Idea Studio Nepal

आइडिया स्टुडियो सिजन– ५ को प्रसारण सुरु, कार्यक्रमले उतार्दै छ ३५ वटा आइडिया

– शिलापत्र संवाददाता

नेपालमा व्यावसायिक वातावरण प्रवर्द्धनमा जुट्दै नवव्यवसायीको पथप्रदर्शक बनेको आइडिया स्टुडियोले ‘आइडिया स्टुडियो सिजन– ५’ को प्रसारण सुरु गरेको छ । एपीवान टेलिभिजनमार्फत प्रसारण सुरु गरेको उक्त शो हरेक शनिबार र आइतबार राति ९ बजे प्रसारण हुनेछ ।

व्यावसायिक प्रवर्द्धनमा क्रियाशील आइडिया स्टुडियोको यो रियालिटी शो नेपालमै पहिलो हो । जसले नवप्रवेशी तथा व्यावसायिक यात्रा तय गर्न चाहनेलाई दिशानिर्देश गर्छ । सिजन–४ सकेर सिजन– ५ को प्रसारण सुरु गर्दैगर्दा स्टुडियोले सयौँ आइडियालाई व्यावसायिक बाटो देखाइसकेको छ भने ४० भन्दा धेरै आइडिया बोकेर आउने व्यवसायीलाई व्यावसायिक रूपमा समाजमा उतारिसकेको छ ।

यो वर्ष पनि ३५ जना प्रतिस्पर्धीलाई स्टुडियोले ड्रिम राउण्ड र डिल राउण्ड गरी दुई भागका चारवटा विधामा उतारेको छ । जसमा ग्रिनोभेसन, मेड इन नेपाल, हाई फ्लाइङ र सोसियल इम्प्याक्ट नामक विधा छन् । सहभागीले यी विधासँग सम्बन्धित व्यावसायिक योजना निर्णायकसामु सुनाउँछन् । जसका लागि यसअघि नै सहभागी प्रतिस्पर्धीलाई आइडिया स्टुडियोले व्यावसायिक तालिम दिइसकेको छ ।

यसरी तालिमपछि कार्यक्रममार्फत प्रतिस्पर्धामा उतार्दै हरेक विधाबाट विजेता भएका चार जनालाई जनही ५ लाख रुपैयाँबराबरको व्यावसायिक सहयोग पनि उपलब्ध गराउनेछ ।

कार्यक्रममा ज्ञान साझेदारको रूपमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, इको इम्प्याक्ट साझेदारको रूपमा वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपाल, लगानी साझेदारमा आइडिया इम्प्याक्ट इन्भेस्टमेन्ट फन्ड, बैंकिङ साझेदारको रूपमा प्रभु बैंक रहेको छ । योसँगै साझेदारको रूपमा राष्ट्रिय आविष्कार केन्द्र पनि रहेको छ ।

कार्यक्रमको निणार्यक मण्डलमा डब्लूडब्लूएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ, गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, प्रभु बैंकका डेपुटी सीईओ मनिराम पोखरेल, आइडिया स्टुडियोका सह–संस्थापक डा. छिरिङ लामा र प्रभु बैंकका चिफ बिजनेस अफिसर रेनुप्रसाद पाण्डे लगायत महेश राणा,महाविर पुन,सुजित रेग्मी,विदुशी राणा,प्रकट कुमार र जुना माथेमा  निर्णायक मण्डलमा रहेका छन्  ।

Scroll to Top