Idea Studio Nepal

माछापालनबाटै वर्षमा अर्बौंको कारोबार, कारोडौँ नाफा

कोरोनाको त्रासले अहिले मानिसलाई एउटा पाठ भने पक्कै सिकाएको छ, त्यो हो आत्मनिर्भता ।

कृषिप्रधान मुलुकमा कृषिजन्य सामानको आयात नै ७० प्रतिशतभन्दा बढी छ मुलुकमा । दिन प्रति दिन कृषकहरू कृषि पेसाबाट पलायन हुँदै छन् । यस्तो अवस्थामा मुलुकको आत्मनिर्भता थप खस्कँदो अवस्थामा छ ।

अहिले अधिकांश शहरमा बसोवास गर्दै आएका सर्वसाधारण गाउँ गएका छन् । अधिकांशले खेतीपाती गर्न थाली पनि सकेका छन्, लकडाउनले भोकमरीको अवस्था नल्यायोस् भनेर ।

यो प्रकोपलाई अवसरको रूपमा ढाल्न सके राम्रो अवसरको रूपमा पनि लिन सकिन्छ अहिले । देशलाई आआफ्नो स्तरबाट कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर सोचिरहनुभएको छ भने विशाल राईको व्यावसायिक यात्रा तपाईंका लागि पनि गज्जब प्रेरणा बन्न सक्छ ।

यस्तो छ विशालको व्यावसायिक यात्रा

विशाल राई विगत ५ वर्षदेखि माछा पालनमा व्यस्त छन् । नेपालमा वर्षिक रूपमा अर्बौं रुपैयाँको माछा आयात गरेको देख्दा आफैँ उत्पादन किन नगर्ने भनेर कस्सिएका राई अहिले वार्षिक रूपमा माछा बेचेर मात्र २ करोड ५० लाख रुपैयाँको कारोबार गरिरहेका छन् ।

राईका अनुसार नेपालमा सन् १९६० को दशकमा माछापालन सुरु भए पनि यसले खासै व्यावसायिक यात्रा तय गर्न सकेको छैन । अहिले नेपालमा ५० हजारभन्दा बढी कृषकले ६ हजार १ सयभन्दा बढी प्रजातिका माछा उत्पादन गरिहेका छन् तापनि नेपालमा ९५ अर्ब रुपैयाँ बराबरको माछा आयात भइरहेको छ । तसर्थ राई नेपालमा नयाँ प्रविधि तथा गुणस्तरीय ह्याचरी अर्थात् माछाको भुराको अभावले माछा पालन गर्ने बढे पनि आयातलाई कम गर्न नसकेको बताउँछन् ।

उनले १ कठ्ठा जमिनमा १० हजारसम्म माछा उत्पादन गर्दै आएका छन् । खासगरी पांगासियस माछा पालन गर्दै आएका राई आफू नै पांगासियस माछा पालन गर्ने पहिलो कृषक भएको दाबी गर्छन् । खाँदा स्वादिलो हुनुका साथै माछामा हड्डी कम हुने हुनाले यस्को माग नेपाली बजारमा पनि बढ्दै गएको छ ।

अहिले उनको पोखरीमा पांगासियस माछा मात्र १ करोड ५० लाखभन्दा बढी छन्, जसबाट उनले वर्षको २ करोड ५० लाख रुपैयाँको कारोबार गर्दै आएका छन् । यसलाई बढाएर २२ करोड रुपैयाँ पुर्‍याउने उनको योजना छ ।

५ वर्ष अगाडि २ करोड रुपैयाँ लगानीमा सुरु गरेका राईले अब पुन: २ करोड रुपैयाँ लगानी थप गर्दै वर्षिक ५० हजार किलो माछा उत्पादन गर्ने लक्ष्य लिएका छन्, जसका लागि अब उनलाई १ करोड ३७ लाख रुपैयाँ लगानी आवश्यक पर्नेछ भने बाँकी आफैँ लगानी गर्नेछन् ।

राईको योजना

अहिले राईले पांगासियस माछा प्रति किलो २ सय ५० रुपैयाँमा बेच्दै आएका छन् । उनले माछा मात्र नभएर माछाका भुराहरू पनि बेच्दै आएका छन् । भुरा उनले प्रति गोटा ५ रुपैयाँका दरले बेच्दै आएका छन् ।

राईले अब लगानी पाएको खण्डमा वार्षिक रूपमा ५० हजार किलाे माछाबाट १५ लाख र भुराबाट ५ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएका छन् ।

नेपालमै पहिलो पटक पांगासियस माछाको भुरा उत्पादन गरिरहेका राईले माछा पालन र भुरा उत्पादनलाई हरेक वर्ष बढाउँदै लैजाने सोचमा छन् । राईका अनुसार ५ वर्षमा ३ लाख किलो माछा उत्पादन गर्दै ५ करोड भुरा पनि उत्पादन गर्ने योजनामा छन् ।

यसरी ५ वर्ष माछा र भुराबाट नाफा मात्र २२ करोड २० लाख रुपैयाँ कमाउन सकिने राईको दाबी छ । थाइल्यान्डबाट माछा पालन सिकेर आएका राई आफू मात्र नभएर विभिन्न माछा पालन गर्न चाहने कृषकहरूलाई तालिम पनि दिने योजनामा छन् ।

विशाल राई आइडिया स्टुडियो सिजन ४ को मेड इन नेपाल राउण्डका प्रतिस्पर्धी हुन् । विशाल जस्तै ३१ जना सिर्जनशील युवाहरूलाई उनीहरूकै सिर्जनालाई उद्योगसम्म पुर्‍याउन आइडिया स्टुडियोले विभिन्न व्यावसायिक सहयोगदेखि तालिम तथा प्रशिक्षण दिँदै आएको छ । व्यावसायिक प्रशिक्षणपश्चात् आइडिया स्टुडियोको टेलिभिजन रियालिटी शोमार्फत् आफ्नो सोच प्रस्तुत गर्दै छन् ३१ जना आइडिएटरले ।

हरेक हप्ताको मंगलबार ३/३ जनाले आइडियाको ४ भागअन्तर्गत आफ्नो व्यावसायिक सोच प्रस्तुत गर्दै आएका छन् ।

Original Post

https://shilapatra.com/detail/25965?fbclid=IwAR0PIKhatgtZvIqYdvNPXgY_qgOOWG_Vz8O7Ig3iJlq3SlP1S17HQk1667s

Watch the full episode

Scroll to Top