मिति: चैत २२, २०८१
काठमाडौं – आइडिया स्टुडियो नेपालद्वारा सञ्चालित राष्ट्रिय उद्यमशीलता खोज कार्यक्रम – ‘नेशनल आइडिया हन्ट सिजन ८’ अन्तर्गत देशभरबाट प्राप्त २५८ आइडियाहरूमध्ये ८८ जना आइडियाटरहरूले आफ्नो विचार प्रस्तुत गरेपछि, ४५ उत्कृष्ट आइडियाहरूलाई इन्क्युबेसन चरणका लागि छनौट गरिएको छ।

यस वर्ष प्राप्त आइडियाहरू नेपालको पूर्वी झापा देखि पश्चिमी बैतडी सम्मका जिल्ला र समुदायहरूबाट आएका छन्। साथै, यस सिजनमा विदेशमा रहँदै उद्यमशीलता गर्ने सपना बोकेका नेपालीहरूले पनि आवेदन दिएका छन्, जसले यो अभियानको राष्ट्रिय मात्र नभई ग्लोबल पहुँच रहेको प्रमाणित गर्छ। यसबाट आइडिया स्टुडियोको ‘नेपाली मन, नेपाली सीप, नेपाली सम्पत्ति’ भन्ने दृष्टिकोण अझ सशक्त हुँदै गएको देखिन्छ।
यसपटक छनौट गरिएका आइडियाहरूमध्ये:
- २० आइडिया विदेशी रोजगारीबाट फर्केका (रिटर्नी माइग्रेन्ट) नेपालीहरू द्वारा अगुवाइ गरिएका छन्।
- ५० आइडिया विपन्न तथा सीमान्तकृत समुदायहरूबाट आएका छन्, जसले समावेशी उद्यमशीलताको पक्षलाई बलियो बनाएको छ।
यो सिजनमा केही स्केल-अप चरणका व्यवसायहरूले पनि सहभागीता जनाएका छन्। यस्ता व्यवसायहरू विगत १० वर्षदेखि सफल रूपमा सञ्चालनमा रहेका छन्, तर अझ ठूलो प्रभाव र विस्तारको यात्रामा आइडिया स्टुडियोमार्फत अघि बढ्न चाहन्छन्।
इन्क्युबेसन चरणमा प्रवेश पाएका केही उल्लेखनीय उद्यमहरू निम्नानुसार छन्:
- आमा छोरी अचार – नेपाली परिकार र घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने घरेलु उद्योग
- गोर्खा वाच – नेपाली ब्राण्डको घडी निर्माण तथा निर्यात
- कपडा डट कम (Kapadaa.com) – अनलाइन फेसन तथा जीवनशैली उत्पादक ब्राण्ड
- एचआर साथी (HR Sathi) – डिजिटल मानव संसाधन समाधान प्लेटफर्म
- जय दुबेराली फलफूल प्रशोधन उद्योग – कृषि उपजलाई व्यावसायिक प्रशोधन गर्दै मूल्य अभिवृद्धि गर्ने पहल
- कनेक्ट किसान (Connect Kisan) – किसान र बजारलाई प्रविधिबाट जोड्ने अभिनव प्रयास
अब यी ४५ आइडियाहरूलाई इन्क्युबेसन अवधिमा व्यावसायिक योजना, वित्तीय प्रक्षेपण, ब्राण्डिङ, नेतृत्व, मार्केटिङ, र लगानी तयारी सम्बन्धी विभिन्न तालिम, मार्गदर्शन र नेटवर्किङको अवसर प्रदान गरिनेछ। इन्क्युबेसन पश्चात, ३० उत्कृष्ट आइडियालाई अन्तिम चरणको ‘फाइनल पिचिङ राउण्ड’ मा लगिनेछ, जहाँ उनीहरूले लगानीकर्तामाझ पिच गर्ने मौका, साथमा मिडिया प्रदर्शन र दीर्घकालीन समर्थन पाउनेछन्।
आइडिया स्टुडियो नेपालले विगत ८ वर्षदेखि सपना देख्ने युवाहरू, घरेलु उद्यमीहरू र सीमान्तकृत समुदायहरूका विचारहरूलाई उद्यममा रूपान्तरण गर्ने यात्रालाई निरन्तरता दिँदै आएको छ। यस अभियानमार्फत १३५ भन्दा बढी स्टार्टअपहरूले आफ्नो व्यवसायलाई सुरुवात देखि बृद्धिसम्मको यात्रामा साथ पाएका छन्।