Idea Studio Nepal

आफूले बनाएको ‘बेबी वार्मर’, विदेशमा निर्यात गर्ने योजना बुन्दैछन् चार युवा इन्जिनियर

 

काठमाडौं । युनेस्कोको एक अध्ययनअनुसार नेपालमा जन्मिएका प्रत्येक एक हजार जीवित शिशुमध्ये २८ दिनभित्र २१ जनाको मृत्यु हुने गरेको छ । यसको अर्थ हो, नेपालमा शिशु मृत्युदर उच्च रहेको छ । यो समस्या समाधानको विकल्पमा चार जना युवा मिलेर विगत ४ वर्षदेखि सञ्चालनमा ल्याएका छन् ‘न्यानो नानी’ अर्थात् बेबी वार्मर ।

गोरखामा जन्मिएका सुनिल बानियाँ बच्चा बेलामा धेरै बिरामी हुन्थ्ये तर, उपयुक्त उपकरणको अभावमा उनलाई उपचार गर्नका लागि चितवन र  काठमाडौंलगायत सहरमा पुर्याउनु परेको अभिभावकले सुनाएका थिए । पछि थाहा भयो उनलाई हापोथर्मिया रोग लागेको रहेछ । जुन उपयुक्त तापक्रमको अभावमा बालबालिकालाई लाग्ने रोग हो ।

सुनिल सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । उनी सन् २०१५ मा ‘इन्जिनिरिङ वर्ल्ड हेल्थ’ कार्यक्रमका लागि वर्ल्ड  हेल्थ संस्थाबाट प्रोग्राम कोअर्डिनेटरको रुपमा ओखलढुङ्गाको ‘मिसन हस्पिटल’मा गएका थिए । उनी त्यहाँ रहँदा विभिन्न समस्या देखे तर, सबै कुराको याद उनलाई भएन ।

यद्यपि एक दिन उनले देखेको एउटा बच्चाको समस्याले आफ्नो बाल्यकालमा मात्रै फर्काएन नयाँ कुराको खोजी गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे । सन् २०१५ को उक्त घटना सम्झिदै उनी भन्छन्, ‘मिसन हस्पिटलमा मैले १ दिनको बाटो हिँडेर बच्चाको उपचार गर्न आएका मान्छे आफ्नै आँखाले देखेँ । म बिरामी भएको याद आयो, हुन त मलाई बिरामी भएको क्षण थाहा छैन सानै थिएँ बुबा-ममीले भनेको सुनेको मात्रै हो ।’

क्यापिटल नेपालसँग कुरा गर्दै बानियाँ भन्छन्, ‘त्यो बेलाको जस्तो समस्या अहिले पनि रहेछ भन्ने लाग्यो र बुबा–आमाले मेरो लागि कति दुःख गर्नुभयो ? होला भन्ने पनि सोचेँ, त्यही समयमा हो हापोथर्मिया रोगबाट बच्चालाई बचाउनका लागि हामीले पनि केही गर्नुपर्छ र गर्न सकिन्छ होला भन्ने लागेको । तर, के गर्ने भन्नेमा निश्चित थिइनँ ।’

उक्त सोच काठमाडौं फर्किएर पछि आफ्ना साथीहरु महित केसी, सन्जयबहादुर सिंह, र सुरज कार्कीलाई सुनाएको बताउँछन् सुनिल । सुनिल सिभिल इन्जिनियरका विद्यार्थी हुन् भने उनका साथी बायो मेडिकल इन्जिनियर । नयाँ काम गरौं भन्ने जोस भएका युवाहरु सुनिलले भोगेको र देखेको समस्या समाधानको लागि नयाँ आइडिया निकाल्नेतर्फ सोच्न थाले र चारै जना मिलेर ‘बेबी इन्क्यूबेटर’ बनाउनतर्फ लागे । जसका लागि १ वर्ष रिसर्च गर्नमा नै समय बित्यो ।

उनीहरुले सुरुमा ‘न्यानो नानी’ भने बनाएका थिएनन् । पछि डाक्टरहरुसँग सल्लाह लिँदा बेबी इन्क्यूबेटरभन्दा ‘बेबी वार्मर’ अर्थात् न्यानो नानी बनाउनु उपयुक्त हुने सुझाव पाए । सोही सुझावअनुसार इन्क्यूबेटरको आइडियालाई ‘बेबी वार्मर’ बनाउन प्रयोग गरेको सुनिलको भनाइ छ । सो ‘बेबी वार्मर’ बनाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रले समेत सहयोग गरेको छ ।

हुन त विश्वमा नै पहिलोपटक बेबी वार्मर उनीहरुले बनाएका होइनन् । अन्य देशहरुमा प्रयोगमा आइरहेको रहे पनि नेपालीको लागि भने उनीहरुले नै पहिलो पटक बनाएका हुन् । पहिला महँगो मूल्यमा ‘बेबी वार्मर’ नेपाल भित्र्याउने गरे पनि अब उक्त समस्या नरहने सुनिलको भनाइ छ ।

हालसम्म नेपालका १७ वटा अस्पतालमा बेबी वार्मरको प्रयोग भइरहेको छ । जसध्ये उपत्यकाका ४ वटा अस्पतालमा उक्त मेसिन प्रयोगमा छन् । त्यस्तै उपत्यका बाहिर महेन्द्रनगर, निजगढ, बागलुङ, इटहरी, नवलपरासी, खोटाङ र प्युठानलगायत स्थानका अस्पतालमा बार्मरको प्रयोग भएको बताइएको छ । यद्यपि बच्चालाई न्यानो बनाउन केही गर्नुपर्छ भन्ने सोच आएको मिसन अस्पताल ओखलढुङ्गामा भने हालसम्म उक्त उपकरण पुर्याउन सकेका छैनन् । तर, मिसन अस्पतालमा पनि बेबी वार्मरको व्यवस्था गर्ने उनीहरुको योजना रहेको छ ।

बानियाँ भन्छन्, ‘ओखलढुङ्गामा मात्रै होइन काठमाडौंबाट नजिकै भए पनि नुवाकोटको एउटा हेल्थ पोस्टमा बच्चालाई न्यानो राख्न लागि हिटरको प्रयोग गरेको देखेका थियौं । नेपालमा बार्मरको आवश्यकता छ भन्ने यस्ता धेरै उदाहरण छन् ।’ न्यानो नानीको आवश्यकता सहरी क्षेत्रमाभन्दा बढी दुर्गम क्षेत्रमा रहेको उनहरुको अनुभव छ । सोहीअनुसार दुर्गम तथा हिमाली क्षेत्रमा न्यानो नानी उपकरणलाई प्राथमिकताका साथमा विस्तार गर्ने योजना बताएका छन् ।

सामान्यतयाः स्वस्थ्य जन्मिएको बच्चाका लागि ३७ डिग्री सेल्सिएस तापक्रम आवश्यक पर्छ । न्यानो नानी मेसिनमा पनि अधिकतम ३७ डिग्री सेल्सिएससम्म तापक्रम रहन्छ भने, सबैभन्दा कम सम्बन्धित कोठाको तापक्रमसम्म बनाउन सकिने बताइएको छ । उक्त उपकरणमा बच्चालाई राख्न मिल्ने सुनिल बताउँछन् । सो उपकरण जन्मिएको एक हप्तासम्मका बच्चालाई न्यानो प्रदान गर्न उपयुक्त हुन्छ ।

१७ वटा अस्पतालमा न्यानो नानीको उपकरण जडान भइसकेको छ । सुरुमा नेपालीहरुले पनि बनाउन सक्छन् र ? भन्नेहरुले अहिले राम्रो उपकरण भन्दै प्रतिक्रिया दिएको उनको भनाइ छ । उनीहरु आइडिया स्टुडियोले आयोजना गरेको सिजन ५ मा सहभागी भएका छन् ।
साथै उक्त उपकरण देशभरी विस्तार गर्ने योजना उनीहरुले बताएका छन् । तर, लगानीकर्ताहरुको खाँचो रहेको सुनिलले बताए ।

विदेशमासमेत नेपाली ब्राण्डको विस्तार गर्ने योजनामा छन् न्यानो नानी उपकरण बनाउने ४ युवा । सो उपकरणका लागि आवश्यक पर्ने सामान भने भारत तथा चीनबाट ल्याउने गर्छन् । अन्य डिजाइन नेपालमा उनीहरु आफैंले बनाउँछन् । सामान्यतयाः एउटा मेसिन तयार गर्नको लागि ६० हजार रुपैयाँ लाग्छ । ‘एउटा–एउटा बनाउने भएर अहिले महँगो परेको हो तर, एकैपटक ५०/६० वटा बनाउँदा लागत घट्छ’ उनले भने ।

 शुक्रबार ५ कात्तिक २०७८ ०८:४७ AM मा प्रकाशित
Scroll to Top