Idea Studio Nepal

युवाको सोचलाई प्रविधिको साथ

– दिवाकर उप्रेती 

| आइतबार, असोज १७, २०७८

 

देशमै केही गर्छु भनेर भौँतारिइरहने युवाहरूका लागि प्रविधि ठूलो वरदान सावित हुन सक्छ । कोभिडसँगै थिलथिलो  भएको बजार अझै उठ्न सकेको छैन । तर, बजार कोरोनाले धराशयी भइरहँदा केही युवाहरू भने सोचलाई प्रविधिसँगै जोड्दै व्यावसायिक फड्को मार्न तल्लीन छन् ।

आज हामीले यी र यस्तै प्रविधिमैत्री व्यावसायिक सोच बोकेर आइडिया स्टुडियो आइपुगेका तीन प्रतिस्पर्धी र उनीहरूको व्यावसायिक योजना प्रस्तुत गरेका छौँ ।

बालबालिकालाई ‘एआर’ कक्षा

बालबालिकाहरूलाई खेलाउँदै पढाउने सोच बनाउनुभएको छ ? छ भने तपाईंले एआर कक्षाको प्रयोग गर्नैपर्छ । नेपालमै पहिलो पटक प्रविधिको माध्यमबाट तपाईंले बालबालिकालाई ‘थ्रीडी’ दृश्यको प्रयोगले पढाउन सक्नुहुनेछ ।

अन्सु टेक्नोलोजीको ‘एआर कक्षा’को प्रयोगात्मक प्रयोगले बालबालिकालाई श्रव्यदृश्यको माध्यमबाट पढाउन सकिन्छ । यो प्रविधिको विकास भने बुटवलनिवासी प्रनिल जिसी र नवीन थापा मगरले गरेका हुन् । उनले बालबालिकालाई सिर्जनात्मक बनाउन ‘एआर कक्षा’ नामक डिजिटल कक्षा सञ्चालनमा लिएर आएका छन् ।

प्रनिल भन्छन, ‘बालबालिकालाई सिर्जनशील बनाउन र श्रव्यदृश्यको माध्यमबाट सिकाउँदा रचनात्मक पनि हुने भएकाले यसको प्रयोग गरेका हौँ ।’

अन्सुले यो प्रविधि हाल प्ले ग्रुप र नर्सरी कक्षाका बालबालिकाहरूका लागि प्रयोग गर्दै आएको छ । जहाँ १५ विद्यालयमा यो प्रविधिबाट पढाइ सुरु भइसकेको छ । अन्सुले आफैँ पुस्तक पनि तयार गर्छ । जसबाट किताबमा रहेको फोटोलाई एपको माध्यमबाट ‘थ्रीडी’ रूपमै पढाउन सकिन्छ ।

प्रविधिको माध्यमबाट श्रव्यदृश्यको रूपमा पढाउन सकिने भएकाले अन्सुको व्यवसाय राम्रो हुनेमा दुवै सन्तुष्ट छन् ।

विद्यार्थीको सारथि ‘एमसीक्यू हल डट कम’

पढाइको शृंखलासँगै युवा विद्यार्थीहरूको कठिनाइ पनि बढ्दै जाने गर्छ । १० कक्षा सकिनासाथ ११ कक्षा का लागि कलेज प्रवेश परीक्षा वा १२ कक्षा सकिनासाथ लोकसेवा वा अन्य प्रतिस्पर्धी कोर्सहरू गर्न इच्छुकले भौँतारिइरहनु पर्दैन । त्यसको विकल्पको रूपमा एमसीक्यू हल डट कममा यी सबै तयारी कक्षा उपलब्ध छन् ।

नवलपुर गौडाकोटनिवासी सागर भुसालले प्रविधिको माध्यमबाट सम्पूर्ण खालको तयारी कक्षा सिक्न एमसीक्यू हल डट कम सञ्चालन गरेका छन् । घरमै बसेर सबै खालको तयारी गर्न मिल्ने यो वेबसाइटले विद्यार्थीको समयको उपयोगसँगै अन्योल पनि मेटाउनेछ ।

आफू काममा हुँदा होस् वा परिवारसँग वेबसाइटमा जुनसुकै बेला पनि आफ्नो कक्षा तयारी गर्न सकिन्छ । उनी भन्छन्, ‘यो वेबसाइटबाट विद्यार्थीले जुनै बेला पनि जुनसुकै समयमा पनि तयारी गर्न सक्छन् ।’

अनलाइन कक्षा, लाइभ मोक टेस्ट, फुल सिलेबसमा आधारित परीक्षा सेट, प्राक्टिस सेट, डिजिटल नोट, दैनिक टेस्ट, डिस्कसन फोरम तथा अन्य तयारी सामग्री, शिक्षक र प्रकाशनलाई एउटै मञ्चमा पाउन सकिन्छ । सागर भन्छन्, ‘पठन प्रक्रियामा दिनदिनै प्रतिस्पर्धीहरू बढ्दै गएका छन् । त्यसमा सफलता हासिल गर्न यो वेबसाइटले पूर्ण रूपमा मार्गदर्शन गर्नेछ ।’

तयारी मात्र नभएर विद्यार्थीहरूले नजानेका, नबुझेका कुराहरू सिक्न पनि ‘एमसीक्यू हल डट कम’ले शिक्षकसँग सिधा जोड्ने गरेको छ । विद्यार्थीलाई सरल र सुलभ तहबाटै यो सिकाइले लाभ हुनेमा सागरसँगै आइडिया स्टुडियोका जजहरू पनि  विश्वस्त छन् ।

एल्कोको योजना

भरतपुर चितवनका उज्ज्वल खनाल र पवन भट्टले सस्तोमा वेबसाइट बनाउँदै  आएका छन् । कोभिड संक्रमण सुरु भएसँगै नेपालमा ई–कमर्सले राम्रै फड्को मार्न सफल बन्यो । नेपालीको हातहातमा अनलाइन सपिङ साइटको पहुँच बढेसँगै वेबसाइट बनाउने कम्पनीको माग पनि अत्यधिक चुलिन पुग्यो ।

धेरै खर्च लाग्ने र प्रयोग गर्न पनि नसक्ने भन्दै भौतिक व्यापारमा नै खुम्चिन पुगेका व्यवसायीलाई लक्षित गर्दै एल्कोले यो योजना अघि सारेको हो । जसमा सस्तो दरमा सजिलै व्यवसायीको वेबसाइट बनाउनुका साथै प्रयोग गर्न पनि सिकाइन्छ ।

उनी भन्छन्, ‘प्रयोगकर्तालाई स्यास्स वेल्ट वेबसाइट बिलडिङ सिस्टमद्वारा वेबसाइट बनाउनेदेखि सबै खाले सेवा सुपथ मूल्यमा दिँदै आएको छु ।’

समयको सदुपयोग र सरल माध्यमबाटै सर–सामान किन्न सजिलो भएकाले यसप्रति उपभोक्ताको आकर्षण बढदै गएको हो । उपभोक्तासँगै सञ्चालकहरू पनि बढ्दै गएका छन् यो क्षेत्रमा । त्यस्ता ई–कमर्स बनाई व्यवसाय गर्न इच्छुकले एल्कोबाट सरल र सुलभ रूपमा वेबसाइट बनाउन सक्छन् । छ वर्ष अस्ट्रेलिया बसेका खनाल यो व्यवसायकै लागि नेपाल आएका हुन् । नेपालमा फस्टाउँदै गएको ई–कमर्सलाई सस्तो र सुलभ ढङ्गमा जोड्न सक्ने बताउँछन् उनी ।

एल्कोका सेवाहरू प्रयोग गर्न कुनै पनि कोडिङको ज्ञान चाहिँदैन । त्यस्तै, कम्पनी आफैँले पनि सबै प्राविधिक कुराहरू क्लाउडमार्फत ह्यान्डल गर्न  सक्छ ।

माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउण्डमा आइपुगेका योजना हुन् । यो राउण्डमा माथि उल्लेखित तीनसहित अन्य चार जनाले पनि प्रविधिमैत्री योजना सुनाएका छन् । जसमा आफ्नै कलेज, नेत्रकार्ट, स्किल सेवा र सजिलो यात्रा नामक योजना प्रस्तुत भएका छन् । जम्मा सातवटा व्यावसायिक योजनामध्ये नेत्रकार्ट नामक योजनाले भने उत्कृष्ट व्यवसायको रूपमा बिउपुँजी पाउन सफल बनेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८, १३:४८:०५

Scroll to Top