Idea Studio Nepal

बल्बपेनमा देशलाई नै आत्मनिर्भर बनाउने उद्याेगी जोशीको जोस

कोरोना भाइरस विश्वको चुनौती बनिरहँदा यसले नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोनाकै कारण देश लकडाउनमा गएको १९औँ दिन बित्दै गर्दा कोरोनाबाट संक्रमित संख्या पनि १२ पुगिसकेको छ ।

विश्वव्यापी यो महामारीले गर्दा मुलुकको अर्थतन्त्र दिन प्रतिदिन धराशयी बन्दै गएको छ भने अभावले चरम रूप लिँदै गएको छ । यस्तो संकटकालीन अवस्थामा कैलालीका द्वारिकाप्रसाद जोशी भने देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर लागिपरिरहेका छन् ।

ढाका टोपीमा ठाँटिएका जोशीका हातभरि रङ्गीविरङ्गी कलमहरू छन् । प्रफुल्लित मुद्रामा उनी सबैलाई ती कलम देखाइरहेका छन् । तपाईंलाई अचम्म लाग्न सक्छ– ती कलममा त्यस्तो के छ, जसले सबैलाई आकर्षित गरिरहेको छ ? अनि हामीले दिनहुँ प्रयोग गरेजस्तै देखिने बल्बपेन बोकेर आइडिया स्टुडियोसम्म किन पुगे त जोशी ?

किन देखाउँदैछन् जोशी सबैलाई बल्बपेन ?

जोशी आफ्नै देशका ठूल्ठूला सम्झौता लेख्ने वकिलदेखि भोलिको भविष्य लेख्ने कलिला विद्यार्थीको हातहातमा स्वदेशी उत्पादन पुर्‍याउन चाहन्छन् । र त उनी भन्ने गर्छन्ः

‘एक पटक लेखेर त हेर्नुस्,
जहाँ चन्द्रसूर्य झल्किएको छ ।
आफ्नो खुसी आफ्नैपनले दिने हो,
जहाँ ढाका टोपी टल्किएको छ ।’

सधैँ आयातित बल्बपेन समातेका नेपाली हातहरूमा स्वदेशी बल्बपेन थमाउन चाहन्छन् उनी । त्यही चाहना पूरा गर्न जोशी अहिले स्वदेशमा बल्बपेन उत्पादनमा लागिरहेका छन् । सम्भवतः नेपालमा बल्बपेनका उत्पादक उनी नै एक्ला हुन् । बल्बपेनमा देशलाई आत्मनिर्भर बनाउनु नै आफ्नो प्रमुख उद्देश्य रहेको उनको भनाइ छ ।

मकैका विभिन्न परिकार खाने हो ? आउनुहोस् मिस्टर कर्न

बल्पपेनको व्यवसाय

२०१८ को तथ्यांकअनुसार बल्बपेन आयातमा मात्र नेपाली ७० करोड रुपैयाँ विदेशिएको छ, भने ४ करोडबराबरको मसी अर्थात् रिफिल आयात हुँदै आएको छ । जसमा ८० प्रतिशत भारतबाट, ११ प्रतिशत जापानबाट र बाँकी अन्य देशबाट आयात भइरहेको छ ।

हेर्दा सानो देखिए पनि यसले करोडौँ नेपाली रुपैयाँ विदेशिएको देख्दा जोशी खिन्न हुने गर्छन् । यही खिन्नतालाई जोसमा बदल्दै उनले नेपालमै पहिलो पटक बल्बपेन उत्पादन सुरु गरेका हुन् । वसुन्धरा पेन्स मेनुफ्याक्चरिङ सेवा सुरु गरेर उनले अहिले प्रतिमहिना करिब १ लाखको संख्यामा बल्बपेन उत्पादन गरेर बजारमा बिक्रीवितरण गरिरहेका छन् ।

उनले उत्पादन गरेका बल्बपेन प्रतिगोटा ६ रुपैयाँ ४ पैसा होलसेल मूल्यमा बिक्री हुँदै आएको छ । जोशी भन्छन्, ‘प्रतिगोटा ६ रुपैयाँ ४ पैसा होलसेल मूल्यमा बिक्री गर्दा प्रति बल्बपेन कम्पनीलाई १ रुपैयाँ ४ पैसा नाफा हुन्छ । यति हुँदा पनि मैले प्रतिमहिना १ लाख ४० हजार रुपैयाँ नाफा निकाल्दै आएको छु ।

सञ्जीवको सिर्जना : कुदाउने होइन त फोहोरबाटै गाडी !

यति सस्तोमा बल्बपेन बिक्री गर्दै आएका जोशीले विदेशबाट आयातित बल्बपेनभन्दा ११ रुपैयाँ सस्तोमा आफूले बिक्री गर्ने गरेको दाबी गर्छन् । उनी भन्छन्, ‘आयातित १० वटा बल्बपेनको एउटा प्याकेटलाई नेपाली ७५ रुपैयाँ पर्छ, मैले उत्पादन गरेको १० वटा वसुन्धरा बल्बपेनको प्याकेट जम्मा ६४ रुपैयाँमा उपलब्ध छ ।’

जोशी आफ्नो कम्पनीको उत्पादन क्षमता बढाएर प्रतिमहिना ५ लाख बल्बपेन उत्पादन गर्ने तयारीमा छन् । कैलालीमा मात्र सीमित वसुन्धरा पेनलाई अब काठमाडौंसम्म बजारीकरण गर्न उनी लागिपरिरहेका छन् ।

अबको १ वर्षमा ६० लाख पेन उत्पादन गरेर ८४ लाख रुपैयाँ नाफा कमाउने योजनामा जोशी छन् । यसरी विदेशबाट आयातित पेनभन्दा यहीँ नेपालमै उत्पादन गरेर सस्तोमा बेचेर पनि लाखौँको कमाइ गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् ।

जोशी भन्छन्, ‘अहिले कैलालीमै छु, अब काठमाडौंमा २ महिनाभित्रमा बजारीकरण सुरु गर्दै छु ।’

जोशीको योजनाअनुरुप ३ प्रतिवर्ष ३ करोडले आयात विस्थापित गर्न सकिनेछ, त्यो पनि बसुन्धरा पेनले मात्रै ।

उत्पादन क्षमता प्रत्येक वर्ष बढाउँदै लैजाने उनको योजना छ । त्यसका लागि उनलाई १५ लाख रुपैयाँको लगानी आवश्यकता छ । कुल २५ लाख रुपैयाँको लगानी गर्ने सोचमा रहेका उनी आफैँले १० लाख रुपैयाँ लगानी गर्नेछन् ।

संकटकालीन घडीमा पनि मिसनमै व्यस्त मार्सी बुढा, को हुन् उनी ?

देशको पैसा देशभित्रै खर्च होस् भन्ने उद्देश्य पालेका जोशी आइडिया स्टुडियो सिजन ४ का मेड इन नेपाल राउण्डका प्रतिस्पर्धी हुन् । उनीसँगै अन्य २ जनाले पनि आ–आफ्ना आइडिया प्रस्तुत गरिसकेका छन् भने बाँकी तीन जनाले आउने मंगलबार प्रस्तुत गर्नेछन् ।

आइडिया स्टुडियोले नेपालभरका ६ सय जनाबाट ३० जना छनोट गरेर ५ वटा विधामा ती तमाम आइडियाहरूलाई प्रस्तुत गर्दै आएको छ । यसरी हरेक विधाबाट एक प्रतिस्पर्धीलाई विजेता बनाउँदै व्यावसायिक सहयोग पनि गर्दै आएको छ । अहिले आइडिया स्टुडियोले २४ जना नवप्रतिभालाई व्यवसायगत तालिम तथा प्रशिक्षणसमेत दिँदै आएको छ ।

Original Post

https://shilapatra.com/detail/25246?fbclid=IwAR0AQCzdzmeWmzG7mZZZ1Df8LIqvWd0I9PYFM9e0LEco2OgYMq264pFH04A

Watch the full episode

Scroll to Top