Idea Studio Nepal

प्रविधिमैत्री यी चार व्यवसाय

– दिवाकर उप्रेती 

बिहीबार, असोज १४, २०७८

 

कोरोना महामारीसँगै नेपालीहरूको जनजीवनको शैली पनि परिवर्तन भएको छ । हिजो बजारबजार डुलेर किनमेल गर्ने ग्राहकहरू आज घरभित्रै बसेर मोबाइलबाट नै किनमेल गर्ने भएका छन् । अझ अस्पताल चहार्ने बिरामीसमेत घर बसेरै उपचार गर्न सक्ने बनेका छन् । यो सबै प्रविधिको उपज हो ।

यसरी पछिल्लो एक वर्षमा नेपालमा प्रविधिले निकै फड्को मारेको छ । जनजीवनलाई सहज बनाउनकै लागि आइडिया स्टुडियो सिजन– ५ मा यस्तै चार प्रविधिमैत्री व्यावसायिक योजना बोकेर आएका छन् आश्रय अधिकारी, वैभव पाण्डे, हेमन्त नेपाल र महेश तिम्सिना ।

यी चार युवा कोरोना महामारीसँगै कोठामा साँघुरिएको जनजीवनलाई प्रविधिको माध्यमबाट बाहिर निकाल्न लागिपरेका छन् ।

 

घरमै बसेर आँखाको उपचार 

आइडिया स्टुडियो सिजन– ५ मा घरमै बसेर आँखाको उपचार सेवा दिन सक्ने योजना बोकेर आइपुगेका छन् काठमाडौँका वैभव पाण्डे ।

घरमा नै आँखाको उपचार ! झट्ट सुन्दा अनौठो लाग्ला ? तपाईंलाई मात्र होइन, स्टुडियोका निर्णायकहरूलाई पनि वैभवले आफ्नो योजना सुनाइरहँदा अनौठो नै लागेको थियो । वैभवले ‘नेत्रकार्ट’ नामक व्यवसायमार्फत बिरामीको घरमै गएर आँखाको उपचार गर्दै आएको छन् ।

नेत्रकार्टमा डाक्टरबाट परामर्श लिने मात्र नभएर नेत्रकार्टबाटै आफूलाई सुहाउने पावर भएको वा नभएको चस्मा बनाउन पनि सकिन्छ । नेत्रकार्टले विरामीहरुको घरमै पुगेर उपचार गर्दै आएको छ । यो सँगै नेत्रकार्ट नामक एपमार्फत चस्मा औषधीसमेत किन्न पनि सकिनेछ । उनले नेत्रकार्टले शल्यक्रियाका लागि पनि मातृका आँखा केन्द्रसँग सहकार्य गरिरहेको बताए ।

वैभव थप लगानी आवश्यक भएको बताएका छन् । माग बढ्दै जाँदा आफुहरुले पनि सेवालाई विस्तार गर्न सक्ने उनि बताउँछन् ।

आफ्नै कलेज 

एसईई सकिएपछि ‘अब के पढ्ने ? कुन कलेज पढ्ने ? कति खर्च लाग्छ ?’ भन्ने समस्या सबै विद्यार्थीलाई हुन्छ । यी यावत जानकारी लिन विद्यार्थीले आफैँ विभिन्न क्याम्पसहरूमा भौँतारिनुपर्छ । काठमाडौँका आश्रय अधिकारी पनि यही समस्याबाट गुज्रिए । उनले पनि अब के पढ्ने, कहाँ पढ्ने भन्ने प्रश्न बोकेर विभिन्न क्याम्पसहरूमा धाए । आफूले क्याम्पस धाउँदा पाएको दु:ख सम्झिँदै अधिकारी भन्छन्, ‘मैले दु:ख पाएँ, अब अरुले नपाऊन् ।’ उनले रातो बङ्गलामा १२ कक्षामा अध्ययन गर्दागर्दै ‘आफ्नै कलेज’ नामको नयाँ वेबसाइट बनाए ।

उनले बनाएको ‘आफ्नै कलेज’बाट विद्यार्थीहरूले आफूले पढ्न चाहेको विषय, क्याम्पस र खर्च सबै विवरणसम्बन्धी जानकारी एउटै वेबसाइटमा नै पाउन सक्छन् ।

उनी भन्छन्, ‘हरेक शैक्षिकसत्रको अन्त्यमा उच्च शिक्षाका लागि नेपालका विभिन्न जिल्लाबाट विद्यार्थीहरू काठमाडौँ आउँछन् । यसरी आउने विद्यार्थीहरू राम्रो र सुविधाजनक शिक्षाका लागि भौँतारिनुपर्ने अवस्था छ ।’ अधिकारी विद्यार्थीको यही समस्या सामाधान गर्न ‘आफ्नै कलेज’ सुरु गरेको बताउँछन् ।

आश्रयको यो सोचले गर्दा विद्यार्थीहरूले आफूले रोजेको कलेजको पढाइ शुल्क, सुविधा र शैक्षिक वातावरणका बारेमा थाहा पाउन सक्ने भएका छन् । उनले बनाएको सो वेबसाइटबाट विद्यार्थीले कलेज भर्नासमेत गर्न सक्छन् ।

त्यति मात्र नभएर वेबसाइटबाट आफूले रोजेको कलेज वा विषयबारे थप जानकारीका लागि सम्बन्धित व्यक्तिबाट परामर्शसमेत लिन सक्नेछन् ।

सजिलो यात्रा–सजिलो टिकट

यात्रा गर्दा टिकट नपाएर वा टिकट लिन लाइनमा घण्टौँ बस्नुपरेको छ ? यस्तो सास्ती तपाईं/हामी सबैले दैनिक जीवनमा भोगिनै रहेका हुन्छौँ ।

यही समस्यालाई समाधान गर्न ‘सजिलो यात्रा’ नामक व्यावसायिक योजना लिएर आएका छन् झापाका हेमन्त नेपाल ।

अनलाइन बस टिकट बुकिङ कम्पनी सुुरु गरेका उनले बस व्यवसायी र टिकट काउण्टरसँग सहकार्य गरिरहेका छन् । जसको मद्दतबाट ग्राहकहरूलाई सहजै टिकट उपलब्ध गराउँदै आएको सजिलो यात्राले एप पनि सञ्चालन गरिरहेको छ ।

एपमा जीपीएस ट्र्याकिङको सुविधा पनि राखिएको छ । जसले कुन बस कहाँ छ, सेवाग्राही भएको स्थानमा आइपुग्न कति समय लाग्छ ? कति यात्रु छन्‌लगायतका जानकारी पनि दिनेछ ।

घरको डाक्टर

घरको पनि डाक्टर हुन्छ । समय–समयमा घरलाई पनि उपचार गर्नुपर्छ भन्ने तपाईं/हामीलाई थाहा नहुन सक्छ । घरलाई कहिले निरीक्षण गर्ने ? कसरी बनाउने ? पुनर्निर्माण गर्नुपर्ने भए कसरी गर्नेलगायतका सम्पूर्ण सेवा ‘स्किल सेवा’ नामक कम्पनीले दिँदै आएको छ ।

आइडिया स्टुडियोको यो एपिसोडमा बानेश्वर निवासी महेश तिमल्सिना र रामशरण विक्रम थापाले घरको उपचार गर्न ‘स्किल सेवा’ सञ्चालनमा ल्याएका हुन् ।

महेश भन्छन्, ‘घर निर्जीव भए पनि यसको निरीक्षण निकै आवश्यक छ । घर सञ्चालन गर्ने पनि एउटा प्रणाली हुन्छ । त्यो प्रणालीलाई मजबुत बनाउन घरको समस्यालाई निराकरण गर्नुपर्छ ।’

नेपालमा घरको समस्यालाई प्राविधिक तहमा निराकरण गर्ने प्रणाली छैन । त्यही कुरामा अध्ययन गरी तिमल्सिना र थापा लागिपरिरहेका छन् । तीन जना सह–सञ्चालक र १७ जना कर्मचारीसहित कार्य सम्पादन गर्दै आएको ‘स्किल सेवा’ले दैनिक ज्यालादारीमा काम गर्ने ६० जनालाई रोजगारी दिँदै आएको छ ।  महेश भन्छन्, ‘सबै इन्जिनियर र ओभरसियर हुन् ।’

स्किल सेवाले पूर्ण घर निरीक्षण, घरको मर्मत र घर किन्दा चाहिने सल्लाह दिँदै आएको छ । जसमा ग्राहकलाई २ हजारदेखि २० हजार रुपैयाँसम्मको प्याकेज छ । यो नयाँ र नेपालमा नौलो व्यवसाय भएकाले यसमा राम्रो व्यवसाय गर्न सकिनेमा तिमल्सिना र  थापा ढुक्क छन् ।

माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउण्डमा आइपुगेका योजना हुन् । यो राउण्डमा माथि उल्लेखित चारसहित अन्य तीन जनाले पनि प्रविधिमैत्री योजना सुनाएका छन् । जसमा अनलाइन शिक्षा दिने एआर क्लास, लोकसेवा तयारीका साधै विभिन्न विषयमा घरबाटै ट्युसन लिन सकिने एमसीक्यूहल डट कम र सस्तोमा वेबसाइट बनाउने येल्को डट कम नामक योजना प्रस्तुत भएका छन् । जम्मा सातवटा व्यावसायिक योजनामध्ये नेत्रकार्ट नामक योजनाले भने उत्कृष्ट व्यवसायको रूपमा बिउपुँजी पाउन सफल बनेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८, १७:४३:००

Scroll to Top