कृषिलाई यान्त्रिकरण गर्ने ३ आइडिया भए कलेज हन्टमा छनौट

 

काठमाडौं । प्रगतिशील रुपान्तरण तथा व्यावसायिकता प्रवर्द्धनको क्षेत्रमा क्रियाशील आइडिया स्टुडियोले ‘कलेज आइडिया हन्ट २०२१’ मंसिर ४ गते सम्पन्न गरेको छ ।

पाठलाई प्रसंगमा बदल्ने उद्देश्यसहित आइडिया स्टुडियाले २०१४ देखि कलेज आइडिया हन्ट सुरु गरेको हो । उक्त कार्यक्रममा देशभरका कलेजबाट विद्यार्थीहरूले आफ्नो नवप्रवर्तित व्यावसायिक आइडियाहरूलाई प्रस्तुत गर्ने गर्छन् । यस वर्षको कलेज आइडिया हन्टको संस्करण काठमाडौं मोडल कलेजमा आयोजना भएको थियो ।

उक्त कार्यक्रममा देशभरका कलेजहरूबाट करिब २ सय आइडियाहरूले सहभागिता जनाएका थिए । जसबाट आयोजक आइडिया स्टुडियोले उत्कृष्ट १० आइडियालाई छनोट गरेको थियो ।

छनोट भएका आइडियाहरूलाई व्यवसायसम्बन्धी विविध तालिम प्रदान गरेपश्चात् विद्यार्थीहरूले अन्तिम चरणको आइडिया पिचिङ कार्यक्रम ‘आई ह्याभ एन आइडिया २०२१’ मा आफ्नो आइडिया, त्यसको व्यावसायिक मोडलका बारेमा प्रस्तुति दिएका थिए । तर, अन्तिम चरणको कार्यक्रममा १० मध्ये ८ समूहले मात्र सहभागिता जनाएका थिए ।

प्रस्तुत भएका आइडियामध्ये शीर्ष ३ ले कलेज आइडिया हन्ट २०२१ को उपाधि जित्न सफल भएको थियो । उक्त ३ शीर्ष उत्कृष्ट आइडियाहरूले जनही १ लाखको पुरस्कारसमेत प्राप्त गरेको थियो । यस्ता छन् कलेज आइडिया हन्ट २०२१ बाट छनोट हुन सफल शीर्ष ३ आइडिया

राइस ट्रान्सप्लान्टर, सौरभ सिंह चौधरी 

सारदा विश्वविद्यालय भारतबाट इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक तह अध्ययन पूरा गरेका सौरभ सिंह चौधरीले कलेज आइडिया हन्टमा आफूले निर्माण गरेको खेतमा धान रोप्ने राइस ट्रान्सप्लान्टर मेसिन प्रस्तुत गरेका थिए ।

देशको करिब ६६ प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा संलग्न भएको कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरी नयाँ क्रान्ति ल्याउने प्रयास स्वरुपमा आफूले उक्त प्रविधि निर्माण गरेको सौभर बताउँछन् । प्रतिवर्ष २.५ लाख रुपैयाँसम्मको कुल गार्हस्थ उत्पादन भएका साना किसानहरूलाई लक्षित गरी धान रोप्ने मेसिन निर्माण गरेर सौभरले आफ्नो यो प्रयासको थालनी गरेका छन् ।

‘नेपाली कृषकहरूको आफ्नौ फरक समस्या छन्, हामीले हाल प्रयोग गरिरहेका विदेशी मेसिनहरू यहाँका स्थानीय कृषकहरूको समस्यालाई सम्बोधन गर्न सक्ने किसिमले बनेका छैनन्,’ सौरभ भन्छन्, ‘हामी नेपाली कृषकहरूको समस्यामा केन्द्रित रहेर सुलभमूल्यमा, मर्मत योग्य, कम्प्याट तथा सजिलो मेसिन प्रदान गर्नेछौं ।’

राइस ट्रान्सप्लान्टरको आइडिया सफल भएको खण्डमा आफ्नो समूहले आलु, मकै प्लान्टर तथा अन्य खेतीजन्य उपकरण निर्माण गर्ने उनी बताउँछन् ।

मल्टी ग्रेन इलेक्ट्रिक ड्राइङ सिलो, रोशन ओझा, अनिश थापा, प्रशान्त कँडेल

खेतबाट अन्नबाली भित्राएपछिको महत्वपूर्ण काम भनेको त्यसलाई सुकाउने हो । तर, यसका लागि अझै पनि नेपालको कृषि क्षेत्र परम्परागत शैली, अर्थात् घाममै निर्भर छ ।

यसैले काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले रोशन ओझा, अनिश थापा, प्रशान्त कँडेलले ‘मल्टी ग्रेन इलेक्ट्रिक ड्राइ मेसिन शिलो’ डिजाइन गरेका छन् ।

कलेज आइडिया हन्टमा २०२१ मा प्रस्तुत भई उत्कृष्ट ३ मा पर्न सफल यो मेसिनले जस्तोसुकै मौसममा पनि अन्नबालीलाई छोटो समयमा, प्रभावकारी रुपमा सुकाउन सक्छ ।

यो ड्राइ मेसिनमा बाली निरीक्षण गर्ने तथा आद्र्रता थाहा पाउन सक्ने सेन्सरयुक्त फिचर पनि छन् । यसले अन्न बालीको थप प्रशोधिकरणमा यूभीसी ट्रिटमेन्ट पनि गर्दछ जसले अन्न बालीको आयुलाई पनि बढाउने सुनिश्चित गर्छ ।

अन्न बाली राम्रोसँग नसुक्दा वर्षभरि धान्न पर्ने अन्न बाली भण्डारणको समयमा ढुसी लाग्ने, बिग्रने समस्याहरू किसानहरूले लामो समयदेखि भोग्दै आइरहेका छन् ।

घाममा सुकाउने परम्परागत विधिमा लामो समय लाग्ने, मौसम अस्थिर हुँदा प्रभावकारी नहुने समस्या रहँदै आएको छ । तर, आफ्नो प्रोडक्ट बेस्ड सोल्युसन ‘मल्टी ग्रेन इलेक्ट्रिक ड्राइ मेसिन शिलो’ ले अन्न बालीमा आद्र्रताको मात्रा घटाइ, लामो समयसम्म टिकाउ रहने गरी भण्डारण गर्न किसानहरूलाई ढुक्क बनाउन बताउँछन् ।

प्रयोग र मागका अनुसार यो मेसिनको क्षमता सानोमा १ सयदेखि २ सयकेजीसम्म, मध्यममा ५ सयदेखि ७ सय केजीसम्म र ठूलोमा १२ सयदेखि १५ सय केजीसम्म रहेको छ ।

साधारण ज्ञान भएका मान्छेले पनि यसलाई सजिलै मेनुअल विधिबाट चलाउन सक्छन् । काठमाडौं विश्वविद्यालयको यो समूहले आफ्नो नवीन निर्माणलाई सामुदायिक कृषि, अन्न आपूर्तिकता, कर्पोरेट कम्पनीहरूमा पुर्याउने बताएको छ ।

महसन्सार, सोभित कुमार कर्ण, अलिशा बुढा, निरन्जन श्रेष्ठ

पुलचोक क्याम्पसका तीन विद्यार्थीहरूले निर्माण गरेको मह संसार कलेज आइडिया हन्टमा उत्कृष्ट ३ मा पर्न सफल नविन व्यावसायिक आइडिया हो ।

मह संसार एउटा आर्टिफिसियल इन्टेलिजेन्स युक्त रोबोटिक हाइभ अर्थात् घार हो । मौरीहरूलाई व्यवस्थापन गर्न, स्वस्थकर रुपमा हुर्काउन यो हाइभलाई एआई एल्गोरिदम प्रयोग विकास गरी विशेष रुपमा डिजाइन गरिएको छ । हाइभको हार्डवेयरसँगै उपलब्ध यो प्रविधि नेपालका लागि एकदमै नवीन प्रविधि हो ।

नवप्रवर्तनमा आधारित यो व्यावसायिक मोडल, मौरी कृषकहरूले पूर्ण सब्सक्रिप्सन मोडलमा प्रयोग गर्न सक्छन् । आफूहरूले उक्त मह संसार एआई हाइभ सेटअप गर्न, डेलिभर गर्न तथा हटाउन सेवाग्राहीसँग कुनै शुल्क नलिने उनीहरू बताउँछन् ।

प्रतिहाइभ आफूहरूले कृषकसँग आफ्नो सेवाको सब्सक्रिप्सन शुल्क लिने उनीहरूले बताए । यो मेसिनले मौरीको अवस्थामाथि २४ घण्टै निरीक्षण राख्छ ।

मह कति उत्पादन भयो र कति पोलिनेसन भयो यी सबै कुरा मेसिनमा पूर्ण पारदर्शी हुनेछ । मौरीको मृत्युदर घटाउन मौरीपालनलाई सफ्टवेयर सोल्युसनबाट डिजिटाइज गरेको यो प्रविधि नेपालका लागि एकदमै नवीन छ ।

 मङ्गलबार ७ मंसिर २०७८ ०५:४० PM मा प्रकाशित
Published
Categorized as News