जापानबाट फर्किएका उत्तमः तितेपातीको तेल निकाल्छन्, अमेरिका, क्यानडा लगायतका मुलुकमा बेच्छन् | Featured on capitalnepal.com

Posted on Posted in Uncategorized

काठमाडौं । नेपाल भौगोलिक विविधता र हावापानीले भरिएको देश हो । हावापानी र भौगोलिक परिवेशअनुसार वनस्पति र जडिबुटी फरक–फरक र तिनीहरूको महत्व स्वाभाविक रूपमा भिन्न रहन्छ ।

त्यसमध्ये हामीले कति कुराको महत्व बुझेका छौं भने कतिको थाहा छैन । नेपालको मध्यपहाड क्षेत्रमा बढी मात्रामा पाइने वनस्पति हो तितेपाती । सुन्दा सामान्य र देखिरहेकाले तपाईँ हामीलाई यसको महत्व धेरै नहोला भन्ने लाग्छ तर, ललितपुरका उत्तम बज्राचार्यले तितेपातीलाई वनस्पति मात्रै देखेनन् त्यसमा औषधीय गुण रहेको समेत पत्ता लगाए ।

उनले नेपालमा नै पहिलो पटक तितेपातीबाट तेल निकालेका छन् । नेपालमा १२ प्रकारको तितेपाती पाइने उत्तम बताउँछन् । तीमध्ये दुई प्रकारका तितेपातीबाट भने तेल निकाल्न सकिँदैन ।

ती दुई प्रकारका तितेपातीको पातको पछाडिको भागमा भुवा हुन्छ । तितेपाती फुल्नु वा दाना लाग्नुभन्दा पहिला नै तेल बनाउन प्रयोग गर्नुपर्छ । सामान्यतया वैशाखदेखि भदौ–असोजसम्म यसको तेल बनाउने उपयुक्त समय हो । हिउँदयाममा भने, फुल्ने तथा तितेपातीको बिरुवा मर्न थाल्छ र तेल निकाल्न सकिँदैन ।

तेल बनाउनेको विधिबारे बताउँदै उनले भने, ‘गाउँ घरमा रक्सी बनाएको जस्तै तरिका हो । फरक भनेको रक्सी बनाउँदा भाडामा बस्छ तर, तितेपातीको तेल बनाउँदा उडेर जान्छ त्यसैले ‘हाइड्रो डष्टिलेट’ नामको मेसिनबाट तेल बनाउनुपर्छ ।’

उनले सुरुमा प्रेसर कुकरमा तेल बनाउन प्रयास गरेका हुन् । त्यसबाट राम्रो भएपछि उनले आफैंले डिजाइन गरेर मेसिन बनाउन अर्डर दिए र मेसिनको प्रयोग भएको हो । उक्त मेसिन बनाउनका लागि सामान पनि नेपालमा नै पाइन्छ ।

बज्राचार्यले नुवाकोटमा तेल बनाउने गरेका छन् । अहिलेसम्म नेपालमा तितेपातीबाट कुनै पनि ठाउँमा तेल बनाउने गरिएको छैन । उनले महिला समूहमा सिकाएका महिलाले पनि उनकै उद्योगमा काम गर्दै आएका छन् । कसैले पनि छुट्टै व्यवसाय सञ्चालन नगरेको उनको भनाइ छ । जसको कारण उत्तमलाई तितेपातीको खेती नै गर्नुपर्ने आवश्यकता छैन ।

उनले भने, ‘नेपालका धेरै मान्छे विदेश गएर वा सहर पसेर गाउँका खेतबारीमा तितेपाती उम्रिएको छ । हामीलाई तितेपाती कहाँबाट जोहो गर्ने ? भन्ने चिन्त छैन ।’ नेपालका रुकुम, रोल्पा, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, दोलखालगायत पहाडी तथा मध्यपहाडमा तितेपाती प्रसस्त मात्रामा पाइन्छ ।

उनलाई उद्यमीका रूपमा अगाडि बढ्न थप हौसला प्रदान गर्यो आइडिया स्टुडियोले । आइडियाको सन् २०१८ को सोचदेखि उद्योगसम्म कार्यक्रममा सहभागी भएका थिए । आइडिया स्टुडियोले नवउद्यमी तथा नयाँ सोच भएका उद्यमीलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गर्छ । सन् २०१८ मा तितेपातीको तेल बनाएर स्वास्थ्य त आर्थिक क्षेत्रमा राम्रो आम्दानी गर्न सकिन्छ भनेर उनले ५ सय जना प्रतिस्पर्धीमाझ प्रथम भएका थिए ।

नेपालमा सो तेल मुटु तथा कलेजोका लागि सबैभन्दा राम्रो औषधी मानिन्छ । त्यस्तै जीउको दुखाइ हटाउने, काखी गन्हाउने समस्याको समाधान, दाँत दुखेको निको, रुघाखोकीलगायत छालासम्बन्धी समस्या समाधान हुन्छ । अझ महत्वपूर्ण त चोटपटकबाट बगेको रगत बन्द गर्न सकिन्छ ।

त्यस्तै डण्डिफोरको निराकण, यौनांगमा देखा पर्ने छालासम्बन्धी समस्याको पनि हुन्छ उपचार गर्न सकिन्छ । सामान्यतया कपालमा तेल लगाएको जसरी उक्त तेलको प्रयोग गर्नुपर्छ । तितेपातीको तेलमात्रै होइन पात नै पकाएर खाए पनि धेरै रोग निको हुने बज्राचार्य बताउँछन् ।
त्यसो त कोरोना भाइरस नियन्त्रणमा पनि तितेपातीको तेलले महत्वपूर्ण भूमिका खेल्ने बज्राचार्यको दाबी छ । उनी भन्छन्, ‘विदेशमा त मैले तेल पठाएको छु कोरोना भाइरसको संक्रमण भएपछि, भाइरस हो पूर्णरूपमा निर्मूल त हुँदैन तर, अहिलेको जस्तो अवस्था आउँदैन तितेपातीको तेल प्रयोग गर्दा ।’

उत्तम नेपालमा पनि यसको प्रयोग गर्दा राम्रो हुन्छ भनेर कोरोनाको पहिलो लहरमा टेकु हस्पिटल नगएका होइनन् तर, विभिन्न प्रक्रिया पूरा गर्ने बाहना बनाउँदै १ साताको समय उसै खेर गएको उनको भनाइ छ । त्यसपछि उनलाई नेपालमा तितेपातीको महत्व थोरै मान्छेले मात्रै बुझ्ने रहेछन् भन्ने लागेर त्यसको प्रक्रिया नै अगाडि बढाएनन् । नेपालीहरूले आयुर्वेद औषधीलाई महत्व नदिएकोमा उनको गुनासोसमेत छ ।

उनका अनुसार, सामान्यतया एक लिटर पानीमा एक थोपा तेल राखेर खानुपर्छ । यदि भाइरसको संक्रमण बढी भएको छ वा आपूmलाई आवश्यक परेको अवस्थामा तेल र पानीको मात्र पनि बढाउन सकिने उत्तम बताउँछन् ।

हाल तितेपातीको तेल काठमाडौं उपत्यका भित्रमात्रै उपलब्ध रहेको छ । उपत्यका बाहिर भने व्यक्तिको अर्डरअनुसार पठाउने गरिएको छ । उपत्यकामा सञ्चालनमा रहेको बज्राचार्यको ‘नर्मदा हेल्थ होम एण्ड आयुर्वेदिक रिसर्च सेन्टर’ लगायत अनामनगर, सानेपाका आयुर्वेदिक औषधी पसलमा तेल पाइन्छ । उपत्यका बाहिर तेलको बजारीकरण हुन नसक्नुको कारण तेलको महत्व धेरैलाई थाहा छैन ।

उनले भने, ‘म बजारीकरण गरेर हिँड्ने पेसाको मान्छे पनि होइन त्यसैले त्यस विषयलाई धेरै ध्यान दिएको छैन । समय अभावको कारण धेरै उत्पादन गर्न पनि सकेको छैन ।’ उनको तेल नेपालभन्दा बढी अमेरिका, जापान, क्यानडा, अष्ट्रेलियामा बिक्री हुने गर्छ । उनलाई जानकारी भएसम्म अहिले पनि नेपालमा अरू कसैले तेल बनाउँदैनन् र सिक्न चाहेर कोही आएका पनि छैनन् ।

प्रतिएमएल तेल १ सय रुपैयाँमा बिक्री गर्ने गर्छन् बज्राचार्य । १ हजार किलो तितेपातीबाट १ केजी तेल उत्पादन हुन्छ । उनले सुरुवातमा वर्षको करिब ४ किलो जति मात्रै तेल निकाल्थ्ये तर, उत्पादन क्षमता र माग बढेर अहिले वार्षिक ४ सय किलो जति उत्पादन गर्छन् । २५÷२६ जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएका बज्राचार्यलाई बजारमा भएको तेलको माग धान्न भ्याइनभ्याइ हुन्छ । यसबाट सजिलै बुझ्न सकिन्छ कि तेलको महत्व र फाइदा धेरै छ ।

तेललाई उपत्यका बाहिर बजारीकरण गर्ने योजना भने छैन । कारण हो नेपालीले आयुर्वेदको महत्व बुझ्न सकेका छैनन् त्यसले गर्दा राम्रो बजार तेलले लिन सक्दैन । त्यतिमात्रै होइन उदारोमा सामान लग्ने र समयमा पैसा नबुझाउने भएर पनि उनलाई बजारीकरण गर्न जागर छैन ।

उनी भन्छन्, ‘फाइदा धेरै छ तर, देखिरहेकाले तितेपातीको वास्ता गर्ने मान्छे कम हुन्छन् जसले गर्दा छिटो बजारीकरण गर्न सम्भव हुँदैन । मलाई सहज हुनुको कारण म स्वयम् हिलर हुँ, त्यो भएर धेरै जनासँगको सम्पर्क भएर सजिलो हुन्छ ।’

नयाँ उद्यमीहरूले १५ लाख रुपैयाँको लागतमा तितेपातीको उद्यमलाई अगाडि बढाउन सक्ने बज्राचार्य बताउँछन् । तेल बनाउन प्रयोग हुने मेसिनको मूल्य नै ५ लाख बढी पर्ने उनको भनाइ छ । उक्त मेसिन उनीहरू आफूले नै बनाउने गर्छन् ।

तितेपाती संकलन, अन्य व्यवस्थापनको खर्च जोड्दा करिब १५ लाख रुपैयाँ लगानी चाहिने उनको अनुभव छ । १५ लाखको लगानी गर्दा वार्षिक रूपमा ३० लाख बढी नाफा नै हुन्छ, अर्थात् ४५ लाख रुपैयाँको कारोबार गर्न सकिन्छ ।

उमेरले ६० वर्ष पुग्न लागेका बज्राचार्य पेसाले हिलर (तान्त्रिक तथा आयुर्वेदिक विधिबाट उपचार गर्ने मान्छे) हुन् ।  बज्राचार्य नेपाल सिद्धतान्त्रिक लाखेगुवाजुको बाह्रपुस्ताका नातिसमेत हुन् । यसरी हेर्दा उनको पारिवारिक माहोल नै हिलर काम गर्छन् । विगत १३ वर्ष पहिला उनले तितेपातीको तेल बनाएका हुन् ।

बज्राचार्यले होटल म्यानेजमेन्टमा बीएसम्म पढेका छन् । हजुरबुबाले हिलरको काम सिकाए पनि उत्तमले ट्रेकिङको व्यवसाय गथ्र्ये । ट्रेकिङबाट नै उनले विदेशी साथी बनाएका थिए र छोटो समयका लागि काम विशेषले विदेश पनि गइरहन्थ्ये ।

बज्राचार्यको जीवन देशको राजनीतिक परिवेशसँगै परिवर्तन भयो । सशस्त्र द्वन्द्वले नेपालमा चरम रूप लिएर आर्थिक, शैक्षिकलगायत क्षेत्रमा धेरै असर गर्यो । द्वन्द्वकै प्रभावले नेपालमा पर्यटन व्यवसाय बन्द भयो र उत्तमको ट्रेकिङ व्यवसायको यात्रामा पूर्णविराम लाग्न पुग्यो ।

विदेशी साथीसँग राम्रो सम्बन्ध रहेकै कारण उनी जापान गए । काठमाडौं उपत्यकाको नेवारी समुदायमा जन्मिएका उनलाई बज्राचार्यभन्दा नै जापानिजले बुद्धको देशको मान्छे भनेर छुट्टै किसिमको सम्मान गथ्र्ये ।

उनका साथीले जापानमा रेष्टुराँ सञ्चालन गरेर बसेका थिए । होटल म्यानेजमेन्ट पढेका बज्राचार्यलाई कुकको ज्ञान पनि थियो र हिमालयन खानाको परिकार बनाउन थाले । जुन जापानिजले धेरै मन पराएको परिकार पनि हो ।

उनी भन्छन्, ‘मैले जापानमा यस्तो संस्कार भेटेँ जहाँ आफ्नो संस्कृतिको संरक्षण गर्न सबै जना लाग्ने रहेछन् । पूर्वीय दर्शनलाई महत्व दिएर बसेको देखेँ तर, हाम्रो देशमा त्यस्तो छैन । नेपालीहरू पश्चिमी शैलीतिर बढी आकर्षित भएका छन् ।’

द्वन्द्वको समयभरि जापान बसेर नेपालमा राजनीतिक स्थिति सामान्य भएपछि उनी नेपाल फर्किएका थिए । त्यसपछि भने उनको परिवारले  जापान जान दिएनन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘छोराछोरी पनि ठूला भइसकेका थिए ।

८ वर्षभन्दा बढी विदेश बसिसकेकाले फेरि नजानु भने, मैले पनि देशमै बसेर केही गरौं भन्ने सोचेँ तर, काम पर्दा आउनी जानी त अहिले पनि गरिरहन्छु ।’ उत्तमले जापानीजहरूले विभिन्न फूललाई  पनि चियाको रूपमा प्रयोग गरेको देखेका थिए । त्यही देखेर नेपाल आएका उनले ‘हर्बल टी’ बनाएर बिरामीको उपचार गर्न थाले ।

उनले विभिन्न आयुर्वेदिक किताबमा तितेपातीको खोजी गर्न थाले । त्यसैक्रममा तितेपातीबाट तेल निकाल्न सकिनेसमेत उनले थाहा पाए । उक्त विषयमा थप बुझ्नका लागि वनस्पति विभागमा गए ।

वनस्पति विज्ञहरूले उनलाई तितेपातीको तेल निकाल्नका लागि सल्लाह दिए । त्यहीअनुसार, उनले तितेपातीको फाइदाबारे थप बुझ्न थाले र विभिन्न थेरापी र औषधीमा प्रयोग हुन्छ भन्ने बुझे ।

उनका अनुसार, महिलाको पाठेघरको क्यान्सर तितेपातीबाट निको भएको कारण सन् २०१५ को नोबेल पुरस्कार चीनलाई दिइएको थियो । उनले भारतका वैज्ञानिकसँग पनि सम्पर्क गरे र ९५ प्रतिशत अक्सिजन तितेपातीबाट पाइने थाहा पाए ।  उनले व्यक्तिगत रूपमा आफूसँग उपचार गर्न आउने बिरामीलाई प्रयोग गरेर नै तितेपातीको तेलको बजारीकरण गर्न सफल भएका हुन् ।

खोकी लाग्दा, शरीर दुख्दा, खटिरा आउँदा यसले निको हुन्छ । आफूले मात्रै यसको प्रयोग गर्न सिकेनन् विभिन्न ठाउँका महिला समूहलाई पनि तितेपातीको तेल निकाल्ने तरिका सिकाउने गर्छन् ।

तितेपातीको सम्पूर्ण भागबाट तेल निकाल्न सकिने बज्राचार्य बताउँछन् । उनी भन्छन्, ‘सबैभन्दा बढी पातबाट त्यसपछि डाठबाट तेल निस्किन्छ तर, पूmलबाट तेल निकालेर हामीले प्रयोग गरेको छैन ।’