| आइतबार, असोज २४, २०७८
अन्य देशबाट आयात गर्ने गरिएका सामानहरू नेपालमै पनि उत्पादन हुन थालेको छ।
युवाको सोच र इच्छाशक्तिका कारण नेपालमा यस्ता व्यवसायहरू फस्टाइरहेको छ । यी व्यवसायको सुरुआत नेपालमा हुँदा स्थानीय कच्चा पदार्थको प्रयोग पनि भइरहेको छ भने स्थानीय उद्योगले प्रविधिमा समेत नयाँ छलाङ लगाउन सकेको छ । अझ यस्ता नयाँ योजनाले थप साथ र सहयोग पाएको खण्डमा अझै माथि पुग्न सक्छ भन्ने पनि देखिन्छ ।
यी उद्योगले साथ पाएको खण्डमा उत्पादनको वृद्धि मात्र नभइ आयात प्रतिस्थापन समेत गर्न सक्ने देखिएको छ ।
आइडिया स्टुडियो सिजन– ५ मा प्रेमकृष्ण प्रजापति, सुनिल बानियाँ, तारा राई, डा. भीम काफ्ले आएका छन् । उनीहरूले फरकफरक व्यावसायिक योजना लिएर आएका हुन् । यी चारैजनाको योजना पृथक र दूरदर्शीसमेत रहेको छ ।
सेरामिक्स
मध्यपुर ठिमीका प्रेमकृष्ण प्रजापति माटोको सामान बनाउँछन् । ६३ वर्षका प्रेमकृष्णले विगत ३१ वर्षदेखि सो काम गर्दै आएका छन् । उनले सेरामिक्स नामको उद्योग सञ्चालन गरेर व्यवसाय गरिरहेका छन् । सेरामिक्सले प्लेट, कप, बाथरुम टायलजस्ता गुणस्तरीय डेकोरेसनका सामान बनाउँदै आएको छ ।
उनी भन्छन, ‘यो अवधिमा थुप्रै अनुभव बटुलेको छु । आफ्नै देशको कच्चा सामानबाट यो बनाउन सकिन्छ । जसले गर्दा यी सामान सस्तो पनि छ ।’
पहिल्यैदेखि यो काम गर्दै आएका प्रेमकृष्ण माटो, ढुङ्गाजस्ता वस्तुको मिश्रणबाट सबै खालका सजावटको वस्तु बनाउँछन् । उनी हाल बालुवा खानीबाट माटो र भारतबाट विभिन्नखालका ढुङ्गा आयात गरेर काम गर्दै आएका छन् । प्रेमकृष्णको व्यक्तिगत इच्छाशक्तिबाट स्थापना भएको सेरामिक्स अहिले उचित बजारीकरणको लागि अवसर लागिपरेको छ ।
उनी भन्छन्, ‘नेपालमा सबै थोक छ । तर, सरकारको बेवास्ता गर्दा नयाँ युवासम्म यहाँको खनिज पदार्थबारे जानकार छैनन् ।’
प्रेमकृष्णको व्यवसायले अन्य देशबाट आयात हुने सजावटका सामानहरूलाई विस्थापन गर्न सक्छ । साथै, सेरामिक्सले नेपालमै यी वस्तुको उत्पादन गर्न र बजारीकरणका लागि समेत काम गरिरहेको छ ।
व्यावसायिक रूपमा अगाडि बढेका प्रेमकृष्ण नेपालमै रहेको माटो, ढुङ्गा र अन्य वस्तुको मिश्रणमा निकै गुणस्तरीय सामान बनाउन सकिनेमा ढुक्क छन् । साथै, उनको यो योजनाबाट आइडिया स्टुडियोका निर्णायकहरूले उचित सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
न्यानो नानी
गोरखाका सुनिल बानियाँको सोचमा बनेको ‘न्यानो नानी’ आइडिया स्टुडियोसम्म आइपुगेको छ । नवजात शिशुहरूलाई यो उपकरणले न्यानोपन दिन्छ ।
सुनीलको समूहमा ६ सदस्य छन् । सो समूहले विभिन्न विधाका इन्जिनियरको सहकार्यमा काम अगाडि बढाएको छ । राष्ट्रिय आविष्कार केन्द्रमा रहेर काम गर्दै आएका सुनीलले यो काम पनि यहीँबाट गर्दै आएका छन् । उनी भन्छन्, ‘सबै साथीहरू इन्जिनियर भएकाले हाम्रो सोच र सामानलाई उद्योगसँग जोड्न आइडिया स्टुडियो आएका हौँ ।’
सुनीलले बनाएको न्यानो मेसिन ३ सयभन्दा बढी नवजात शिशुहरूको उपचारमा प्रयोग भइसकेको छ । उनको यो मेसिन अहिलेसम्म १६ वटा अस्पतालमा प्रयोग हुँदै आएको छ ।
‘सस्तो, भरपर्दाे र सजिलै चलाउन सकिने हुनाले यसको माग हस्पिटलमा बढेको छ,’ उनी भन्छन, ‘अरु मेसिन डाक्टरले मात्र चलाउन सक्थे भने यो नर्सको पहुँचमा समेत छ ।’
अहिलेसम्म नेपालका विभिन्न १६ वटा ठाउँहरूमा यो उपकरण सफलतापूर्वक प्रयोगमा आइसकेको छ ।
मातृ मृत्युदर घटाउन तथा नवजात शिशुहरूलाई हुने हाइपोथर्मिया तथा श्वासप्रश्वासको समस्यालाई पनि सामाधान गर्ने उद्देश्य लिएको न्यानो नानीले प्रशंसा कमाएको छ । साथै, निर्णायकहरूले पनि यसमा साथ दिने प्रतिबद्धता जनाएका छन् ।
आस्था अर्ग्यानिक कृषि फार्म
बङ्गुर भनेको नै फोहोर जात हो । फोहोरमै खाने, फोहोरमै बस्ने हुन्छ । यो सामाजिक अवधारणालाई परिवर्तन गर्न सिन्धुपाल्चोककी तारा राईले ‘आस्था अर्ग्यानिक कृषि फार्म’ सञ्चालनमा ल्याएकी छिन् । उनी भन्छिन्, ‘यो जनावर खोरमा थुनेर पाल्ने हो र सफा ठाउँमा राखे त्यही बस्ने गर्छ ।’
आस्था अर्ग्यानिक कृषि फार्मले सफा र स्वस्थ बङ्गुरको मासु उत्पादन र बिक्रीवितरण गर्दै आएको छ ।
साथै, यो फार्मले स्वस्थ बङ्गुरको बच्चासमेत उत्पादन गरेर किसानलाई वितरण गर्ने लक्ष्य लिएको छ । ‘कीटनाशकरहित तरकारी तथा फलफूलसमेत उत्पादन गरेका छौँ,’ उनी भन्छिन्, ‘यस्तो कार्यबाट युवाहरूमा उत्प्रेरणा जागृत भए नेपालमै कृषि व्यवसाय गरेर जीविकोपार्जन गर्न सम्भव छ ।’
ताराको कार्यबाट प्रभावित भएर उनको घरनजिकैको भाइसमेत यो व्यवसायमा संलग्न भएका छन् ।
आस्था अर्ग्यानिक कृषि फार्मले बङ्गुरको वध गरेर मासुका परिकार विभिन्न कम्पनीमा पठाउने गरेको छ । साथै, नयाँ माध्यमबाट पनि प्याकेजिङ गर्ने उद्देश्यले तारा काम गर्दै आएकी छिन् ।
उनको इच्छाशक्ति र योजनाले गर्दा उनी यो व्यवसायमा सफल भइरहेकी छन् । उनी भन्छिन्, ‘नयाँ युवापुस्ताले कृषि पेसा गर्दै रोजगारी सिर्जना गर्न सक्नेबारे बताउँछिन् ।’
न्यानो प्याड
स्याङ्जाका डा. भीम काफ्लेले सौर्य हात वार्मर ‘न्यानो प्याड’ को योजना लिएर आइडिया स्टुडियो आएका छन् । पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले काफ्लेले सौर्य हात वार्मर क्रिस्टलीय सामग्रीको उत्पादन गरेका छन् ।
न्यानो प्याड एक सानो प्याकेज (थैलो) को रूपमा छ । यसमा सौर्य ऊर्जाको भण्डारण हुन्छ, जुन आवश्यक परेको बेला प्रयोग गर्न सकिन्छ । उनी भन्छन्, ‘एउटा केमिकल छ, जसले सौर्य किरण सोस्छ । सोसेको सौर्य थैलोमा संकलन हुन्छ । चाहिएको बेला प्रयोग गर्न सकिन्छ ।’
विशेषगरी जाडो ठाउँमा घुम्न जाने पर्यटक, मोटरसाइकल चालक, त्यस्तै चिसो ठाउँका बासिन्दाहरूका हात, खुट्टा, ढाड तथा कम्मर न्यानो बनाउन प्रयोग गर्न सकिन्छ ।
सञ्चित रहेको केमिकल पगाल्दै त्यहाँ रहेको सानो बटम थिचेर प्रयोग गर्न सकिन्छ । काफ्ले भन्छन्, ‘उचाइमा रहने वा पर्यटकले सजिलै उपयोग गर्न सक्छन् । यसले जाडोमा राहत दिनेछ ।’
यो उत्पादनले जाडो ठाउँमा बस्ने मानिसमा चिसोको समस्या समाधान गर्नेमा काफ्ले ढुक्क छन् । काफ्लेसँगै निर्णायकहरू पनि यो उत्पादका निम्ति सहयोग गर्न इच्छुक छन् ।
माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउन्डमा आइपुगेका योजना हुन् । यो राउन्डमा माथि उल्लेखित चारसहित अन्य चार जनाले पनि नेपालमै व्यवसाय, नेपालमै बन्न सक्ने योजना सुनाए । जसमा हिमालको सातु, फुङ्गो फुड, मोतीखेती र पोथी नामक योजना प्रस्तुत भए ।
जम्मा आठवटा व्यावसायिक योजनामध्ये पोथी नामक योजनाले उत्कृष्ट व्यवसायको रूपमा बिउपूँजी पाउन सफल भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८, १९:२५:००