दैलोमै पुगेर प्रभु बैंकले दियो खुम्बुका पर्यटक गाइडलाई विना धितो ऋण | News Featured on capitalnews.com

फाक्डिङ, सोलुखुम्बु । दावा फुन्जा शेर्पा कोभिडको महामारी हुनुअघि खुम्बु क्षेत्रमा विश्वका विभिन्न मुलुकका पर्यटकलाई घुमाउँँथे । ट्रेकिड गाइड रहेका शेर्पा कोभिडपछि एक वर्षसम्म पर्यटक नआउँदा अझै घरमै बसिरहेका छन् । लामो समयदेखि पर्यटक गाइडमा बिताएका शेर्पाको वैकल्पिक पेशा र व्यवसाय नहुँदा समस्यामै रहेका बेला प्रभु बैंकले विना धितो सहुलियत ब्याजमा उनलाई १ लाख रुपैयाँ उपलब्ध गरायो ।

सस्तो ब्याजमा विना धितो ऋण पाएपछि दावाले राहत महसुस गरे । उनले भने, ‘एक वर्षसम्म सामान्य काम गरेर बसिरहेको थिए, अझै पर्यटक कहिले आउने थाहा छैन, थोरै रकम भए पनि राहतको महसुस भएको छ, यसले बैंकसँग जाने बाटो पनि खुल्यो ।’

लुक्लाका दावालाई मात्र होइन कोभिडको कारण पर्यटक नआउँदा आम्दानी गुमाइरहेका खुम्बु क्षेत्र वरिपरिका २४ जना पर्यटक तथा ट्रेकिङ गाइडलाई सोलुखुम्बुको फाक्डिङमा बुधबार आइडिया स्टुडियोको सहकार्यमा प्रभु बैंकले विना धितो सस्तो ब्याजमा कर्जा उपलब्ध गरायो । प्रभु बैंक र आइडिया स्टुडियोको सहकार्यमा यसअघि कोभिड प्रभावित शिक्षक र टेम्पो चालकलाई पनि सस्तो ब्याजमा विना धितो ऋण उपलब्ध गराइएको थियो ।

गत वर्षको माउन्टेन ट्रेकिङको सिजन ठप्पै भयो, विदेशी पर्यटक त के घरेलु पर्यटकसम्म हिडडुल गर्न अवस्था थिएन । पर्यटन क्षेत्र नै सुनसान हुँदा खुम्बु क्षेत्रका पर्यटक तथा ट्रेकिङ गाइडको एक वर्ष बढि समय पनि सुनसानमै बित्यो । तत्काल वैकल्पिक पेशा वा व्यवसाय गर्ने विषयमा पनि उनीहरु अलमलमै थिए । पर्यटन क्षेत्र विस्तारै उकासिने आशामा रहेका उनीहरु अझै पर्यटनले लय नसत्दा आर्थिक समस्यामै छन् ।

कोभिडले नराम्रोसँग असर पारेको क्षेत्रमा पहिचान गरि प्रभु बैंकले विना धितो सहुलियत ऋण उपलब्ध गराउने क्रममा खुम्बुका ट्रेकिङ गाइडलाई पनि प्राथमिकतामा राखेको हो । सोहिअनुसार बैंकले बुधबार पहिलो चरणमा २४ जनालाई सहुलियतपूर्ण ऋण उपलब्ध गरायो ।

सोलु सुर्केका पासाङ दावाले पर्यटन क्षेत्र प्रभावित भएको र त्यसमा पनि अति प्रभावित हामी भैरहेको बेला प्रभु बैंकले घरकै दैलोमा आएर सस्तो ब्याजमा ऋण उपलब्ध गराएर आत्मविश्वास बढाइदिएको बताए । अब विस्तारै पर्यटन क्षेत्रमा पनि केहि आशा गर्ने आउँदै छ, यो बेला सामान्य केहि गर्नका लागि ऋणले सहज बनाएको उनले बताए ।

ट्रेकिङ गाइडका अगुवा कामी दोर्जे शेर्पाले महामारीका कारण आम्दानी नभएको एक वर्ष भएको र यो घाउमा मल्हम लगाउन प्रभु बैंक र आइडिया स्टुडियोले सहयोग गरेको बताए । ‘खुम्बु क्षेत्र भनेको सबैभन्दा बढि पर्यटक गाइड भएको क्षेत्र हो, अर्थतन्त्र डाउन भएको बेला हामी पनि प्रभावित भएका छौं तर प्रभु बैंकले हामीलाई सम्झियो,’ उनले भने ।

यही क्षेत्रमा भएको बैंकले हामीलाई नसम्झेको बेला प्रभुले काठमाडौंबाट आएर राहतका लागि हात अगाडि बढाउनु हाम्रा लागि सुखद भएको उनले बताए । यहाँ धेरैभन्दा धेरै गाइड प्रभावित भएकाले अझ बढि पर्यटक गाइडलाई सहुलियतमा ऋण उपलब्ध गराउनुपर्ने उनले बताए ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले यो सहुलियत ऋण सानो प्रयास भएको र बैंक सँधै यस्तोे सेवा दिन सँधैं तत्पर रहेको बताए ।

‘विश्व बजारमा देखिएको कोरोना महामारीका कारण अर्थतन्त्र र विशेषगरि पर्यटन क्षेत्रमा पारेको प्रभावले यस क्षेत्रका समस्यामा परेका ट्रेकिङ गाइडलाई  प्रभु बैंकले केहि राहतका लागि यो ऋण उपलब्ध गराएको हो । ऋण लिने र यसको प्रयोग गर्नेका साथै आगामी दिनमा बैंकसँग कसरी नजिक हुने भन्ने यो एउटा वित्तिय साक्षरता पनि हो,’ उनले भने । यो क्षेत्रमा स्याउ, आलु, चिजलगायत अरु कृषि उपजको पनि संभावना रहेकाले कोही कसैले यसमा पनि सहकार्य गर्न खोजेमा प्रभु बैंक सधैं तयार रहेको उनले बताए ।

आइडिया स्टुडियोका संस्थापक डा.छिरिङ्ग लामाले कोभिडका कारण दैनिक मजदुरी गर्नेदेखि लिएर ठूला अर्थतन्त्रमासमेत समस्यामा परेको, रोजगारी गुमेको अवस्था रहेकाले आफुहरुले अतिप्रभावित क्षेत्रको अनुसन्धान र पहिचान गरि प्रभु बैंकसँगको सहकार्यमा ऋण उपलब्ध गराउन साझेदारी गरेको बताए ।  हाम्रो उद्देश्य भनेको यस्तो क्षेत्रमा सहुलियतपूर्ण ऋणका लागि सहजीकरण गरेर मानवीय मर्यादा कायम गर्नु पनि हो । यसैका लागि हामीले खुम्बु क्षेत्रका ट्रेकिङ गाइडका लागि प्रभु बैंकसँगको सहकार्यमा काम गरेका हौं, उनले भने ।

बैंकले विना धितो ३.५ प्रतिशतमा ऋण उपलब्ध गराएको हो । बैंकले ऋणको किस्ता ६ महिनापछि तिरे हुने सुविधा पनि दिएको छ । यसअघि शिक्षक, टेम्पो चालकलाई ऋण उपलब्ध गराएको बैंकले अब सडकमा सानो व्यवसाय गर्ने र शैलुन पसल गर्ने व्यवसायीलाई ऋण दिन आइडिया स्टुडियोसँग रिसर्च गरिरहेको छ ।