Idea Studio Nepal

आइडिया स्टुडियोलाई जनसेवाश्री पदक

– शिलापत्र संवाददाता

 

आइडिया स्टुडियो नेपाल जनसेवा श्री पदकबाट सम्मानित हुने भएको छ । संविधान दिवस २०७८ को अवसरमा आइडिया स्टुडियोलाई प्रबल जनसेवाश्री पदक दिइने घोषणा भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन् ।

आइडिया स्टुडियो नेपाल विगत सात वर्षदेखि स्टार्टअप व्यवसाय गर्न चाहनेहरूको पथप्रदर्शक बन्दै आएको छ । सरकारले नवप्रर्वतनमा मुख्य भूमिका निभाएको भन्दै जनसेवाश्री पदकका लागि छनोट गरेको हो ।

स्टुडियोले सिजन ५ सम्म ४० भन्दा धेरै व्यावसायिक सोच भएकालाई उद्यमीको रूपमा समाजमा स्थापित गरिसकेको छ भने व्यावसायिक योजना लिएर आउने सयौँलाई प्रशिक्षणसमेत दिइसकेको छ ।

विशेषगरी कृषि, वातावरण र इनोभेसनलाई प्राथमिकतामा राख्दै स्टुडियोले नयाँ योजना लिएर आउनेलाई व्यावसायिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

हाल आइडिया स्टुडियो सिजन ५ प्रसारण भैरहेको छ । एपीवान टेलिभिजनबाट प्रसारण भैरहेको यो कार्यक्रमको पहिलो भागअन्तर्गतको ड्रिम राउन्ड सम्पन्न भैसकेको छ भने अहिले डिल राउन्ड प्रसारण भैरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८, १६:१३:००

Scroll to Top