झिँगामा भविष्य खाेज्नेहरू, जसले बनाउँदै छन् औषधि

Posted on Posted in Uncategorized

उनीहरूले झिँगामा जीवनकाे सफलता सपना देखेका छन्, जसलाई साकार पार्न कहिले कालीमाटीमा कुहिएको फोहर उठाउँदै गरेकाे भेटिन्छन् त कहिले सडक किनारका फोहर उधिन्दै गरेका देखिन्छन् ।

झिंगाको आहाराका लागि फोहोर खोज्दै ग्रिन फंगी बायोटेक प्रालिका संचालक हिरेन्द्र जोशी
झिँगाको आहाराका लागि फोहर खोज्दै ग्रिन फंगी बायोटेक प्रालिका संचालक हिरेन्द्र जोशी

बायोटेक विषयमा स्नातक गर्दै गरेका उनीहरू बालाजुको जीतपुर फेदीमा फार्म खोलेरै झिँगाकाे खेती गरिरहेका छन् । जहाँ उनीहरूले ९ हजारभन्दा धेरै झिँगाका लार्भा विकास गरिरहेका छन् ।

गफ गर्दा फुरेको आइडिया 

काठमाडौंको शान कलेजमा अध्ययनरत हिरेन्द्रले दुई वर्षअघि रेड एक्स नामक ग्रुपमा साथीहरूसित गफ गर्दा ब्ल्याक सोल्जर फ्लाई शब्द सुने । नेपालमा बिरलै प्रयोग हुने भएकाले उनका लागि यो शब्द नयाँ थियो । यसपछि उनले युट्युबमा शब्द र यसकाे अर्थबारे खाेजे । थाहा पाए, आफ्नै गाउँघरमा पाइने झिँगा रहेछ । अनि त्यसबाट अथाह प्रोटिन निकाल्न सकिने रहेछ ।

हिरेन्द्र भन्छन्, ‘झिँगाबाट प्रोटिन निकाल्न सकिने थाहा पाएपछि त्यसकाे खोजी गर्न थाल्यौँ । सँगै प्रोटिन आवश्यक क्षेत्रमा फिल्ड भिजिट गर्‍यौँ । त्यहाँ जाँदा सोही प्रोटिनको अभावमा सयौँ किसानले व्यावसायिक लाभ लिन नसकेको भेट्याैँ ।’

धेरैको समस्या प्रोटिनयुक्त र गुणस्तरीय दानाहरू नपाउनु  थियो । उनीहरूले हरेक वर्ष नयाँ प्रकारको रोगले एकै पटकमा सयौँ कुखुरा मर्ने गरेको पनि थाहा पाए ।

फिल्ड भिजिटमा हिरेन्द्र जोशी
फिल्ड भिजिटमा हिरेन्द्र जोशी 

किन भनेर खोज्दै जाँदा अधिकांशको दानामै समस्या देखियो । उनी भन्छन्, ‘विदेशबाट दाना भित्र्याउँदा महँगो पर्नुका साथै गुणस्तर निकै खस्केको पाइयो । गुणस्तर भनेको प्रोटिन कति छ भन्नु नै हो । यता झिँगामा पर्याप्त प्रोटिन थियो, उता प्रोटिनको अभाव । अनि सहर भरी फोहरको डंगुर । डंगुरभरी प्रोटिन बोकेका झिँगाहरू । यी तिनै समस्यालाई किन अवसर नबनाउने, किन फ्युजन गरेर पैसा नकमाउने ?’

हिरेन्द्रले भिजिटबाट फर्केर आउँदै गर्दा बाटाभरी फोहरको डंगुर देखे । सोचे – हामीसंँग यी तीनै समस्याको व्यवस्थापन गर्ने उपाय छैन ? यिनै फोहरलाई मोहोर बनाउन सकिँदैन ?

समस्या बुझ्न गएका उनी व्यवसाय गर्ने उपाय लिएर फर्किए । किसानको समस्या गुणस्तरहीन दाना नै थियो । जसले गर्दा विभिन्न रोगको सामना गर्नुपर्ने थियो । अनि गुणस्तरहीन दानामा प्रोटिनको कमी । प्रोटिनले नै कुखुरालाई स्वस्थ्य र छिटो बढाउने गर्दथ्यो । सडकमा देखिएको फोहर, फोहरमा भन्किएका झिँगा, झिँगामा पाइने प्रोटिन र किसानको समस्या यी तीनै कुरालाई फ्युजन गर्ने व्यावसायिक आइडिया थियो ब्ल्याक सोल्जर फ्लाईको व्यवसाय ।

यसरी लामो समय ल्याबदेखि फिल्डसम्म अध्ययन गरेर उनले आफ्नै दुई जना सहपाठीसँगको सहकार्यमा व्यवसायमा हात हाले । झिँगा र फोहरको नाम सुन्नेबित्तिकै नाक खुम्च्याएका परिवारलाई मनाएर उनीहरूबाट लगानी झार्नु सहज थिएन ।

हिरेन्द्र भन्छन्, ‘बायोटेक पढाएको छोरो ठूलै मान्छे बन्छ, इज्जत बढ्छ भन्ने सोच्ने मेरो परिवार, छोरो झिँगा खोज्न फोहरको डंगुरमा दिनभर रुमलिँदा नकराउने त कुरै भएन । कति पटक पागलपन छोड जागिर गर, भविष्य बना भने पनि । म भने फोहरमै रमाइरहेँ । झिँगा खोजिरहेँ ।’

उनी परिवारसँग लड्दै अध्ययनमा लागे । नभन्दै परिवारले उनको कुरा मान्यो र लगानी गर्न पैसा दिन राजी भयो । उता सुष्माले पनि लगानी गर्ने पैसा जुटाइसकेकी थिइन् । यसरी आजभन्दा २ वर्षअघि हिरेन्द्र र सुष्माको तीन लाख लगानीमा व्यवसाय सुरु भयो ।

लगानी गरे पनि तत्काल आम्दानी नहुने हुँदा सहायक व्यवसायका रूपमा उनीहरूले टमाटर, च्याउ र मौसमी खेती पनि सुरु गरे । बायोटेक पढ्न पठाएका छोराछोरी फोहर, झिँगा र टमाटरमा रमाउन थाले । टमाटरबाट कमाएको पैसा झिँगामा खन्याउन थाले । यसरी २ वर्षमा फार्ममा टमाटरसँगै ९ हजार झिँगाका लार्भाहरू विकास भइरहेका छन् भने व्यावसायिक पूँजी पनि ३ लाखबाट २० लाखमा पुगिसकेको छ ।

कसरी पालिन्छ झिँगा ?

नेपालमा झिँगाका अण्डा पाइँदैनन् । तर्सथ यो विदेशबाट प्रतिकिलोको हिसाबमा मगाउनुपर्ने हुन्छ । हिरेन्द्रले पनि भारतबाट एक किलो झिँगाका अण्डा २२ सय रुपैयाँमा मगाए । लामो यात्राका कारण झण्डै ३० प्रतिशत अण्डा काम नदिने भइसकेको थियो । बाँकी ७० प्रतिशतलाई उनले बालाजुको जीतपुरफेदीमा फार्म बनाएर लार्भाको रूपमा विकास गर्दै छन् ।

उनी भन्छन्, ‘झिँगा बन्दकोठमा पालिन्छ । बाहिरको मौसम अनुकूल नबन्दा तापक्रम मिलाएर पालिन्छ । अण्डाबाट लार्भा हुन १५ दिन लाग्छ । यसरी निस्किएको लार्भालाई झिँगाको रूपमा विकास गरेर पुनः अण्डा पार्नयोग्य बनाइन्छ । यसबीचमा ब्रिडिङ गराउनेबाहेकका लार्भाबाट प्रोटिनको सप्लिमेन्ट र पशुपक्षीका लागि दाना बनाउन सकिन्छ ।’

यसरी पठाइने सप्लिमेन्टलाई कुखुरा, बंगुरजस्ता पशुपक्षीमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भने दानाका रूपमा पनि प्रयोग गर्न सकिन्छ। हिरेन्द्रका अनुसार यस प्रकारको दानाले पशुपक्षीलाई स्वस्थ्य राख्न र छिटो बढ्न सहयोग पुर्‍याउँछ ।

फार्ममा उत्पादन हुने लार्भामा प्रोटिनको मात्रा अत्याधिक हुने गर्दछ । जसले पशुलाई चाहिने प्रोटिनको अभाव हल गर्न सक्छ । अहिले विदेशबाट मात्रै आयात हुने गरेको छ । वार्षिक रूपमा प्रोटिनयुक्त खानाका लागि किसानको करोडौँ रुपैयाँ विदेसिने गरे पनि नेपालमै उत्पादन भने कसैले गरेका छैनन् ।

नेपालमा बर्सेनि नयाँ रोगका कारण हजारौँको संख्यामा कुखुरा मरेका छन् । यही बाध्यतालाई अवसरको रूपमा ढाल्न लागिपरेका यी युवाले आफू मात्रै नभएर किसानलाई पनि झिँगा व्यवसायी बनाउन लागेको उनीहरूको भनाइ छ ।

जसका लागि पहिलो चरणअन्तर्गत आफैँ फार्ममा काम गरिरहेका छन् । फार्म सफल बनेसंँगै फार्मबाट उत्पादन भएको झिँगाका अण्डा  देशका विभिन्न भागमा रहेका किसानसम्म पुर्‍याएर व्यवसाय गर्न सिकाउने उनीहरूको योजना छ । कसरी गर्ने भनेर तालिम दिनुका साथै उससम्बन्धी कन्सल्ट्यान्टसमेत राखेर किसानलाई पनि झिँगा व्यवसायी बनाउने उनीहरूको सोच छ ।

भर्खर जुंगाको रेखी बस्दै गरेका हिरेन्द्रको योजना भने निकै ठूलो र पाको देखिन्छ । उनी अहिलेदेखि नै लामो यात्रा तय गर्न लागिपरिरहेका छन् । उनी आफ्नो योजना सुनाउँछन्, ‘चारदेखि पाँचवटा ठूलो फार्म बनाएर किसानलाई झिँगा व्यवसायी बनाउने तयारीमा छौँ । आफूहरूले नै अण्डाको व्यवस्थापन र व्यावसायिक तालिम दिन्छौँ र उनीहरूबाट उत्पादन भएका लार्भा पनि हामीले नै खरिद गछौँ ।’

यसरी ठूला परिमाणमा लार्भा खरिद गरेर प्रोटिन सप्लिमेन्ट बनाउनुका साथै दाना पनि नेपालमै उत्पादन गर्ने उनको योजना छ ।

यसरी छानिन्छ प्रोटिनयुक्त झिँगा

झिँगाको प्रजाति धेरै हुन्छन् तसर्थ सबैमा प्रोटिनयुक्त पदार्थ हुन्छन् भन्ने हुँदैनन । तर यो ब्ल्याक सोल्जर फ्लाईमा भने ६० प्रतिशतभन्दा धेरै प्रोटिन हुन्छ । सो झिँगा सामान्यतया फोहरमा भेटिन्छ । सफा ठाउँमा पनि भेटिने कालो रङको झिँगा र यो झिँगा हेर्दा उस्तै देखिने भए पनि सामान्य झिँगामा प्रोटिनको मात्रा निकै कम हुन्छ । तर्सथ कुहिने प्रकारका फोहरमा यस प्रजातिको झिँगा र यसका लार्भाहरू भेटिने गर्दछन् ।

यो विशेषगरी इन्डोनेसिया, मलेसियालगायतका देशमा बढी पाइन्छ । मौसम अनुकूल भएकै कारण सो ठाउँमा बाह्रै महिना पाल्न सकिन्छ । तर, नेपालमा भने त्यो अवस्था छैन । यहाँ वसन्त याममा मात्र पाल्न सकिन्छ । किनभने यस प्रजातिको झिँगा न्यूनतम २० डिग्री सेल्सियसदेखि ३० डिग्री सेल्सियससम्म मात्रै बाँच्छ । त्यसैले बाह्रै महिनाका लागि पाल्नका लागि तापक्रम भने व्यवस्थापन गर्नु पर्छ ।

हिरेन्द्र आइडिया स्टुडियो सिजन ५ का प्रतिस्पर्धी हुन् । उनले झिँगाको व्यवसाय नामक विषयमा आइडिया स्टुडियोमा प्रतिस्पर्धा गरिरहेका छन् । हिरेन्द्रजस्तै नयाँ सोच र व्यवसाय गर्दै र गर्ने सोच भएका ३४ जना प्रतिस्पर्धीहरूलाई आइडिया स्टुडियोले व्यावसायिक प्रशिक्षणसमेत दिँदै आएको छ ।