Idea Studio Nepal

वायोमेडिकल इन्जिनियरिङ पढेका सोनाम, जो गार्मेन्टको टुक्रामा भविष्य खोज्दैछन् | Featured on capitalnepal.com

काठमाडौं । स्टार्टअप बिजनेसमा भविष्य खोज्ने युवाहरू धेरै छन् । कति सफल हुन्छन् त कति बीचमै छोडेर पलायन पनि हुन्छन् । तिनै भविष्य खोज्ने युवा भित्रका एक हुन् सोनाम लिम्बू ।

इलाम स्थायी घर भएका २९ वर्षीय लिम्बू अहिले काठमाडौंमा बस्दै आएका छन् । वायोमेडिकल इन्जिनियरिङको अध्ययन गर्दै आएका लिम्बू घरमा बस्दा हातले विभिन्न सामग्रीहरू बनाउँदै आएका थिए । केही समय अस्पतालमा काम गरेका लिम्बूले गत वर्षको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलनुअघि थप अध्ययनका लागि भन्दै जागिर छोडेका थिए ।

एक्कासि संक्रमणको दर बढेसँगै सरकारले लकडाउन (बन्दाबन्दी) गरेपछि उनले थप अध्ययन गर्न भने पाएनन् । तर, उनको उद्यमशीलताले भने प्रस्फुटन हुने मौका मिल्यो । त्यसो त उनी पहिले अस्पतालमा काम गर्दा पनि आफ्नो सोखको रूपमा विभिन्न डिजाइनका कपडाहरू बनाउने गर्थे ।

विशेष गरेर खेर गएका कपडाका र गार्मेन्टका टुक्राबाट विभिन्न डिजाइनका सामग्रीहरू बनाउँदै आएका लिम्बूलाई लकडाउनले भने आफ्नो इच्छा र चाहनालाई व्यावसायिकतामा ढाल्ने मौका मिलायो  ।

बन्दाबन्दीमा त्यतिकै घरमा बस्नुभन्दा आफ्नो सोख र चाहनाअनुसारको कामलाई निरन्तरता दिन थाले । अहिले उनले बनाएका विभिन्न कपडाहरू विवाह, पार्टी र विभिन्न समारोहमा पुगिसकेको छ । उनले अर्डरअनुसार मात्र काम गर्दै आएका छन् ।

आफूले मात्र नभ्याउने भएकाले दुई जनालाई रोजगारीसमेत दिएर राखेका छन् । उनको अहिले सबैभन्दा बढी अर्डर आउने भनेकै विवाहको हो । सुरुमा चिनेजानेका र साथीभाइबाट अर्डर आउने गरेकामा अहिले भने विस्तारै बाहिरबाट पनि अर्डर आउन लागेको उनी बताउँछन् ।

कुनै व्यवसाय सुरु गर्नु छ र आफू भित्र दृढ संकल्प छ भने पैसाकै कारण रोकिन्छ भन्ने हुँदैन । उनी भन्छन्, ‘मैले शुन्य लगानीबाट व्यवसाय सुरु गरेको हुँ ।’ ‘जागिर खाँदै गर्दा अलि–अलि बचेको पैसाले अर्डर आएपछि सामान ल्याउँथे र त्यही बेचेको सामानले अर्को सामान जोड्थे,’ लिम्बूले भने एउटा–एउटा सामान जोड्दै उनले आफूलाई आवश्यक सामग्रीहरू जोडिसकेको छु ।’

खाली कोठाबाट सुरु गरेको व्यवसायले अहिले विस्तारै गति समाउँदै गएकोमा उनी आफैं दंग छन् । यसको आउटलेट भने छैन । उनले अनलाइनमार्फत नै अर्डर लिने र बिक्री गर्दै आएका छन् ।

यसमा कुनै अध्ययनभन्दा पनि आफ्नो रुचि सानैदेखि रहेकाले बनाउन सुरु गरिएको हो । आफ्ना लागि र परिवारका लागि बनाउँदै गएको उत्पादन अहिले व्यावसायिक रूपमा अगाडि बढाउन चाहिरहेका छन् ।

उनी आफ्नो व्यवसायसँगै वातावरण प्रदूषण रोक्नसमेत प्रयासरत छन् । उनी भन्छन्, ‘गार्मेन्ट उद्योगले धेरै टुक्राहरू खेर फालिरहेको हुन्छ, जुन वातावरणका लागि पनि हानिकारक हुन्छन् । त्यस्ता खेर गएका टुक्राहरूलाई १०० प्रतिशत नै प्रयोगमा ल्याउन सकिन्छ र प्रयोग समेत गर्दै आएको छु ।’

हातले बुन्ने भएकाले सा–साना टुक्राहरू धेरै आवश्यक पर्छ । त्यसका लागि सामान खरिदमा कोभिडको बन्दले गर्दा समस्या भयो । तर, त्यही बेला उनको दिमागमा अर्को आइडिया आयो कि पहिला खेर फालिएका टुक्राटुक्रा कपडाहरूबटै लर्टकन, एयर रिङ्स, साना–साना ब्यागहरू बनाउन लागे ।

यसरी हेर्दा गार्मेन्टमा खेर जाने टुक्राटुक्रीहरूलाई पूरै प्रयोग गर्न सकिन्छ भन्ने लागेर त्यसमा लागेको हुँ, जसले गर्दा वातावरणमा पनि कुनै नोक्सानी भएन’ लिम्बूले भने ।
उनले उत्पादन गरेका सामग्रीहरू १५०० देखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।

जस्तो किसिमको अर्डर आयो त्यही किसिमको बनाउने गरेका छन् । उनले अहिलेसम्म १५ देखि ४० हजार रुपैयाँसम्मको बिक्री गरेका छन् । केहिले भने ७० हजार रुपैयाँसम्मको पनि अर्डर लिएर बनाएका छन् । उनले काठमाडौंको इन्द्रचोक र असनबाट कच्चापदार्थहरू ल्याउने गरेका छन् ।

उनी आइडिया स्टुडियोले सञ्चालन गरेको सिजन ५ का आइडिएटर पनि हुन् । त्यहाँ जानुको मुख्य उद्देश्य भनेको आफ्नो आइडियालाई कसैले मन पराइदिएर ठूला लगानीकर्ताहरूसँग साझेदारी बन्न सकिन्छ कि भन्ने रहेको उनको भनाइ छ ।

उनले त्यहाँ सोनाम वेवर्ससँगै ‘लेट्स गो टुगेदर’ को अवधारणासमेत पेश गरेका छन् । यसमा आफू पनि बिजनेस गर्ने र अरूलाई पनि रोजगारी दिने भन्ने हो । यसले पार्टटाइम जागिर गरेर कलेज पढ्छु भन्नेलाई पनि ठूलो राहत मिल्छ भन्ने सोच रहेको छ ।

Scroll to Top