Idea Studio Nepal

कलेज आइडिया हन्ट २०२१ का लागि आवेदन खुल्यो, विद्यार्थीले यसरी दिन सक्छन् आवेदन

– शिलापत्र संवाददाता

आइडिया स्टुडियोद्वारा सञ्चालित कलेज आइडिया हन्ट २०२१ का लागि आवेदन खुला गरिएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई व्यवसायी बन्न सिकाउने यो कार्यक्रम आइडिया स्टुडियोले हरेक वर्ष गर्दै आएको छ ।

यो वर्षका लागि पनि आइडिया स्टुडियोले विद्यार्थीबाट व्यावसायिक आइडियासहितको आवेदन माग गरिसकेको छ । १७ भदौदेखि खुलेको आवेदनमा कलेजमा अध्ययनरत जुनसुकै विद्यार्थीले आफ्नो व्यावसायिक आइडियासहित आवेदन दिन सक्नेछन् । आवेदन ८ असोजसम्म खुल्ला रहने बताइएको छ । आवेदन गत साउनमै खुलाइए पनि कोरोनाका कारण विद्यार्थीले आवदेन दिन समस्या हुने भन्दै मिति संशोधन गरिएको आयोजकले जनाएका छन् ।

यो प्रतिस्पर्धामा छानिएका आइडिएटरहरूलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यवसायीहरूबाट व्यावसायिक प्रशिक्षण पनि दिइनेछ । यससँगै उत्कृष्ट तीन आइडिएटरलाई विजेता घोषित गरिने र ती विजेतालाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आइोजक स्टुडियोले जनाएको छ ।

कलेज आइडिया हन्ट २०२१ मा सहभागी विद्यार्थीहरूको आवेदनबाट छानिएका १० प्रतिस्पर्धीलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यवसायीहरूबाट व्यावसायिक प्रशिक्षण पनि दिइनेछ । यससँगै उत्कृष्ट तीन प्रतिस्पर्धीलाई  विजेता घोषित गरिने र ती विजेतालाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यसरी दिनुस् आवेदन 

व्यावसायिक आइडियासहितको आवेदन दिँदा सबैभन्दा पहिले तपाईंले आइडिया स्टुडियोको वेबसाइटमा रहेको फारम भर्नुपर्ने हुन्छ । फारम भर्दा आफ्नो नाम ठेगाना, अध्ययनरत विषय र कलेजको नाम, अनिवार्य उल्लेख गर्नुपर्नेछ । त्यसपछि आफ्नो व्यावसायिक आइडियाको नाम र त्यसको विवरणसहित  २ मिनेटको भिडियो पनि पठाउनुपर्ने हुन्छ ।

भिडियोमा तपाईंको व्यवसायले कस्ताकस्ता समस्याको समाधान गर्दै छ वा गर्नेछ ?  लक्षित ग्राहक को हुन्जस्ता कुराहरु उल्लेख गर्न छुटाउनु हुँदैन । योसँगै तपाईंले व्यावसायिक योजना पठाइरहँदा तपाईंको व्यवसाय समाज तथा वातावरणलाई सकारात्मक प्रभाव पार्ने हुनुपर्नेछ । भिडियो बनाउँदा २ मिनेटभन्दा लामो हुनु हुँदैन र भिडियोमा तपाईंको अनुहार प्रस्ट देखिएको हुनुपर्नेछ । भिडियो तपाईंले नेपाली वा अंग्रेजी दुवै भाषामा बनाउन सक्नुहुनेछ ।

यसरी आफ्नो भिडियोलाई गुगल ड्राइभमा अपलोड गरी उक्त भिडियो लिंकलाई आफूले भरेको फारममा हाल्नुपर्नेछ। आवेदन   www.ideastudio.org.np/submit-college-idea-hunt मा गएर दिन सकिनेछ ।

थप जानकारीका लागि 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८, १८:२२:४६

Scroll to Top