नेपाली उत्पादनमा अग्रसर युवाहरु

– दिवाकर उप्रेती 

| बिहीबार, असोज २१, २०७८

 

नेपालमा बेलाबेला भन्ने गरिन्छ, ‘नेपालले आजसम्म सियो पनि बनाउन सकेको छैन ।’ के वास्तवमा त्यस्तै हो त ? पक्कै पनि होइन होला । नेपालले औद्योगिकीकरणमा फड्को मार्न धेरै नै बाँकी छ । बलियो अर्थव्यवस्था बनाउन औद्योगिकीकरण प्रमुख हो । तर, व्यावसायिक वातावरण बनाउन सरोकारवालाको पनि भूमिका अहम् हुन्छ ।

कृषि, प्रविधि र सोचको सम्मिश्रणमा बनेका योजनाको कार्यान्वयनले नेपाल विश्वसामु चिनिने निश्चित छ । वर्षा बस्नेत, कर्णबहादुर शाही, सुमन पौडेल र कमला राईले नेपालको आफ्नै उत्पादनमा जोड दिँदै आफ्नै आइडिया लिएर आइडिया स्टुडियो सिजन– ५ मा आएका छन् ।

यी चार युवाले नेपालमै बनेको वस्तुबाट विश्व बजारमा नेपालको उत्पादन चिनाउँदै छन् ।

‘हिमालको सातु’

तपाईंमध्ये प्राय:ले सातु खानुभएको छ होला । घरमै फलेको मकै, गहुँ र अन्य अनाजको मिश्रणबाट बनेको सातुको स्वादको याद पक्कै पनि छ होला । तर, जीवनयापनको परिवर्तनसँगै सातु हराउँदै गएको छ । आममानिसको ध्यान बजार र रेस्टुरेन्टको विदेशी खानाको मोहसँगै यसको प्रयोग  घट्दै गएको हो ।

तर, यसलाई नै व्यवसायको माध्यम बनाउँदै आएका छन वर्षा बस्नेत, सरुप सेख र रमनी कँडेल । आइडिया स्टुडियोमा आएको टिम हिमालयले ‘हिमालको सातु’ नामक उत्पादनलाई जजसामु पस्केको छ । जसको मुख्य उद्देश्य नेपालीहरूका स्वास्थ्य समस्याहरू जस्तै; मोटोपन, मधुमेह, थकान आदिलाई सातुको दैनिक सेवनबाट निर्मूल पार्नु हो ।

टिम हिमालयकी वर्षा बस्नेत भन्छिन्, ‘९ प्रतिशत नेपाली जनता मधुमेहका बिरामी छन् । जसले गर्दा उहाँहरूलाई ग्लुटेन, चिनी र ट्रान्स फ्याट नभएको वस्तु चाहिन्छ । त्यसैले बजारमा पाइने अन्य सातुभन्दा यो भिन्न छ ।’ उनी भन्छिन, ‘कुनै रासायनिक मल प्रयोग नगरी उत्पादन गरेको हुनाले यसको स्वाद अरु सातुभन्दा फरक छ ।’

मकवानपुरका किसानसँग संकलन गरिएको कच्चा पदार्थलाई ग्लुटेन, चिनी र ट्रान्स फ्याटरहित शुद्ध बनाइन्छ । त्यसपछि सातुलाई बजारमा बिक्रीवितरण गरिन्छ । वर्षा भन्छिन्, ‘जाडोको समयमा हिमालय क्षेत्रहरूमा खानाको अभाव कम गर्न पनि सातुको प्रयोग हुन्छ ।’ जसले गर्दा सातुको व्यवसाय राम्रो हुनेमा टिम हिमालय ढुक्क छ ।

डोल्पाको–फुङ्गो फुड

डोल्पाका कर्णबहादुर शाहीले फुङ्गो फुडको योजना लिएर आइडिया स्टुडियो आएका छन् । उनले नेपालका पहाडी र हिमालीक्षेत्रहरूमा परम्परागत खेती गरिने खाद्यवस्तुलाई काठमाडौंसम्म ल्याएका छन् ।

डोल्पामा उत्पादन हुने फापरको पिठो, सिस्नोको धुलो, चिनोको चामल, जिम्बु, कालो सिमी र लट्टाको दानाजस्ता उपयोगी वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले व्यवसाय गरेका हुन् ।

उनी भन्छन्, ‘नेपाल कृषि प्रधान देश भएर पनि उत्पादन भएका वस्तुहरूको उचित व्यवस्थापन तथा बजारीकरण नभएकाले यसलाई व्यावसायिक रूपमा ल्याएको हो ।’ जैविक उत्पादन र जडीबुटीहरू संकलन गरी प्रशोधन गर्दै नेपाली बजारमा बिक्रीवितरण गर्न थालेका छन् । उनका उत्पादन अहिले मेट्रो तरकारी अनलाइनमा देख्न र किन्न सकिन्छ ।

उनी भन्छन्, ‘यो वस्तुको उपभोगले ग्राहकहरूका बीच एक स्वस्थ जीवनशैलीलाई बढावा दिन्छ ।’ कर्णको यो व्यवसायले ग्रामीण किसानहरूलाई सशक्त बनाउँदै कामको सुनिश्चितता हुनेछ ।

त्यस्तै, फुङ्गो फुडले हिमालीक्षेत्रमा पाइने जडीबुटी शिवकथ्रोनलाई समेत संकलन गर्दै नेपाली बजारमा जुसको रूपमा ल्याउने तयारी गरेको छ । शिवकथ्रोनको दानालाई संकलन र प्रशोधन गर्दै यसबाट जुस निकालिन्छ । कर्ण भन्छन्, ‘यसको माग नेपाली बजारमा मात्र नभएर विदेशी बजारमा समेत रहेकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ ।’

फुङ्गो फुडको माध्यमबाट नेपाली बजारमा डोल्पाका जैविक तथा जडीबुटीहरूको उपभोग गर्न सकिन्छ ।

पोथी

धनगढी, कैलालीका सुमन पौडेलले निकै फरक सोच लिएर आइडिया स्टुडियो आएका छन् । उनको सोचको नाम हो ‘पोथी’ । सुन्दै कस्तो विशिष्ट तथा अच्चम लाग्ने । हो, यो विशिष्ट सोचले नेपालमै चल्ला कोरल्ने मेसिन बन्न सक्ने आधार बनाएको छ ।

पोथीले अहिले चल्ला कोरल्ने मेसिन बनाउने काम गर्दै आएको छ । सुगम ठाउँमा मात्र प्रयोग गर्न सकिने अन्य मेसिनभन्दा यो फरक खालको मेसिन हो । यो मेसिन जस्तोसुकै ठाउँमा पनि प्रयोग गर्न सकिन्छ भने यसको आफ्नै विशेषता पनि छ ।

सुमन भन्छन्, ‘पोथीको मेसिनले थोरै बिजुली खपत गर्छ, खिया प्रतिरोध छ भने जस्तोसुकै स्थानमा पनि प्रयोग गर्न सकिन्छ । साथै, यसमा रहेको इलेक्ट्रिक इन्डिकेटरले यसको अवस्था बुझ्न सकिन्छ ।’

पोथीको यो मेसिनलाई मोबाइलकै एपबाट पनि चलाउन सकिन्छ । पोथीसँग अहिले ५ सय अण्डा अटाउनेसम्मको मेसिन छ । मेसिन ८० हजारदेखि २५ लाख रुपैयाँसम्म पर्छ ।

यसअघि पनि सुमनले थुप्रै खालको डिभाइस बनाएका छन् । रात परेसी आफैँ बत्ती बल्ने सिस्टम, चोर आयो भने म्यासेज आउने सिस्टम, ट्याङ्कीमा पानी सकिएपछि आफैँ चल्ने सिस्टम भएका डिभाइस उनले बनाएका छन् ।

सुमन भन्छन, ‘सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चार वर्षअघि बसचालक निदाएमा आफैँ ब्रेक लाग्ने सिस्टम बनाएको थिएँ ।’ सुमनको दृढ आत्मविश्वास र संकल्पले ‘पोथी’ मेसिन मेड इन नेपाल सम्भव भएको छ ।

मोती खेती

मोतीको माला त पक्कै लगाउनुभएको छ होला ? तर, मोती कहाँबाट आउँछ थाहा छ ? सामान्य मानिसको जवाफमा मोती समुद्रमा वा खोलामा पाइन्छ । तर, मोतीको खेती नै हुन्छ भन्दा अचम्म लाग्न सक्ला ।

मोरङ सुन्दर हरैँचाकी कमला राईले पहिलो पटक नेपालमा मोतीको खेती गर्दै आएकी छिन् । कमलाले श्री महाकाली पर्ल फार्म र प्रशिक्षण केन्द्रद्वारा मोती खेती प्रशिक्षण र ज्ञान प्रदान गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘ख्यालख्यालमै युट्युबमा देखेको जस्तो भएन । त्यसैले मैले भारतको सिफा सेन्टरबाट सिकेर सुरु गरेको हो ।’

नयाँ काम गर्ने इच्छाबाट सुरु गरिएको मोती खेतीले अहिले स्वरुप लिँदै गएको हो । मोतीको उत्पादन गर्न तीन वर्ष लाग्ने हुनाले कमला व्यावसायिक व्यवस्थापनमा छिन् ।

उनी भन्छिन्, ‘नेपालमा पाइने प्राय: मोती कृत्रिम छन् । मानिसलाई त्यसबारे बुझाउनुपर्छ ।’ उनी भन्छिन्, ‘नेपालमा भित्रिने मोतीभन्दा यो सस्तो हुनेछ ।’

यो खेतीले नेपालमा मोती उत्पादन तथा सीपीको संरक्षणमा सहयोग पुग्नेछ । साथै, मोतीखेती एक अद्वितीय व्यवसाय भएकाले सीमित स्रोतसाधन र समयबाटै व्यवसाय गर्न सकिनेमा कमला ढुक्क छिन् । जजसामु प्रस्तुत गरिएको ‘मोतीखेती’ले प्रशंसा पाएको छ । आजसम्म नेपालमा मोतीखेतीको व्यावसायिक अभ्यास भएको छैन ।

माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउण्डमा आइपुगेका योजना हुन् । यो राउण्डमा माथि उल्लेखित चारसहित अन्य चार जनाले पनि नेपालमै व्यवसाय, नेपालमै बन्न सक्ने योजना सुनाएका छन् । जसमा सेरामिक्स विकास र निर्माण, न्यानो नानी, आस्था अर्ग्यानिक कृषि र न्यानो प्याड नामक योजना प्रस्तुत भएका छन् । जम्मा आठवटा व्यावसायिक योजनामध्ये पोथी नामक योजनाले उत्कृष्ट व्यवसायको रूपमा बिउपुँजी पाउन सफल भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८, १४:०७:००

Published
Categorized as News