Idea Studio Nepal

‘आई ह्याभ एन आइडिया– २०२१’ का विजेताले पाए जनही १ लाख रुपैयाँ पुरस्कार

– शिलापत्र संवाददाता | मंगलबार, मंसिर ७, २०७८

 

क्याम्पसमा अध्ययनरत युवाहरूलाई लक्षित गर्दै आइडिया स्टुडियोले आयोजना गरेको कलेज आइडिया हन्ट कार्यक्रमअन्तर्गत ‘आई ह्याभ एन आइडिया– २०२१’ नामक कार्यक्रम सम्पन्न भएको छ । ४ मंसिरमा सम्पन कार्यक्रममा २ सय आवेदकमध्ये तीन जना विजेता बन्न सफल भएका छन् ।

क्याम्पस पढ्दै गरेका युवाहरूबाटै व्यावसायिक सोचको विकास गर्दै व्यवसायी बनाउँदै आएको आइडिया स्टुडियोले सो कार्यक्रममा उत्कृष्ट १० जनाको व्यावसायिक सोचलाई प्रतिस्पर्धामा उतारेको थियो । जसबाट तीनवटा व्यावसायिक सोचले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

विजेतामध्ये सौरभ सिंह चौधरीले धान रोप्ने मेसिन बनाएर सुलभदरमा किसानलाई वितरण गर्ने योजना सुनाएका थिए भने एलिशा बुढा र निराजन श्रेष्ठ र सोभित कर्नको समूहले महसंसार नामक योजना सुनाएका थिए । योसँगै  रोशन ओझा, अनिशा थापा, प्रशान्त कँडेलको समूहले बिजुलीबाट अन्न सुकाउने मेसिन बनाएर किसानलाई सुलभ दरमा बिक्री वितरण गर्ने योजना सुनाएका थिए ।

कार्यक्रममा माथि उल्लेखित व्यावसायिक सोचबाहेक अन्य आठ जनाले पनि आ–आफ्नो सोच र व्यवसायलाई प्रतिस्पर्धामा उतारेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले नेपाली शिक्षा सैद्धान्तिक मात्रै रहेकाले लगानी बढाएर यस क्षेत्रलाई व्यावहारिकतातर्फ ढाल्नुपर्ने धारणा राखे । उनले भने, ‘शिक्षाक्षेत्रमा बजेट न्यून छ । बजेट बढाउन सरकारलाई पहल गर्नुपर्ने अवस्था आएको छ ।’

यसका साथै पछिल्लो समय शिक्षाक्षेत्रमा व्यवसायको रूपमा मौलाउँदै जाँदा क्याम्पसहरूबीच नै अस्वस्थ प्रतिस्पर्धा सुरु भएको भन्दै उनले यो तत्काल बन्द गरेर विद्यालयको स्वच्छ छविलाई कायम राख्नुपर्ने धारणा राखे ।

आइडिया स्टुडियो नेपालले आयोजना गर्ने कलेज आइडिया हन्ट कार्यक्रम  पछिल्लो समय युवापुस्ताका लागि व्यावसायिक बाटोको पथप्रदर्शक बन्दै आएको छ । हरेक वर्ष आयोजना हुने यस कार्यक्रममा यो वर्ष पनि २ सयभन्दा बढी विद्यार्थीले आफ्नो व्यावसायिक सोचसहित प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । जसमा उत्कृष्ट १० जना छनोट भएका थिए । उत्कृष्ट १० बाट पनि तीन प्रतिस्पर्धी भने विजेता बन्न सफल भएका हुन् ।

यो दिन काठमाडौं मोडल कलेज इनोभेसन सेन्टरको उद्‌घाटन पनि गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८, १५:००:१४

Scroll to Top