Idea Studio Nepal

आइडिया स्टुडियोको नविन सोच: मानसिक उपचारदेखि घरेलु खाजा र अतिथि सत्कारसम्म

– दिवाकर उप्रेती | काठमाडौं, कात्तिक ९

 

नेपालमै व्यवसाय गर्न निकै सम्भावनाहरू छन् । व्यवसायिक सोच राखेर अघि बढ्दा धेरैले सफलता समेत पाएका छन् । कतिले व्यवसायलाई नेपालमा मात्र नभएर विदेशसम्मै पुर्‍याएका छन् । अधिकांशको सपना पनि आफ्नो उत्पादन विदेशमा बिक्री वितरण होस् भन्ने नै हुन्छ ।

विश्वका सबै देश अहिले आफ्नो उत्पादनलाई अन्य देशमा बिक्री बितरण गर्ने लक्ष्यमा छन् । जुन देशले उत्पादन गर्न सक्दैन, निश्चय पनि त्यस देशले आयात गर्नुपर्छ । आयात गर्दा अर्थ बाहिर जाने भएकाले कुनै न कुनै रूपमा देश गरिब हुन्छ । त्यसैले बलियो अर्थतन्त्रको लागि स्वदेशमै उत्पादन र प्रयोग गर्नुका साथै आफ्ना उत्पादनकाे निर्यात गर्न आवश्यक छ ।

नेपालको सामाजिक अर्थतन्त्रमा टेवा पुग्ने र नेपाली उत्पादनलाई निर्यात गर्ने लक्ष्य लिँदै आइडिया स्टुडियोको मञ्चमा नविन सोचहरू प्रस्तुत भएका छन् ।

मिसिंग काउन्सेलर 

मानसिक स्वास्थ्य समस्याले अहिले विकराल रूप लिइरहेकाे छ । कामको चाप, घरायसी खटपट, व्यस्त जीवनशैली जस्ता कारणले मानसिक स्वास्थ्य समस्या बढिरहेकाे हाे । तर मानिसहरूले आफूमा रहेकाे मानसिक समस्यालाई लुकाउने गरेका छन् । यसाे हुँदा मानिसमा थप विचलन पैदा हुने गर्छ ।

यो समस्या समाधान गर्न अजय पाण्डे र निश्मा चौधरीले ‘मिसिंग काउन्सेलर’ नामक व्यवसाय आइडिया स्टुडियोमा लिएर आएका छन् । मानसिक स्वास्थ बारेको अज्ञानताले मानिस आत्महत्याकाे हदसम्म पुग्न सक्छ । सामान्य उपचार र परामर्शमा आधारित समाधानको निम्ति पाण्डे र चौधरी लागिपरेका छन् ।

‘मिसिंग काउन्सेलर’को माध्यमबाट मानसिक स्वास्थ समस्यालाई अनलाइनबाटै हल गर्न सकिन्छ । पाण्डे भन्छन्, ‘मानिसमा रहेको चिन्ता, डिप्रेसन, निराशापनबारे यो पोर्टलमा बुझ्न सकिन्छ ।’ उनले अगाडि भने, ‘हाम्रो समाजमा मानसिक स्वास्थ्य सेवा खाेज्ने चलन छैन । याे सेवा सबैकाे पहुँचमा विस्तार पनि हुन सकेकाे छैन ।’

मिसिंग काउन्सेलरले मोबाइल र वेबको माध्यमबाट मानसिक स्वास्थ्य परामर्श सेवाहरू प्रदान गर्दछ । ‘अनुभवी काउन्सलरसँग लाइभ कुराकानी गर्न मिल्ने भएकाेले याे सबैको पहुँचमा छ । साथै यो वेबमा डिप्रेसन र एन्जाइटीबारे पढ्ने सामग्री समेत उपलब्ध छन्’, चाैधरीले भनिन् ।

‘१२ कक्षासम्म पढ्दा पनि मानसिक स्वास्थ्यबारे न किताबमा छ नतअरू माध्यमबाट नै सिकाइन्छ’, उनले भनिन् । विभिन्न खालका परामर्शकर्ता, मेडिकल डाक्टर र सहजकर्ता रहेको मिसिंग काउन्सेलर’मा जुनसुकै बेला च्याट तथा भिडियो कल गरी सेवा लिन सकिने उनले जानकारी दिइन् ।

साथै डिप्रेसन, एन्जाइटीलगायत समस्याबारे बुझ्नका लागि विभिन्न किताब, लेख, रचना र अनुभवका सामग्रीसमेत पढ्न सकिने उनले बताइन् । उनका अनुसार मिसिंग काउन्सेलरमा अनुभवी सल्लाहकारहरूसँग परामर्श गरी बिरामीको मानसिक प्रशिक्षण पनि हुन्छ ।

डोल्पो उद्यम 

त्यस्तै डोल्पाका येशे ग्याल्स्तेंन गुरुङले आफ्नै डोल्पो इन्टरप्राइजेज सञ्चालन गरेका छन् । उनले सञ्चालनमा ल्याएको व्यवसायबाट चिइज उत्पादन तथा वितरण गर्ने लक्ष्य लिएका छन् । साथै उनले डोल्पामै प्रशाेधन गरी उत्पादन गरिएको चिइजलाई नेपालसहित विश्व बजारमा लैजाने लक्ष्य लिएका छन् ।

डोल्पामा आर्थिक विकासको प्रवल सम्भावना रहेकोले येशेले स्थानीयवासीको संलग्नतामा व्यवसायलाई अगाडि बढाएका हुन् ।उनी भन्छन्, ‘यो व्यवसायबाट युवाहरूलाई उद्यमी बनाउने तथा महिलाहरूलाई पैसा ट्रान्जेक्सनमा टेवा पुर्‍याउने अठोट राखेको छु ।’

उनको यो अठोटसँगै डोल्पोले अहिले काठमाडौंको हायात होटल र याक एण्ड यति होटलमा आफ्नो उत्पादन निर्यात गरिरहेको छ । उनी भन्छन्, ‘नेपालसहित अहिले सातवटा देशमा हाम्रो उत्पादन टेस्टको लागि पुगेको छ ।’

डोल्पाका महिलालाई सशक्तिकरण गर्नका लागि डोल्पोले गाँउका महिलाहरूकै प्रत्यक्ष संलग्नतामा दूध संकलन गर्दै आएको छ । साथै डोल्पो कम्पनीमा चार जनाले राेजगारी पाएका छन् ।

‘सुरुवाती चरणमा महिलाहरूले नोट समेत चिन्थेनन् तर अहिले आफैँ दूध ल्याउने र पैसाकाे हिसाब पनि राख्ने गरेका छन्’, उनले भने । येशेले सञ्चालन गरेको यो व्यवसायप्रति आइडिया स्टुडियोका निर्णायकले समेत खुसी व्यक्त गरेका छन् ।

टिफिन पोइन्ट

वीरगञ्जका राकेशकुमार बर्नवालले ‘एसआर टिफिन पोइन्ट’ नामक व्यवसाय सञ्चालन गरेका छन् । राकेश पार्ट टाइम शिक्षक हुन् । उनी बीमा कम्पनीमा समेत काम गर्छन् । कामकै दौरान उनले यो व्यवसाय सुरु गरेका हुन् ।

उनी भन्छन्, ‘मानिसको कुल कमाई मध्ये २५ प्रतिशत खानामै खर्च हुन्छ । त्यसैले, मैले घरकै खाना टिफिन बक्समा उपलब्ध गर्ने सोच बनाएर व्यवसाय सुरु गरेँ।’ दैनिक जीवनमा व्यस्त रहन थालेका मानिसलाई घरकै खाजा खान समय हुँदैन । टिफिन पाेइन्टले बालबालिकालाई समेत स्कुलमा घरकै खाजा पठाउने व्यवस्था गरेकाे छ ।

राकेशको यो व्यवसायमा गृहिणीहरूले समेत रोजगारी पाएका छन् । ‘त्यस्ता गृहणीहरू जो काम गर्न रुचि राख्छन् तर घरबाट बाहिर जान सक्दैनन् उनीहरूले यो व्यवसायबाट पनि श्रोत जम्मा गर्न सक्छन्’, उनले भने ।

दैनिक तीन सय टिफिनको अर्डर लिने एसआर टिफिन पोइन्टलाई लकडाउनले सकस भयो । लकडाउनका बेला राकेशले मिथिलाको प्रसिद्ध परिकार ठेकुवा, पापड र अचारलाई व्यवसायसँग जोडे । उनी भन्छन, ‘लकडाउनमा सुरु गरेको यो परिकार अब दराजमा पनि उपलब्ध छ ।’

वीरगञ्चमा अवस्थित यो व्यवसायले घरमै बनेको खाजा बिक्री गर्दछ । उनको यो व्यवसायिक सोचबाट पनि निर्णायकहरू खुसी छन् । साथै राकेशले छिट्टै व्यवसायका लागि एप समेत निमार्ण गर्दैछन् ।

पाक आतिथ्य केन्द्र

सुर्खेतका केशवबहादुर कठायत सि.टि.एच–पाक अतिथि केन्द्र नामक व्यवसाय लिएर आइडिया स्टुडियो आएका छन् । उनले पाक कलाको माध्यमबाट स्थानीय खानाको परिकार तथा उत्पादनलाई बिक्री वितरण गर्ने लक्ष्य लिएका छन् ।

केशवले आफैँ सिकेर आएको अनुभवलाई स्थानीय युवामा कलात्मक तथा व्यवसायिक माध्यमबाट पाककला सिकाउँदै छन् । त्यति मात्रै होइन, पाकले आफ्नै बेकरी र अर्गानिक कृषि उत्पादन समेत गर्दै आएको छ । केशवको पाककला कक्षामा खानाको परिकार पस्कने तरिका तथा आतिथि सत्कारकाे सिकाइ भइरहेकाे छ ।

पाक आतिथ्य केन्द्रले आफ्नै कृषि उत्पादन र उपभोगलाई जोड दिएको छ । उनी भन्छन्, ‘स्थानीय युवाहरूलाई विदेश जानबाट रोक्न तथा सिप सिकाउँदै कामकोसमेत जोहो गरेका छौँ ।’ स्थानीय समुदायमा अस्वस्थ जंक फुडलाई समेत परास्त गर्न अर्गानिक उत्पादनमा जोड दिइएको उनले बताए ।

‘जनमानसलाई अर्गानिक उत्पादनबारे शिक्षित गर्न सके स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन विकासमा समेत टेवा पुग्न सक्छ’, उनले अगाडि भने, ‘गाउँमा युवाहरू छन्, काेहीसँग जग्गा जमिन छ तर त्यस्को सही सदुपयोग छैन । यी दुवै कुरालाई जोड्दै अगाडि बढ्ने हो ।’

उनको यो व्यवसायले विदेश जाने युवालाई नेपालमै सिप र रोजगारी दिने प्रयास गरेकाे छ । साथै पाक अतिथ्य केन्द्रले कर्णालीलाई व्यवसायिक ट्रान्जिट बनाउँदै छ ।

माथि उल्लेख गरिएका व्यवसायिक योजना आइडिया स्टुडियो सिजन–५ को डिल राउन्डमा आइपुगेका योजना हुन् । यो राउन्डमा माथि उल्लेखित चारसहित अन्य तीन जनाले पनि आफ्नो व्यवसायिक योजना सुनाएका थिए । जसमा स्मार्ट आमा, सोनाम वोयर र मिडास टच नेपाल नामक योजना प्रस्तुत भएका थिए ।

जम्मा सातवटा व्यवसायिक योजनामध्ये डोल्पो इन्टरप्राइजेज र सोनम वोयरले उत्कृष्ट व्यवसायको रूपमा बिउपूँजी पाउन सफल भएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८, १०:५०:००

Scroll to Top