Idea Studio Nepal

प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच त्रिपक्षीय सम्झौता

– शिलापत्र संवाददाता

शुक्रबार, साउन १८, २०८१

प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच १५ र १६ साउनमा छुट्टा–छुट्टै कार्यक्रमका बीच त्रिपक्षीय रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामा, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सह–प्राध्यापक बिरन्जी गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहकार्यले कालिका बहुमुखी क्याम्पस, धौलागिरी बहुमुखी क्याम्पस तथा म्याग्दी बहुमुखी क्याम्पसका फ्याकल्टी तथा विद्यार्थीहरूमा  उद्यमशीलताको क्षेत्रमा सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्ने आइडिया स्टुडियो नेपालले जनाएको छ । यो सहकार्यले प्रभु बैंकको उल्लेखित तीन क्याम्पसमा बिउ लगानी र आइडिया स्टुडियो नेपालको संयुक्त विशेषज्ञता र नवप्रवर्तनमार्फत विद्यार्थीहरूमा चाैतर्फी विकास र वृद्धि हुने विश्वास गरिएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘प्रभु बैंक र आइडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्य गर्दै विभिन्न कार्यकम्रहरू गर्दै आएको र त्यसै सिलसिलामा यस वर्ष गण्डकी प्रदेशका विद्यार्थीहरूमा उद्यमशीलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्य र सहयोग प्रदान गर्ने उद्देश्यले माथि उल्लेखित तीन क्याम्पसहरूसँग सहकार्य गर्न लागिएको जानकारी गराए ।

त्यस्तै, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामाले भने, ‘आइडिया स्टुडियो नेपालले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक र व्यावहारिक बनाउन फ्याकल्टी डेभलपमेन्ट (शिक्षक तथा प्रधानाध्यापकहरूलाई) तालिम र अनुसन्धानका कार्यहरूमा सहयोग र प्रोत्साहन गर्दै विद्यार्थीहरूका लागि २१औँ शताब्दीका सीप र ज्ञान दिँदै आफ्नो लक्ष्यअनुसार करिअर डेभलपमेन्टको परामर्श दिइ्नेछ । यस सहकार्यले उद्यमशील विद्यार्थीहरूलाई आवश्यक इन्क्युबेसन (तालिम) प्रदान गर्दै उनीहरूको सोचलाई व्यवसायमा रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि सिर्जना गर्नेछ ।’

त्यस्तै, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले हालको समयमा युवाहरू विदेशिने क्रम बढिरहेको बेला शैक्षिक संघसंस्थाहरूले विद्यार्थीलाई देशभित्र अवसर देखाउन एकदमै जरुरी रहेको बताए । उनले यस सहकार्यले धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई उद्यमशीलता क्षेत्रमा अगाडि बढाउँदै यहीँ केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सकिने अपेक्षा राखिएको बताए ।

म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले भने, ‘यस क्षेत्रका विद्यार्थीहरू निकै क्षमतावान् रहेको र आजको यस सहकार्यले ती विद्यार्थीहरूको उद्यमशीलतालाई थप ऊर्जा दिनमा मार्गदर्शन दिनेछ । साथै, म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरूलाई उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्दै आफ्नै ठाउँमा भविष्य बनाउन सकिन्छ भन्ने कुराको महसुस गराउन मद्दत पुग्नेमा म विश्वस्त छु ।’  

कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक बिरन्जी गौतमले आफुले यसअघि पनि विभिन्न संस्थाहरूसँग उद्यमशीलताका लागि सहकार्य तथा साझेदारी गरेको भए पनि ती साझेदारीमा मात्र सीमित रहेको तर प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यले भने विद्यार्थीहरूलाई साँच्चिकै उद्यमशीलतामा प्रोत्साहन गर्ने र भविष्यमा स्वउद्यमी बनाउने कुरामा विश्वस्त रहेको बताए ।

सम्झौताअनुसार, आइडिया स्टुडियो नेपालले यस साझेदारीअन्तर्गत उल्लेखित क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेसन, व्यापार योजनाको (बिजनेस प्लान) विकास गर्ने र आवश्यक सर–सल्लाह प्रदान गर्दै शिक्षकहरूलाई अनुसन्धानको क्षेत्रमा अगाडि बढाउनका लागि आवश्यक सर–सल्लाह पनि प्रदान गर्नेछ ।

आईडिया स्टुडियो नेपालले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई सहभागी गराई विषयगत सेमिनारहरू पनि सञ्चालन गर्ने गरेको छ । त्यस्तै, कार्यक्रम कार्यान्वयनका लागि समग्र मार्गदर्शन र प्राविधिक सहयोगका साथै उद्यम सञ्चालनपछि सोको पूर्ण अनुगमन तथा मूल्याङ्कनसमेत गर्ने गर्छ । आइडिया स्टुडियो नेपालले शिक्षकहरूको उद्यमशील मानसिकतालाई विकास गर्दै विद्यार्थीहरूलाई सिक्ने र सिकाउने दुवैमा नवीन दृष्टिकोणहरूतर्फ डोर्‍याउँछ ।

प्रभु बैंकको तर्फबाट शैक्षिक संस्थामा आइडिया स्टुडियो नेपालले उद्यमशील इकोसिस्टमलाई बढावा दिने कार्यक्रममा बैँकको मूल्याङ्कनमा अधीन रही आशाजनक विद्यार्थीहरूका  लागि आवश्यक पर्ने स्टार्टअप ऋण लगानी गर्नेछ भने विद्यार्थीको उद्यमशीलता क्षमता विकासका लागि बृहत् बैंकिङ साक्षरता तालिम पनि प्रदान गर्नेछ । त्यस्तै, उद्योग\व्यवसाय तथा शैक्षिक संस्थालाई ब्रिजिङ गर्ने, नीति तथा व्यावसायिक अभ्यास र व्यावहारिक ज्ञानका क्षेत्रमा संकायहरूबीच कार्य अनुसन्धान प्रवर्द्धन गर्ने कार्यसमेत बैंकले गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:२५

Scroll to Top