Idea Studio Nepal

कृषिमा युवाहरूका मौलिक योजना : माटोबिनै साग फलाउनेदेखि झिँगाबाट औषधि बनाउनेसम्म

– सम्झना घिमिरे 

नेपालमा हरेक वर्ष अर्बौं रुपैयाँबराबरको तरकारी आयात हुँदै आएको छ । हरियो सागदेखि मौसमी तथा बेमौसी तरकारीसम्म हामी भारत र चीनकै भरमा छौँ भन्दा फरक नपर्ला । सरकारले पनि हरेक वर्ष कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट छुट्याउँदै आएको छ । उब्जनी बेच्न नपाएर बिचौलियाको मारमा परेका किसान र उपभोक्ताको पीडा ज्युँका त्युँ छ । कृषिप्रति युवाको निराशापन र बढ्दो विदेशमोहले पनि कृषि पेसा थप धरापमा पर्दै गएको छ ।

तर, यस्तो मनस्थितिलाई चिर्दै केही युवाहरू भने कृषिलाई नयाँ रूप दिन लागिपरिरहेका छन् । जसले उत्पादनदेखि बजारीकरणसम्मका आ–आफ्ना योजना लिएर आइपुगेका छन् आइडिया स्टुडियो सिजन–५ मा ।

वैज्ञानिक प्रविधिबाट उत्पादनदेखि बजारीकरण गर्नेसम्मका योजना लिएर आएका युवाहरूमा कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने खुराक छ । जसमा माटोबिना पनि खेती गर्न सकिने योजना पल्लवीले ल्याएकी छिन् भने छतमा लटरम्म तरकारी फलाएर राम्रो आम्दानी गर्ने योजनामा छिन् प्रलिशा अधिकारी । प्रलिशा र पल्लवीको योजनालाई सार्थक बनाउन लागिपर्दैछन् हेमन्तराज अवस्थी । जो अर्ग्यानिक उत्पादनका लागि चाहिने मल उत्पादन गर्न लागिपरिरहेका छन् । त्यस्तै, अञ्जना भने तिनै खेतीबाट उत्पादन भएका उब्जनीलाई पनि तपाईं/हाम्रो हातहातमा पुर्‍याउन लागिपर्दैछिन् ।

माटोबिनै गर्न सकिन्छ खेती

माटोबिना पनि खेती गर्न सकिन्छ भन्ने नौलो उदाहरण लिएर आएकी छन् पल्लवी गुरागाईं । हाइड्रोपोनिक प्रविधिबाट उनले माटोबिनै थुप्रै हरिया सागहरू उत्पादन गरेर बजारमा समेत पुर्‍याइसकेकी छन् । विशेषगरी सलादमा विषादीयुक्त हरिया सागपात प्रयोग हुने र त्यसले मानव शरीरमा असर पुर्‍याउने हुनाले पनि पल्लवी अर्ग्यानिक सलाद तयार पार्न तल्लीन भएको बताउँछिन् ।

घरैघरले भरिएको काठमाडौँमा पनि पल्लवीको ‘अर्वान फार्म’ले भने तपाईंलाई अर्ग्यानिक तरकारी तथा सलादको स्वाद चखाउँछ । अझ रोचक कुरा त तपाईंकै छतमा फलाइदिएर तपाईंलाई नै सो उब्जनी वितरण गरिदिन्छ ।

यसरी घरमै माटोको प्रयोगबिना अर्ग्यानिक खेती गर्ने ‘अर्वान फार्म’ घरघरै पुगेर खेती गर्ने तरिकाको प्रशिक्षण दिनुका साथै चाहिने उपकरणहरूको जडान पनि गरिदिँदै आएको छ । माटो बोक्ने झन्झट र रासायनिक मलको प्रयोग गर्नुपर्ने बाध्यताबिना नै सजिलै छतमै उत्पादन गर्न सकिने हुनाले पनि पल्लवी घरघरमा अर्ग्यानिक खेतीमा वर्तमान मात्रै होइन, भविष्य पनि देख्छिन् ।

सोही विश्वासमा पल्लवीले नौ महिनादेखि आफ्नै फार्म खोलेर सञ्चालनमा ल्याइसकेकी छन् । पल्लवीले १२ लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेकी हुन् । हाल उनी आफूसँगै अर्ग्यानिक खेती गर्न चाहनेहरूलाई पनि व्यवसायी बनाउन लागिपरिरहेकी छिन् ।

छतमै तरकारी फलाइदिने मेट्रो खेती

लमजुङकी प्रलिशा अधिकारीले तपाईंकै छतमा तरकारी लटरम्म फलाइदिएर तपाईंलाई नै दिन सक्छिन् । अझ रोचक कुरा त तपाईंको छतको साँघुरो क्षेत्रमा पनि वर्षभरि पुग्ने तरकारी कसरी फलाउने भनेर पनि तपाईंलाई सिकाउँछिन् ।

आइडिया स्टुडियो सिजन– ५ को डिल राउण्डमा यस्तै आइडिया लिएर आइपुगेकी छिन् प्रलिशा । मेट्रो खेतीकी सह–संस्थापक रहेकी प्रलिशा काठमण्डौंका घरका छतमा लटरम्म तरकारी फलाउन लागिपरिरहेकी छिन् । कोरोनाको समयमा तरकारी खरिदका क्रममा संक्रमण बढेसँगै उनले घरमै कौसीखेती गर्ने योजनाका साथ डेढ वर्षअगाडि मेट्रो खेतीको सुरुवात गरेकी हुन् । अहिले मेट्रो तरकारीले कौसीखेती गर्न चाहनेहरूका लागि उनीहरूको घरमै पुगेर खेती गर्ने तरिका र उपकरणहरू जडान गर्दै आएको छ ।

प्रलिशा यसरी घरमा पुगेर खेती गर्ने तरिका र उपकरण जोड्न भने ६० हजार खर्च लाग्ने बताउँछिन् । उनी भन्छिन्, ‘तपाईंले सुरुमा ५० हजार लगानी गर्नुपर्ने हुन्छ । यसमा बिउबिजन नसमेटिए पनि तपाईंलाई चाहिने आवश्यक तालिम र सहजीकरण भने हामी दिन्छौँ ।’ सहजीकरणसँगै उत्पादित तरकारी उनीहरूबाटै किनेर बेच्ने व्यवस्था पनि मेट्रो तरकारीले गर्दै आएको छ ।

मेट्रो खेतीको लक्ष्य भनेकै विषादीरहित तरकारी उत्पादन हो । प्रलिशा व्यवसायका लागि थप लगानी पाउन सके पाँच वर्षभित्र ३ लाखभन्दा बढी ग्राहकलाई अर्ग्यानिक तरकारी खुवाउन सक्ने बताउँछिन् ।

गँड्यौलाबाट मल बनाउँदै टिम भर्मी

माटोमा पाइने कीरालाई कसरी माटोकै लागि प्रयोग गर्न सकिन्छ भनेर लागिपरिरहेका छन् टिम भर्मीका सञ्चालक हेमन्त अवस्थी । कृषि विज्ञानमा स्नातक गर्दै गरेका हेमन्त अहिले आफैँ फार्म खोलेर प्राङ्गारिक मल उत्पादनमा जुटेका छन् ।

नेपालमा बढ्दो रासायनिक मलको प्रयोग र त्यसले मानव जीवनमा पारिरहेको असरलाई न्यूनीकरण गर्नकै लागि टिम भर्मीको सुरुवात गरेको अवस्थी बताउँछन् । उनी भन्छन्, ‘रासायनिक मलको प्रयोग बढ्दै गएको छ । यसले हाम्रो शरीरलाई पनि हानि पुर्‍याउँछ भन्ने थाहा हुँदाहुँदै विकल्पको अभावमा हामी विषादीयुक्त मलबाट उत्पादित तरकारी खान बाध्य छौँ । यसैलाई हटाउन हामीले टिम भर्मीको योजना ल्याएका हौँ ।’

एक वर्षअघि पाँच जना साथीको सहयोगबाट सुरुवात गरेका हेमन्तले अहिले एक पटकमा १ टनभन्दा बढी भर्मी कम्पोस्ट उत्पादन गर्दै आएका छन् । यसरी गँड्यौला तथा स–साना कीराबाट बनाइने मलले माटोको मलिलोपनलाई जगाउनाले पनि यसको प्रयोग खेतीका लागि राम्रो हुने उनको भनाइ छ ।

त्यसो त टिम भर्मीले यस प्रकारको मल उत्पादन गरेर किसानसम्म पुर्‍याउन पनि थालिसकेको छ । किसानबाट राम्रो प्रतिक्रिया आएपछि भने टिम भर्मी वार्षिक ६० टन मल उत्पादन गर्ने योजनामा छन् उनी ।

विद्यार्थी जीवनमा नै व्यवसाय सुरु गरेका हेमन्त यदि आफूले लगानी पाएको खण्डमा पहिलो पाँच वर्षमा १ सय टन मल उत्पादन गर्ने र त्यसपछि वार्षिक रूपमा ६० टन मल उत्पादन गर्ने योजना रहेको बताउँछन्  ।

हेमन्त हाल वार्षिक १२ टन भर्मी कम्पोस्ट उत्पादन गरेर स्थानीय किसानलाई बिक्रीवितरण गरिरहेका छन् ।

घिरौलाको जालोबाट व्यवसाय

हाम्रै घरआँगनमा यत्रतत्र छरिएका घिरौला (लुफा) लाई व्यवसायमा उतार्दैछिन् अञ्जना मल्ल । कोरोनाकै समयमा दिगो नेपाल नामक व्यवसाय सुरु गरेकी मल्लले गाउँगाउँमा पुगेर घिरौलाको जालो संकलन गर्छिन् । र, त्यसलाई विभिन्न आकृति दिँदै बजारमा बिक्रीवितरण गरिरहेकी छन् । ३१ हजारबाट व्यवसाय सुरु गरेकी मल्ल घिरौलाको जालोको लुफा बडी स्क्रबर, कपडाका टट ब्याग, बाँसबाट निर्मित टुथब्रस, एस्ट्रे, रोटिपट, मास्कलगायतका सामान उत्पादन गर्दै आएकी छन् ।

जसअन्तर्गत लुफा खेती गर्दै आएकी मल्ल पछिल्लो समय लोकल प्रोडक्टप्रतिको ग्राहकको बढ्दो रुचिले व्यवसाय थप मजबुत बनेको धारणा राख्छिन् अञ्जना । भन्छिन्, ‘अहिले एउटा जमात खडा भएको छ, जो नेपाली मौलिकता झल्कने र पर्यावरणीय दृष्टिले उपयुक्त हुने वस्तु मात्रै प्रयोग गर्न रुचाउँछन् । त्यस्ता ग्राहकको संख्या अहिले हामीकहाँ बढेको छ ।’

व्यवसायको पहिलो चरण पार गरिसकेकी मल्ल अब भने लगानी थप्न सके उपत्यकामा मात्रै सीमित व्यवसायलाई नेपालभर पुर्‍याउन सकिने बताउँछिन् ।

मल्लसहित आइडिया स्टुडियो सिजन–५ को डिल राउण्डअन्तर्गतको ‘ग्रिनोभेसन विधा’मा भने अन्य चार सहभागीले पनि आफ्नो व्यावसायिक योजना सुनाएका छन् । जसमा आयुष देउजाले आधुनिक पेट इन्डस्ट्रीमार्फत प्लास्टिकलाई रिसाइकल गर्ने योजना ल्याएका छन् भने मनोजरत्न भुसाल पनि फोहोरबाट मोहोर कसरी कमाउने भन्ने योजना बोकेर सोलिड बेस्ट म्यानेजमेन्टमा लागिपरेका छन् । यस्तै हिरेन्द्र जोशीले झिँगाबाट औषधि बनाउन ब्ल्याक सोल्जर फ्लाई नामक व्यवसाय ल्याएका छन् भने विप्लब कार्कीले ‘वाला : फ्रम बेस्ट टु वेल्थ’ नामक व्यवसायबाट कपालबाटै उर्वरा शक्ति उत्पन्न गर्न सक्ने मल बनाउने योजना लिएर आएका छन् ।

ग्रिनोभेसन विधाअन्तर्गत आठ जना युवाले वातावरण तथा कृषिक्षेत्रसँग सम्बन्धित योजना सुनाएका थिए । जसअन्तर्गत दिगो नेपालीकी सह–संस्थापक अञ्जना मल्लले भने यो विधाअन्तर्गतको सिड इन्भेस्टमेन्ट पाउन सफल भएकी छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८, १५:४९:००

Scroll to Top