै पनि पछि पारिन, उनले भने ।

यूकेकै युनिभर्सिटीबाट मास्टर पीएचडी गरेका लामालाई त्यहाँ पनि धेरै राम्रा–राम्रा कामको अफर आएको थियो । नेपालमा केही गर्न सकिँदैन भन्नेहरूको लहर धेरै छ । उनी भन्छन्, यहाँ धेरै राम्रो कामहरू गर्न सकिँदैन । त्यसका लागि यस्तो थला बनाउनुप¥यो कि जहाँ सबैको आइडियालाई सहज रुपमा लगानी जुटोस् र लगानी मिलोस् ।

त्यसका लागि २०१२ बाट छलफल चलाए पनि त्यसको औपचारिक रुपमा स्थापना भने सन् २०१४ बाट भएको थियो । आइडिया स्टुडियो स्थापनाका लागि धेरैको साथ र सहयोग छ । युनिसेफको ठूलो सहयोग छ । काठमाडौं युनिभर्सिटीसँग पनि सहकार्य छ ।

आइडियालाई सेयर गर्नका लागि सबै ठाउँ र क्षेत्रको युवाहरूको आइडिया लिन थालियो । त्योसँगै टेलिभिजनमार्फत आफ्नो आइडियालाई आदान–प्रदान गर्न सक्ने गरी काम गरियो । सामाजिक रुपान्तरण र नवीकरण, लगानीका लागि हो ।

अहिले नेपालमा सरकारले जुन किसिमको सहुलियत र सुविधाहरू दिइरहेको छ । त्यो किसिमको सुविधाहरू बास्तविक उद्यमीहरूले लिन पाइरहेका छैनन् ।

आइडियाले तीन लेभलमा काम गरिरहेको छ । एउटा आइडिया, स्केल र लिङकपको काम ।
अहिलेसम्म आइडियाले ४ वटा सिजन सञ्चालन गरिसकेको छ भने पाचौं सिजनको तयारीमा छ । सोचले सामाजिक परिवर्तन ल्याउन सक्ने र सोचलाई उद्योगसम्म पु¥याउँछु भनेर दृढ संकल्प लिएर आउनेहरूलाई आइडिया स्टुडियोले सहयोग गर्दै आएको छ ।

आइडिया छनौटका लागि विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला अडिसन दिनुपर्छ, आफूले ल्याएको बिजनेसको आइडियालाई आफैंले सार्वजनिक गर्नुपर्छ  । कोही मान्छेहरू विदेशबाट आइडिया लिएर आएका हुन्छन् ।

अडिसनबाट एक चरणमा ३० देखि ३५ जनालाई छनौट हुन्छ । त्यहाँबाट उनीहरूलाई १० दिनको बिजनेससम्बन्धी प्रशिक्षण हुन्छ । त्यसमा काठमाडौं युनिभर्सिटीका प्रोफेसरहरू, विभिन्न बिजनेस हाउसका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरू आएर कक्षा लिने गर्छन् ।

सम्बन्धित उद्योग र व्यवसायमा आबद्ध व्यक्तिहरू पनि त्यो कक्षामा आफ्नो आइडियाहरू बाँड्न आउँछन् । त्योसँगै बिजनेसका लागि आवश्यक कानुनी प्रक्रियाहरू ट्याक्स, भ्याटदेखि अकाउण्टसम्मको विषयमा उनीहरूलाई प्रशिक्षण गराइन्छ ।

योसँगै बैंकको प्रक्रियाहरूसमेत त्यहाँ जानकारी दिइन्छ । अहिलेसम्म ६ वर्ष भइसकेको छ ।
बिजनेस आइडियाहरू ल्याएर आउनेहरू सबै पढेका हुन्छन् भन्ने पनि हुँदैन । त्यसैले सामान्य भाषामा अध्ययन गराउने प्रयाससमेत गरिएको छ । अहिले आइडिया स्टुडियोले नेपालका विभिन्न कलेजहरूमा समेत जाने गरेका छन् ।

तीमध्ये एक चरणमा उत्कृष्ट ४ वटा आइडियालाई ५ लाखको दरले आइडिया स्टुडियोले आर्थिक सहयोगसमेत गर्ने गरिएको छ । यस्ता उद्योगहरूका लागि आवश्यक सम्पूर्ण कच्चापदार्थहरू नेपालकै प्रयोग हुनुपर्ने छ ।

कुनै व्यवसाय सफल हुनलाई दृढ संकल्प हुन आवश्यक छ । कुनै यस्तो व्यवसाय हुन्छ, जुन एकै पटक राम्रो आम्दानी गर्न सक्दैन तर, त्यसले सामाजिक परिवर्तन हुनसक्छ । जसले सामाजिक सोच र समाजलाई परिवर्तन गर्छ त्यस्तालाई पनि सहयोग गर्दै आएको छ ।

यस्ता आइडियाहरूलाई लगानी जुटाउनका लागि आइडिया इम्प्याक्ट इन्भेस्टमेन्ट भनेर सुरु गरेको छ । किनकी यहाँ बैंक तिर जाउँ बिनाधितो ऋण पाइँदैन । जोसँग आइडिया छ, उसँग लगानी छैन, जोसँग आइडिया र लगानी छ, उसँग ज्ञान छैन, जोसँग ज्ञान छ, उसँग आइडिया र लगानी नहुन सक्छ ।

त्यसैले लगानी पनि सँगै दिनुपर्छ भनेर ४ वटा आइडियालाई सहयोग गर्दै आएका छौं ।
बैंकहरूसँग पनि आइडिया, ज्ञान र इच्छा भएर लगानी नभएकाहरूलाई कसरी सहुलितपूर्ण ऋण दिन सकिन्छ भनेर छलफल गरिरहेका हुन्छौं । अहिलेसम्म ४ वर्षमा ३० वटाको दरले १२० वटा आइडिया उद्योगसम्म पु¥याएका छौं ।

यो वर्षको आइडिया संकलन कोरोना भाइरस(कोभिड–१९)सँग सम्बन्धित उद्योगहरूसँग रहेको छ । कोभिडका बेला कसरी उद्योग सञ्चालन हुन्छ र कस्ता–कस्ता उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुन्छ ।

यस्ता महामारीका बेला सबैभन्दा बढी पीडित हुने भनेको साना र मम्झौता उद्योगी व्यवसायीहरू नै हुन् । त्यसमा पनि सबैभन्दा बढी पीडित हुने भनेको महिला उद्यमी र व्यवसायीहरू हुन् । यस्ता महामारिको बेला विश्वको एक अध्ययनले के देखाएको छ साना तथा मझौला उद्योगहरूमध्ये ८० देखि ९० प्रतिशत उठ्नै सक्दैन ।

नेपालमा पनि कोरोनाको प्रभाव धेरै परेको छ । अहिलेकै अवस्थामा नेपालको आर्थिक अवस्थामा सुधार आउनका लागि झण्डै–झण्डै ६ देखि ८ वर्षसम्म लाग्न सक्छ । यो पटक आइडिया स्टुडियोमा संकलन हुने आइडीमा कोरोना सम्बन्धित उद्योगहरूको रहेको छ । यो नेपालको लागि चुनौती र अवसर हो ।

आइडिया स्टुडियोले अहिले पनि कोभिडका लागि काम गरिरहेको छ । यो बेलामा उपभोक्तालाई सहज होस भनेर एउटा फोनकलमा ४ वटा सेवा दिने गरी लिंकप गराएका छौं ।

नेपाल मेडले घरमै आवश्यक औषधी पु¥याइदिन्छ भने मेट्रो तरकारीले तरकारी र खाद्यन्न, सजिलो मर्मतले घरमा बिग्रिएका सामानहरू बनाइदिन्छ र कुल्याबले बच्चाहरूलाई अनलाइनमार्फत पढाउन सहयोग गर्छ ।

अबको लक्ष्य
आइडिया स्टुडियोको मुख्य लक्ष्य भनेको ५ वर्षभित्रमा १ हजार वटा आइडिया संकलन गरी त्यो आइडियाअनुसार उद्योग व्यवसाय सञ्चालन होस् भन्ने । त्यहाँ नाफा होइन, सेवालाई प्राथमिकता दिएर काम अगाडि बढोस् ।

इच्छा र आइडिया भएकाहरूले लगानी नभएकै कारण घरमा थन्किएर बस्ने अवस्था नहोस् भन्ने प्रमुख चाहना हो ।

नेपालमा कुनै पनि व्यापार व्यवसाय फस्टाउनका लागि ३ वर्ष लाग्छ । पहिलो वर्ष साथीभाइ आफन्तलाई जवाफ दिँदानै बित्छ, दोस्रो वर्ष सरकारी नीति, ट्याक्स, भ्याटको सिस्टम बुझ्दै जान्छ र तेस्रो वर्षमा भने केही लगानी थपिन्छ र अरुले विश्वास गर्छन् ।

यहाँ नयाँ आएका अधिकांश स्टार्टअप कम्पनीहरू खुलेको ६ देखि १ वर्षभित्रमा बन्द भइसकेको हुन्छ । उनीहरू ईको स्टिम बुझ्न नसकेकै कारण समस्या परेका हुन् । त्यसैले आइडिया स्टुडियोले त्यस किसिमको वातावरण निर्माण गरिदिएको हुन्छ । आइडियाले एउटा व्यावसायिक वातावरण बनाउने काम गरिरहेका हुन्छौं ।

कतिपय साना र मझौला उद्योग व्यवसायमा सञ्चालकहरूबीच नै विवाद भएर बीचमै बन्द हुने गरेका छन् । अहिले आइडियाले पहिलो वर्षदेखि चौथो वर्षसम्मलाई समेटेर फाउन्डर क्लबसमेत स्थापना गरेका छन् । सञ्चालकहरूबीच कसैलाई तत्कालै रकमको अभाव नहोस् भनेर उनीहरूले पैसा जम्मा गरिरहेका हुन्छन् ।

अहिले आइडियाले ट्याम्पु महिला चालक, शिक्षकहरूलाई सहुलियतपूर्ण ऋण प्रवाह गरिरहेको छ भने ट्रेकिङ गाइडहरूलाई पनि सोही प्रकारको ऋण प्रवाहको लागि प्रभु बैंकसँग सहकार्य गरिरहेको छ ।

कोभिडका बेला समस्यामा परेकाहरूलाई आफ्नो व्यवसाय सञ्चालनका लागि थप सहयोग होस भन्ने उद्देश्यले प्रभु बैंकसँग सहकार्य गरेको छ ।