Idea Studio Nepal

सोचलाई उद्योगसम्म जोड्‌ने आइडिया स्टुडियो | News Featured On shilapatra.com

‘तपाईँ नेपाल नफर्किने ?

आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामा र रूपेश श्रेष्ठको प्रश्नमा जापानबाट आएकी अनिता गुरुङ सोचमग्न भइन् ।

‘श्रीमान् फर्कनै चाहनु हुन्न, यहाँ आएर के गर्ने ?’, अनिताले प्रतिप्रश्न गरिन् ।

नेपाल फर्किने मन भए पनि आएर के गर्ने भन्ने प्रश्नले अनिताको परिवार तत्काल नेपाल फर्किने सोचमा देखिँदैन ।

‘जापानमै बसेर नेपालमा व्यवसायको बिउ छर्न सकिन्छ नि’, डा. छिरिङ उनीलाई सल्लाह दिन्छन् ।

‘सकिन्छ र ?’

अलमलमा देखिएकी अनितालाई रूपेशले भने, ‘नेपालमै केही गर्छु भनेर सोच त बनाउनुहोस् । विदेशमै बसेर पनि नेपालमा व्यवसायको बिउ छर्नुहोस् । फल बुढेसकालमा पाउनुहुन्छ । सोचको बिरुवालाई पानी हाल्नुहोस् । हुर्काउने कसरी हामी सिकाउँछौँ ।’

‘मुटु दिनुहोस्, दिमाग हामी दिन्छौँ’, छिरिङले थपे ।

छिरिङ र रूपेशको सुझावपछि  नेपालमै केही गर्नुेपर्छ भन्ने सोच बोकेर अनिता होटलबाट बाहिरिइन् ।

युवालाई स्वरोजगार बनाउनबाट चुकेको देशको अवस्था, ओइलाउँदै गएको युवाहरूको जाँगर र विदेश नै गन्तव्य देख्ने युवाको सपनाले छिरिङ र रूपेशलाई सधैँ पोल्थ्यो ।

‘मासिक ३० हजार रुपैयाँ कमाउन डेढ लाख रुपैयाँ खर्च गरेर युवा खाडी मुलुक जान बाध्य छन् । श्रमको उचित मूल्य नपाउने अवस्थामा पनि बाहिरिनुपर्ने बाध्यता छ’, छिरिङ भन्छन्, ‘हामी नेपालमै युवालाई उद्यमी बनाउन चाहन्छौँ ।’

विदेश जान लागेको एक युवालाई छिरिङले सोधेका रहेछन्, ‘किन विदेश नै जान लागेको ?’ ती युवाको जवाफ थियो, ‘सर ! कति ठाउँ धाएँ । कसैले जागिर दिएनन् । व्यवसाय गर्न पैसा छैन । आमाबुबाको दुःख देखेर आमाबुबाकै दुःख टाढा बनाउन आफैँ विदेशिन लागेको हुँ ।’

ती युवाको जवाफले स्तब्ध भएका छिरिङले नेपालमै बस्न सक्ने वातावरण बनाइदिए ।  भन्छन्, ‘अझै पनि हामीले युवालाई आफ्नै भूमिमा काम गर्न सक्ने वातावरण बनाउन सकेका रहेनछौँ ।’

यी त प्रतिनिधिपात्र मात्र हुन् । लाखौँ युवा विदेशमा छन् । स्वदेशमै रहेका युवा पनि के गर्ने भन्ने अलमलमा छन् । कोहीसँग आइडिया छ, पैसा छैन । कोहीसँग पैसा छ, आइडिया छैन ।

आइडिया र पैसालाई जोडेर आइडिया स्टुडियोबाट छिरिङ र रूपेशले धेरै युवालाई आइडिया मात्र दिएका छैनन्, आइडियालाई उद्यमसम्म जोड्न सफल पनि भएका छन्

छ वर्ष बितेछ डा. छिरिङ र रूपेशले आइडिया स्टुडियोको नेतृत्व सम्हाल्दै उद्यमी बन्न चाहनेका लागि बाटो देखाउन थालेको । सन् २०१४ देखि आइडिया स्टुडियो युवाहरूको सारथी बनेको छ ।

‘सोचदेखि उद्योगसम्म’ भन्ने नाराका साथ सुरु भएको आइडिया स्टुडियोले नवीनतम सोचका साथ नवउद्यमीलाई प्रशिक्षणसहित लगानीको वातावरण बनाइदिँदै आएको छ ।

आइडिया स्टुडियोले टेम्पोचालक महिलादेखि शिक्षकसम्मलाई व्यवसाय गर्न सिकाउँदै बिनाधितो सरल कर्जा उपलब्ध गराउन बैंकसँग सहकार्य पनि गर्दै आएको छ । साना उद्यमीहरूलाई डिजिटलमा रुपान्तरण गर्न पनि वित्तीय शिक्षा प्रदान गरिरहेको छ ।

‘अहिलेसम्म कति जना उद्यमी भए त ?’

‘आइडिया त सयौँ आएका छन् । तर, ४० वटाभन्दा बढी आइडिया लिएर आएका आइडियटर उद्यमी बनिसके’, छिरिङ भन्छन् ।

सोचलाई उद्यमसम्म पुर्‍याउने यात्रा कठिन छ । तर, सफल मान्छेले त्यही काम गर्छ जसले गाह्रो भनेर छोडेको हुन्छ । आइडिया स्टुडियोले त्यही गाह्रो बाटो रोज्यो । जसले आज युवाहरूलाई उद्यमी बन्न सरल र सहज भएको छ ।

यसैको एउटा उदाहरण हुन्, चिनबहादुर नेपाली । उनी लामो समय दक्षिण कोरियामा मेटलमा काम गरेर नेपाल फर्किएका रहेछन् । उनले आइडिया स्टुडियोको सिजन टुमा आफ्नो आइडिया प्रस्तुत गरेका थिए ।

‘हामीले प्रशिक्षण दिएका थियौँ । धेरैपछि चिनबहादुरलाई भेट्दा व्यवसाय नगरेर रिसर्चमा लाग्नुभएको रहेछ । आइडिया स्टुडियोबाट उहाँको सोचमा नै परिवर्तन आएछ । रिसर्चमा लाग्नु त ठूलो कुरा हो नि’, रूपेश भन्छन्, ‘व्यवसायी मात्र बनेर हुँदैन, व्यवसायलाई बुझियो भने सफल भइन्छ ।’

रूपेशको कुरामा सहमति जनाउँदै छिरिङ भन्छन्, ‘व्यवसाय गर्नुभन्दा रिर्सच गर्नुपर्छ भन्ने भावनाको बीजारोपण गर्न सक्नु ठूलो कुरा हो ।’

चारवटा सिजन सफलतापूर्वक सकेर आइडिया स्टुडियोको पाँचौँ सिजनमा आइपुग्दा छिरिङ र रूपेशले सिकाउने मात्र होइन, आफैँले पनि धेरै कुरा सिक्न पाएको बताए ।

‘विश्वका ठूला युनिभर्सिटीसँग सहकार्य गरिसक्यौँ । सबैसँगको सहकार्यबाट हामीसँग भएका सीप र ज्ञानलाई कसरी दिगो रूप दिन सक्छौँ भन्ने सिक्न पायौँ’, रूपेश भन्छन्, ‘ज्ञानलाई व्यावहारिक स्वरुपमा ढाल्दै दिगो बनाऔँ ।’

आइडिया स्टुडियो पाँचौँ सिजनसम्म आइपुग्दा बृहत् बन्दै गएको छ ।

‘सिजन १ मा आएकादेखि सिजन ४ का आइडियटरसँग बस्दा उनीहरूको सोचमा नै आकाशजमिनको फरक आएको छ । हिजो पैसा कमाउँछु भन्ने मात्र सोच्नेहरू आज कसरी र किन भन्नेबारे रिसर्च गर्न सक्ने भएका छन्’, रूपेश भन्छन् ।

आइडियटरहरूको व्यावसायिक प्रगति र सोच आफूहरूको भन्दा अब्बल भएको रूपेश बताउँछन् ।

‘हिजो कसरी व्यवसाय गर्ने भन्दै आएका आइडियटरहरू आज आफूहरूलाई नै व्यवसाय गर्ने नयाँ तरिकाहरू सिकाउँछन् । त्यसरी हाेइन, यसरी गरौँ भन्छन् । यस्तो देख्दा गर्व लाग्छ’, रूपेश भन्छन् ।

सामाज परिवर्तनसँगै व्यावसायिक क्रान्तिका लागि संघर्षरत आइडिया स्टुडियोले विद्यार्थीदेखि व्यवसायको सोच बुनेर बसेका व्यक्तिलाई व्यवसाय बनाउन अझै प्रयासरत छन् ।

पाँचौँ सिजन

आइडिया स्टुडियोकाे पाँचौ सिजन सुरु भएको छ । हरेक वर्षझैँ यो वर्ष पनि ग्रिनोभेसन, सोसल इम्प्याक्ट, मेड इन नेपाल र हाई फ्लाइङ गरी चारवटा विधामा नयाँ आइडियालाई प्रतिस्पर्धा गराइनेछ । चारवटा विधामा आइडियटरलाई आफ्नो आइडिया प्रस्तुत गर्ने अवसर दिइनेछ ।  स्टुडियोले सम्बन्धित क्षेत्रका विज्ञहरूबाट सहभागीलाई व्यावसायिक तालिम पनि दिनेछ ।

तालिमपछि चारवटा विधामा उत्कृष्ट आइडिया प्रस्तुत गर्ने चार प्रतिस्पर्धीलाई नगद ५ लाख रुपैयाँको व्यावसायिक सहयोग गरिनेछ । यसबाहेक सहभागी आइडियटरहरूलाई पनि सरल कर्जाको व्यवस्था गरिनेछ ।

आइडिया स्टुडियो नवउद्यमीको सारथि

आइडिया छ तर पैसा नभएर व्यवसाय गर्न नसेकाहरूका लागि  आइडिया स्टुडियो पुल बनेको छ । त्यसैले जोकोहीसँग पनि आइडिया छ भने आइडिया स्टुडियोमा पठाउन सकिनेछ । ‘हाम्रो उद्देश्य व्यवसायी उत्पादन गर्नु मात्र होइन, व्यावसायिक वातावरणमा  स्थायित्वको बाटो देखाउनु पनि हो’, रूपेश भन्छन्, ‘हामी आजको वा कार्यक्रम अवधिको साथी मात्र होइनौँ, व्यावसायिक यात्राकै सारथि हौँ ।’

छनोट भएका आइडियटरहरूलाई व्यवसाय कसरी गर्ने ? के–के कुरामा अध्ययन गर्ने ? लोन कसरी लिने ? कसरी दिगो रूपमा काम गर्ने ? आइडियटरलाई सबै सिकाइन्छ ।

कसरी सहभागी बन्ने ? 

यदि तपाईंसँग व्यवसाय गर्ने मन छ वा योजना पनि छ भने तपाईंले आफ्नो व्यावसायिक योजनालाई इमेलको माध्यमबाट पठाएर सहभागी बन्न सक्नुहुनेछ ।

जसका लागि तपाईंले www.ideastudio.org.np/submit-idea/ मा गएर आवेदन दिन सक्नुहुनेछ भने प्रभु बैंकका कुनै पनि शाखामा गएर फर्म भर्न सक्नुहुनेछ ।

आइडिया मार्ट 

पाँचौँ सिजन अन्य सिजनभन्दा पृथक् पनि छ ।  आइडिया स्टुडियोबाटै उद्यमी बनेका व्यवसायीहरू मिलेर आइडिया स्टुडियोकै सहयोगमा ‘आइडिया मार्ट’ खोलिनेछ । यो योजनाले सिजन ५ सम्म आइपुुगेका सबै आइडियटरको आइडियालाई एकत्रित गर्नुका साथै व्यावसायिक सहयोगको वातावरण पनि बनाउनेछ ।

आइडिया मार्टबाट जोकोही नवउद्यमी वा उद्यम गर्ने सोच बोकेका व्यक्तिले व्यवसायका बारेमा सल्लाह लिन सक्नेछन् । बजारमा पुग्नका लागि आइडिया स्टुुडियोले साथ दिनेछ ।

६ वर्षको अवधिमा जति आइडिया आए, अझै अपुग छ । नवीतनम आइडियाको खोजी सकिएको छैन । आइडियाको खोजीमा आइडिया स्टुडियो देशको कुनाकन्दरा र अन्य देशमा समेत पुग्ने योजनामा छ ।

‘गन्तव्यमा पुग्ने अठोट छ । एक दिन अवश्य पुगिन्छ’, छिरिङ र रूपेश आशावादी हुन्छन् ।

यो पनि…

युवालाई स्वदेशमै उद्यमी बनाउने सारथिः आइडिया स्टुडियो

Scroll to Top