Idea Studio Nepal

व्यवसाय गर्ने हुटहुटी छ ? आइडिया स्टुडियोले पूरा गर्न सक्छ तपाईंको सपना

– शिलापत्र संवाददाता | मंगलबार, फागुन ३, २०७८

तपाईंलाई कुनै आइडिया आएको छ ? त्यसलाई व्यवसायमा बदल्न झन्झट भइरहेको छ ? लगानी पर्याप्त छैन ? प्रशासनिकलगायतका विभिन्न समस्याहरू झेल्दै हुनुुहुन्छ ? यदि यसो हो भने आइडिया स्टुुडियो सारथि बन्न सक्छ ।

कसरी व्यवसाय गर्ने भन्ने सोचमै अलमलिएका नवउद्यमीहरूलाई व्यवसायी बनाउन पुलको काम गर्दै आएको छ आइडिया स्टुडियोले । हरेक वर्ष आइडिया स्टुडियो नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेर सोचलाई व्यवसायमा स्थानान्तरण गर्दै आएको छ ।

यसरी सोचलाई व्यवसाय बनाउन युवाहरूको व्यावसायिक सारथि बन्दै आएको स्टुडियोले यो वर्ष पनि आवेदन माग गरेको छ । आइडिया स्टुडियोको नयाँ सिजनमा समावेश हुनका लागि आगामी ६ फागुनसम्म आवेदन बुझाउन सकिनेछ ।

सोचलाई उद्योगको रूप दिन विगत ८ वर्षदेखि आइडिया स्टुडियो लागिपरिहेको छ । कहिले प्रतिस्पर्धाको माध्यमबाट त कहिले सचेतनाको माध्यमबाट नेपाली युवालाई नेपालमै व्यवसायी बनाउन लागिपरिरहेको आइडिया स्टुडियो तपाईंको पनि व्यावसायिक सारथि बन्न सक्छ ।

जसका लागि आवेदन दिएका आइडियटरहरूलाई स्टुडियोले सम्बन्धित विज्ञबाट व्यवसाय कसरी गर्ने ? के–के कुरामा अध्ययन गर्ने ? लगानी कसरी जुटाउनेलगायत व्यावसायिक विस्तारका विषयमा तालिम दिनेछ ।

यसरी दिनुस् आवेदन

‘सोचदेखि उद्योगसम्म’को नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’को छैटौँ सिजनका लागि आवेदन भर्न सकिन्छ । आवेदन आइडिया स्टुडियो नेपालको वेबसाइटमा गएर सिजन ६ का लागि दिइएको आवेदनफारम भर्नुपर्नेछ । जसमा तपाईंको व्यावसायिक सोच, कार्यान्वयनको अवस्था र भावी योजनासमेत समेटिनुपर्नेछ । यसरी आवेदन फारम भरेपश्चात् तपाईंको व्यावसायिक सोच वा व्यवसाय छनोट गरिनेछ तालिमका लागि । तालिमपश्चात् भने अन्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धामा उतारिनेछ । योबीचमा व्यावसायिक प्रशिक्षण मात्रै नभएर कर्जाका लागि समन्वय तथा लगानी पनि आइडियो स्टुडियोले गर्नेछ ।

सन २०१४ बाट सुरु भएको आइडिया स्टुडियो सिजन– ५ सम्म आइपुग्दा झण्डै २५ सयभन्दा बढी नवउद्यमीहरू जोडिइसकेका छन् । जसमा १ सयभन्दा बढी प्रतिस्पर्धीले सोचबाट उद्यमको यात्रा तय गरिसकेका छन् ।

यी विधामा दिनुस् तपाईंको आवेदन  

गत वर्षझैँ यस वर्ष पनि स्टुडियोले मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र ग्रिनोभेसन गरी चारवटा सेगमेन्टमा बिजनेस आइडिया प्रस्तुत गर्ने मौका दिने जनाएको छ । जसमा विधाका लागि वातावरणमैत्री व्यावसायिक योजना पेस गर्नुपर्ने हुन्छ भने हाई फ्लाइङका लागि प्रविधिमैत्री तथा समय सान्दर्भिक योजना पेस गर्नुपर्ने हुन्छ ।

त्यस्तै, मेड इन नेपाल विधामा नेपालमै उत्पादन गरेर आयातलाई प्रतिस्थापन गर्न सहयोग पुर्‍याउने तथा नेपाली उत्पादनलाई बढावा दिन सहयोग पुर्‍याउने खालका व्यावसायिक योजना पेस गर्नुपर्ने हुन्छ । सोसियल इम्प्याक्ट विधामा चाहिँ सामाजिक र सकारात्मक रुपान्तरणमा अग्रसर बनेका र बन्न चाहने व्यावसायिक योजनाहरू पेस गर्नुपर्ने हुन्छ ।

कसरी छनोट हुन्छ आइडिया ?

देशभरबाट आएका आइडिया ‘बैंकबाट झिकेर’ छनोट गरिन्छ । पहिलो चरणमा एक सयवटा आइडिया छनोट गरिन्छ । तीमध्येका पनि उत्कृष्ट ४० आइडियालाई छनोट गरेर विज्ञले तालिम दिने, उद्यमी बन्न चाहिने आवश्यक प्रक्रिया सिकाउने, लगानीको वातावरण कसरी बनाउने ? कहाँबाट लगानी जुटाउनेलगायतका विषयमा विज्ञले परामर्श र ज्ञान दिन्छन् ।

त्यसपछि ती ४० आइडियालाई टीभी शोमा प्रस्तुत गरिन्छ । तीमध्येका उत्कृष्ट आइडियालाई बैंकदेखि व्यक्तिसम्मले लगानी गर्न सक्छन् ।

Scroll to Top