News

कृषिलाई यान्त्रिकरण गर्ने ३ आइडिया भए कलेज हन्टमा छनौट

क्यापिटल नेपाल   काठमाडौं । प्रगतिशील रुपान्तरण तथा व्यावसायिकता प्रवर्द्धनको क्षेत्रमा क्रियाशील आइडिया स्टुडियोले ‘कलेज आइडिया हन्ट २०२१’ मंसिर ४ गते सम्पन्न गरेको छ । पाठलाई प्रसंगमा बदल्ने उद्देश्यसहित आइडिया स्टुडियाले २०१४ देखि कलेज आइडिया हन्ट सुरु गरेको हो । उक्त कार्यक्रममा देशभरका कलेजबाट विद्यार्थीहरूले आफ्नो नवप्रवर्तित व्यावसायिक आइडियाहरूलाई प्रस्तुत गर्ने गर्छन् । यस वर्षको कलेज आइडिया हन्टको संस्करण काठमाडौं मोडल कलेजमा आयोजना भएको थियो । उक्त कार्यक्रममा देशभरका कलेजहरूबाट करिब २ सय आइडियाहरूले सहभागिता जनाएका थिए । जसबाट आयोजक आइडिया स्टुडियोले उत्कृष्ट १० आइडियालाई छनोट गरेको थियो । छनोट भएका आइडियाहरूलाई व्यवसायसम्बन्धी विविध तालिम प्रदान गरेपश्चात् विद्यार्थीहरूले अन्तिम चरणको आइडिया पिचिङ कार्यक्रम ‘आई ह्याभ एन आइडिया २०२१’ मा आफ्नो आइडिया, त्यसको व्यावसायिक मोडलका बारेमा प्रस्तुति दिएका थिए । तर, अन्तिम चरणको कार्यक्रममा १० मध्ये ८ समूहले मात्र सहभागिता जनाएका थिए । प्रस्तुत भएका आइडियामध्ये शीर्ष ३ ले कलेज आइडिया हन्ट २०२१ को उपाधि जित्न सफल भएको थियो । उक्त ३ शीर्ष उत्कृष्ट आइडियाहरूले जनही १ लाखको पुरस्कारसमेत प्राप्त गरेको थियो । यस्ता छन् कलेज आइडिया हन्ट २०२१ बाट छनोट हुन सफल शीर्ष ३ आइडिया राइस ट्रान्सप्लान्टर, सौरभ सिंह चौधरी  सारदा विश्वविद्यालय भारतबाट इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक तह अध्ययन पूरा गरेका सौरभ सिंह चौधरीले कलेज आइडिया हन्टमा आफूले निर्माण गरेको खेतमा धान रोप्ने राइस ट्रान्सप्लान्टर मेसिन प्रस्तुत गरेका थिए । देशको करिब ६६ प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा संलग्न भएको कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरी नयाँ क्रान्ति ल्याउने प्रयास स्वरुपमा आफूले उक्त प्रविधि निर्माण गरेको सौभर बताउँछन् । प्रतिवर्ष २.५ लाख रुपैयाँसम्मको कुल गार्हस्थ उत्पादन भएका साना किसानहरूलाई लक्षित गरी धान रोप्ने मेसिन निर्माण गरेर सौभरले आफ्नो यो प्रयासको थालनी गरेका छन् । ‘नेपाली कृषकहरूको आफ्नौ फरक समस्या छन्, हामीले हाल प्रयोग गरिरहेका विदेशी मेसिनहरू यहाँका स्थानीय कृषकहरूको समस्यालाई सम्बोधन गर्न सक्ने किसिमले बनेका छैनन्,’ सौरभ भन्छन्, ‘हामी नेपाली कृषकहरूको समस्यामा केन्द्रित रहेर सुलभमूल्यमा, मर्मत योग्य, कम्प्याट तथा सजिलो मेसिन प्रदान गर्नेछौं ।’ राइस ट्रान्सप्लान्टरको आइडिया सफल भएको खण्डमा आफ्नो समूहले आलु, मकै प्लान्टर तथा अन्य खेतीजन्य उपकरण निर्माण गर्ने उनी बताउँछन् । मल्टी ग्रेन इलेक्ट्रिक ड्राइङ सिलो, रोशन ओझा, अनिश थापा, प्रशान्त कँडेल खेतबाट अन्नबाली भित्राएपछिको महत्वपूर्ण काम भनेको त्यसलाई सुकाउने हो । तर, यसका लागि अझै पनि नेपालको कृषि क्षेत्र परम्परागत शैली, अर्थात् घाममै निर्भर छ । यसैले काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले रोशन ओझा, अनिश थापा, प्रशान्त कँडेलले ‘मल्टी ग्रेन इलेक्ट्रिक ड्राइ मेसिन शिलो’ डिजाइन गरेका छन् । कलेज आइडिया हन्टमा २०२१ मा प्रस्तुत भई उत्कृष्ट ३ मा पर्न सफल यो मेसिनले जस्तोसुकै मौसममा पनि अन्नबालीलाई छोटो समयमा, प्रभावकारी रुपमा सुकाउन सक्छ । यो ड्राइ मेसिनमा बाली निरीक्षण गर्ने तथा आद्र्रता थाहा पाउन सक्ने सेन्सरयुक्त फिचर पनि छन् । यसले अन्न बालीको थप प्रशोधिकरणमा यूभीसी ट्रिटमेन्ट पनि गर्दछ जसले अन्न बालीको आयुलाई पनि बढाउने सुनिश्चित गर्छ । अन्न बाली राम्रोसँग नसुक्दा वर्षभरि धान्न पर्ने अन्न बाली भण्डारणको समयमा ढुसी लाग्ने, बिग्रने समस्याहरू किसानहरूले लामो समयदेखि भोग्दै आइरहेका छन् । घाममा सुकाउने परम्परागत विधिमा लामो समय लाग्ने, मौसम अस्थिर हुँदा प्रभावकारी नहुने समस्या रहँदै आएको छ । तर, आफ्नो प्रोडक्ट बेस्ड सोल्युसन ‘मल्टी ग्रेन इलेक्ट्रिक ड्राइ मेसिन शिलो’ ले अन्न बालीमा आद्र्रताको मात्रा घटाइ, लामो समयसम्म टिकाउ रहने गरी भण्डारण गर्न किसानहरूलाई ढुक्क बनाउन बताउँछन् । प्रयोग र मागका अनुसार यो मेसिनको क्षमता सानोमा १ सयदेखि २ सयकेजीसम्म, मध्यममा ५ सयदेखि ७ सय केजीसम्म र ठूलोमा १२ सयदेखि १५ सय केजीसम्म रहेको छ । साधारण ज्ञान भएका मान्छेले पनि यसलाई सजिलै मेनुअल विधिबाट चलाउन सक्छन् । काठमाडौं विश्वविद्यालयको यो समूहले आफ्नो नवीन निर्माणलाई सामुदायिक कृषि, अन्न आपूर्तिकता, कर्पोरेट कम्पनीहरूमा पुर्याउने बताएको छ । महसन्सार, सोभित कुमार कर्ण, अलिशा बुढा, निरन्जन श्रेष्ठ पुलचोक क्याम्पसका तीन विद्यार्थीहरूले निर्माण गरेको मह संसार कलेज आइडिया हन्टमा उत्कृष्ट ३ मा पर्न सफल नविन व्यावसायिक आइडिया हो । मह संसार एउटा आर्टिफिसियल इन्टेलिजेन्स युक्त रोबोटिक हाइभ अर्थात् घार हो । मौरीहरूलाई व्यवस्थापन गर्न, स्वस्थकर रुपमा हुर्काउन यो हाइभलाई एआई एल्गोरिदम प्रयोग विकास गरी विशेष रुपमा डिजाइन गरिएको छ । हाइभको हार्डवेयरसँगै उपलब्ध यो प्रविधि नेपालका लागि एकदमै नवीन प्रविधि हो । नवप्रवर्तनमा आधारित यो व्यावसायिक मोडल, मौरी कृषकहरूले पूर्ण सब्सक्रिप्सन मोडलमा प्रयोग गर्न सक्छन् । आफूहरूले उक्त मह संसार एआई हाइभ सेटअप गर्न, डेलिभर गर्न तथा हटाउन सेवाग्राहीसँग कुनै शुल्क नलिने उनीहरू बताउँछन् । प्रतिहाइभ आफूहरूले कृषकसँग आफ्नो सेवाको सब्सक्रिप्सन शुल्क लिने उनीहरूले बताए । यो मेसिनले मौरीको अवस्थामाथि २४ घण्टै निरीक्षण राख्छ । मह कति उत्पादन भयो र कति पोलिनेसन भयो यी सबै कुरा मेसिनमा पूर्ण पारदर्शी हुनेछ । मौरीको मृत्युदर घटाउन मौरीपालनलाई सफ्टवेयर सोल्युसनबाट डिजिटाइज गरेको यो प्रविधि नेपालका लागि एकदमै नवीन छ ।  मङ्गलबार ७ मंसिर २०७८ ०५:४० PM मा प्रकाशित

‘आई ह्याभ एन आइडिया– २०२१’ का विजेताले पाए जनही १ लाख रुपैयाँ पुरस्कार

– शिलापत्र संवाददाता | मंगलबार, मंसिर ७, २०७८   क्याम्पसमा अध्ययनरत युवाहरूलाई लक्षित गर्दै आइडिया स्टुडियोले आयोजना गरेको कलेज आइडिया हन्ट कार्यक्रमअन्तर्गत ‘आई ह्याभ एन आइडिया– २०२१’ नामक कार्यक्रम सम्पन्न भएको छ । ४ मंसिरमा सम्पन कार्यक्रममा २ सय आवेदकमध्ये तीन जना विजेता बन्न सफल भएका छन् । क्याम्पस पढ्दै गरेका युवाहरूबाटै व्यावसायिक सोचको विकास गर्दै व्यवसायी बनाउँदै आएको आइडिया स्टुडियोले सो कार्यक्रममा उत्कृष्ट १० जनाको व्यावसायिक सोचलाई प्रतिस्पर्धामा उतारेको थियो । जसबाट तीनवटा व्यावसायिक सोचले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेतामध्ये सौरभ सिंह चौधरीले धान रोप्ने मेसिन बनाएर सुलभदरमा किसानलाई वितरण गर्ने योजना सुनाएका थिए भने एलिशा बुढा र निराजन श्रेष्ठ र सोभित कर्नको समूहले महसंसार नामक योजना सुनाएका थिए । योसँगै  रोशन ओझा, अनिशा थापा, प्रशान्त कँडेलको समूहले बिजुलीबाट अन्न सुकाउने मेसिन बनाएर किसानलाई सुलभ दरमा बिक्री वितरण गर्ने योजना सुनाएका थिए । कार्यक्रममा माथि उल्लेखित व्यावसायिक सोचबाहेक अन्य आठ जनाले पनि आ–आफ्नो सोच र व्यवसायलाई प्रतिस्पर्धामा उतारेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले नेपाली शिक्षा सैद्धान्तिक मात्रै रहेकाले लगानी बढाएर यस क्षेत्रलाई व्यावहारिकतातर्फ ढाल्नुपर्ने धारणा राखे । उनले भने, ‘शिक्षाक्षेत्रमा बजेट न्यून छ । बजेट बढाउन सरकारलाई पहल गर्नुपर्ने अवस्था आएको छ ।’ यसका साथै पछिल्लो समय शिक्षाक्षेत्रमा व्यवसायको रूपमा मौलाउँदै जाँदा क्याम्पसहरूबीच नै अस्वस्थ प्रतिस्पर्धा सुरु भएको भन्दै उनले यो तत्काल बन्द गरेर विद्यालयको स्वच्छ छविलाई कायम राख्नुपर्ने धारणा राखे । आइडिया स्टुडियो नेपालले आयोजना गर्ने कलेज आइडिया हन्ट कार्यक्रम  पछिल्लो समय युवापुस्ताका लागि व्यावसायिक बाटोको पथप्रदर्शक बन्दै आएको छ । हरेक वर्ष आयोजना हुने यस कार्यक्रममा यो वर्ष पनि २ सयभन्दा बढी विद्यार्थीले आफ्नो व्यावसायिक सोचसहित प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । जसमा उत्कृष्ट १० जना छनोट भएका थिए । उत्कृष्ट १० बाट पनि तीन प्रतिस्पर्धी भने विजेता बन्न सफल भएका हुन् । यो दिन काठमाडौं मोडल कलेज इनोभेसन सेन्टरको उद्‌घाटन पनि गरिएको थियो । प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८, १५:००:१४

आफूले बनाएको ‘बेबी वार्मर’, विदेशमा निर्यात गर्ने योजना बुन्दैछन् चार युवा इन्जिनियर

शर्मिला न्याैपाने   काठमाडौं । युनेस्कोको एक अध्ययनअनुसार नेपालमा जन्मिएका प्रत्येक एक हजार जीवित शिशुमध्ये २८ दिनभित्र २१ जनाको मृत्यु हुने गरेको छ । यसको अर्थ हो, नेपालमा शिशु मृत्युदर उच्च रहेको छ । यो समस्या समाधानको विकल्पमा चार जना युवा मिलेर विगत ४ वर्षदेखि सञ्चालनमा ल्याएका छन् ‘न्यानो नानी’ अर्थात् बेबी वार्मर । गोरखामा जन्मिएका सुनिल बानियाँ बच्चा बेलामा धेरै बिरामी हुन्थ्ये तर, उपयुक्त उपकरणको अभावमा उनलाई उपचार गर्नका लागि चितवन र  काठमाडौंलगायत सहरमा पुर्याउनु परेको अभिभावकले सुनाएका थिए । पछि थाहा भयो उनलाई हापोथर्मिया रोग लागेको रहेछ । जुन उपयुक्त तापक्रमको अभावमा बालबालिकालाई लाग्ने रोग हो । सुनिल सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । उनी सन् २०१५ मा ‘इन्जिनिरिङ वर्ल्ड हेल्थ’ कार्यक्रमका लागि वर्ल्ड  हेल्थ संस्थाबाट प्रोग्राम कोअर्डिनेटरको रुपमा ओखलढुङ्गाको ‘मिसन हस्पिटल’मा गएका थिए । उनी त्यहाँ रहँदा विभिन्न समस्या देखे तर, सबै कुराको याद उनलाई भएन । यद्यपि एक दिन उनले देखेको एउटा बच्चाको समस्याले आफ्नो बाल्यकालमा मात्रै फर्काएन नयाँ कुराको खोजी गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे । सन् २०१५ को उक्त घटना सम्झिदै उनी भन्छन्, ‘मिसन हस्पिटलमा मैले १ दिनको बाटो हिँडेर बच्चाको उपचार गर्न आएका मान्छे आफ्नै आँखाले देखेँ । म बिरामी भएको याद आयो, हुन त मलाई बिरामी भएको क्षण थाहा छैन सानै थिएँ बुबा-ममीले भनेको सुनेको मात्रै हो ।’ क्यापिटल नेपालसँग कुरा गर्दै बानियाँ भन्छन्, ‘त्यो बेलाको जस्तो समस्या अहिले पनि रहेछ भन्ने लाग्यो र बुबा–आमाले मेरो लागि कति दुःख गर्नुभयो ? होला भन्ने पनि सोचेँ, त्यही समयमा हो हापोथर्मिया रोगबाट बच्चालाई बचाउनका लागि हामीले पनि केही गर्नुपर्छ र गर्न सकिन्छ होला भन्ने लागेको । तर, के गर्ने भन्नेमा निश्चित थिइनँ ।’ उक्त सोच काठमाडौं फर्किएर पछि आफ्ना साथीहरु महित केसी, सन्जयबहादुर सिंह, र सुरज कार्कीलाई सुनाएको बताउँछन् सुनिल । सुनिल सिभिल इन्जिनियरका विद्यार्थी हुन् भने उनका साथी बायो मेडिकल इन्जिनियर । नयाँ काम गरौं भन्ने जोस भएका युवाहरु सुनिलले भोगेको र देखेको समस्या समाधानको लागि नयाँ आइडिया निकाल्नेतर्फ सोच्न थाले र चारै जना मिलेर ‘बेबी इन्क्यूबेटर’ बनाउनतर्फ लागे । जसका लागि १ वर्ष रिसर्च गर्नमा नै समय बित्यो । उनीहरुले सुरुमा ‘न्यानो नानी’ भने बनाएका थिएनन् । पछि डाक्टरहरुसँग सल्लाह लिँदा बेबी इन्क्यूबेटरभन्दा ‘बेबी वार्मर’ अर्थात् न्यानो नानी बनाउनु उपयुक्त हुने सुझाव पाए । सोही सुझावअनुसार इन्क्यूबेटरको आइडियालाई ‘बेबी वार्मर’ बनाउन प्रयोग गरेको सुनिलको भनाइ छ । सो ‘बेबी वार्मर’ बनाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रले समेत सहयोग गरेको छ । हुन त विश्वमा नै पहिलोपटक बेबी वार्मर उनीहरुले बनाएका होइनन् । अन्य देशहरुमा प्रयोगमा आइरहेको रहे पनि नेपालीको लागि भने उनीहरुले नै पहिलो पटक बनाएका हुन् । पहिला महँगो मूल्यमा ‘बेबी वार्मर’ नेपाल भित्र्याउने गरे पनि अब उक्त समस्या नरहने सुनिलको भनाइ छ । हालसम्म नेपालका १७ वटा अस्पतालमा बेबी वार्मरको प्रयोग भइरहेको छ । जसध्ये उपत्यकाका ४ वटा अस्पतालमा उक्त मेसिन प्रयोगमा छन् । त्यस्तै उपत्यका बाहिर महेन्द्रनगर, निजगढ, बागलुङ, इटहरी, नवलपरासी, खोटाङ र प्युठानलगायत स्थानका अस्पतालमा बार्मरको प्रयोग भएको बताइएको छ । यद्यपि बच्चालाई न्यानो बनाउन केही गर्नुपर्छ भन्ने सोच आएको मिसन अस्पताल ओखलढुङ्गामा भने हालसम्म उक्त उपकरण पुर्याउन सकेका छैनन् । तर, मिसन अस्पतालमा पनि बेबी वार्मरको व्यवस्था गर्ने उनीहरुको योजना रहेको छ । बानियाँ भन्छन्, ‘ओखलढुङ्गामा मात्रै होइन काठमाडौंबाट नजिकै भए पनि नुवाकोटको एउटा हेल्थ पोस्टमा बच्चालाई न्यानो राख्न लागि हिटरको प्रयोग गरेको देखेका थियौं । नेपालमा बार्मरको आवश्यकता छ भन्ने यस्ता धेरै उदाहरण छन् ।’ न्यानो नानीको आवश्यकता सहरी क्षेत्रमाभन्दा बढी दुर्गम क्षेत्रमा रहेको उनहरुको अनुभव छ । सोहीअनुसार दुर्गम तथा हिमाली क्षेत्रमा न्यानो नानी उपकरणलाई प्राथमिकताका साथमा विस्तार गर्ने योजना बताएका छन् । सामान्यतयाः स्वस्थ्य जन्मिएको बच्चाका लागि ३७ डिग्री सेल्सिएस तापक्रम आवश्यक पर्छ । न्यानो नानी मेसिनमा पनि अधिकतम ३७ डिग्री सेल्सिएससम्म तापक्रम रहन्छ भने, सबैभन्दा कम सम्बन्धित कोठाको तापक्रमसम्म बनाउन सकिने बताइएको छ । उक्त उपकरणमा बच्चालाई राख्न मिल्ने सुनिल बताउँछन् । सो उपकरण जन्मिएको एक हप्तासम्मका बच्चालाई न्यानो प्रदान गर्न उपयुक्त हुन्छ । १७ वटा अस्पतालमा न्यानो नानीको उपकरण जडान भइसकेको छ । सुरुमा नेपालीहरुले पनि बनाउन सक्छन् र ? भन्नेहरुले अहिले राम्रो उपकरण भन्दै प्रतिक्रिया दिएको उनको भनाइ छ । उनीहरु आइडिया स्टुडियोले आयोजना गरेको सिजन ५ मा सहभागी भएका छन् । साथै उक्त उपकरण देशभरी विस्तार गर्ने योजना उनीहरुले बताएका छन् । तर, लगानीकर्ताहरुको खाँचो रहेको सुनिलले बताए । विदेशमासमेत नेपाली ब्राण्डको विस्तार गर्ने योजनामा छन् न्यानो नानी उपकरण बनाउने ४ युवा । सो उपकरणका लागि आवश्यक पर्ने सामान भने भारत तथा चीनबाट ल्याउने गर्छन् । अन्य डिजाइन नेपालमा उनीहरु आफैंले बनाउँछन् । सामान्यतयाः एउटा मेसिन तयार गर्नको लागि ६० हजार रुपैयाँ लाग्छ । ‘एउटा–एउटा बनाउने भएर अहिले महँगो परेको हो तर, एकैपटक ५०/६० वटा बनाउँदा लागत घट्छ’ उनले भने ।  शुक्रबार​ ५ कात्तिक २०७८ ०८:४७ AM मा प्रकाशित

आइडिया स्टुडियोको नविन सोच: मानसिक उपचारदेखि घरेलु खाजा र अतिथि सत्कारसम्म

– दिवाकर उप्रेती | काठमाडौं, कात्तिक ९   नेपालमै व्यवसाय गर्न निकै सम्भावनाहरू छन् । व्यवसायिक सोच राखेर अघि बढ्दा धेरैले सफलता समेत पाएका छन् । कतिले व्यवसायलाई नेपालमा मात्र नभएर विदेशसम्मै पुर्‍याएका छन् । अधिकांशको सपना पनि आफ्नो उत्पादन विदेशमा बिक्री वितरण होस् भन्ने नै हुन्छ । विश्वका सबै देश अहिले आफ्नो उत्पादनलाई अन्य देशमा बिक्री बितरण गर्ने लक्ष्यमा छन् । जुन देशले उत्पादन गर्न सक्दैन, निश्चय पनि त्यस देशले आयात गर्नुपर्छ । आयात गर्दा अर्थ बाहिर जाने भएकाले कुनै न कुनै रूपमा देश गरिब हुन्छ । त्यसैले बलियो अर्थतन्त्रको लागि स्वदेशमै उत्पादन र प्रयोग गर्नुका साथै आफ्ना उत्पादनकाे निर्यात गर्न आवश्यक छ । नेपालको सामाजिक अर्थतन्त्रमा टेवा पुग्ने र नेपाली उत्पादनलाई निर्यात गर्ने लक्ष्य लिँदै आइडिया स्टुडियोको मञ्चमा नविन सोचहरू प्रस्तुत भएका छन् । मिसिंग काउन्सेलर  मानसिक स्वास्थ्य समस्याले अहिले विकराल रूप लिइरहेकाे छ । कामको चाप, घरायसी खटपट, व्यस्त जीवनशैली जस्ता कारणले मानसिक स्वास्थ्य समस्या बढिरहेकाे हाे । तर मानिसहरूले आफूमा रहेकाे मानसिक समस्यालाई लुकाउने गरेका छन् । यसाे हुँदा मानिसमा थप विचलन पैदा हुने गर्छ । यो समस्या समाधान गर्न अजय पाण्डे र निश्मा चौधरीले ‘मिसिंग काउन्सेलर’ नामक व्यवसाय आइडिया स्टुडियोमा लिएर आएका छन् । मानसिक स्वास्थ बारेको अज्ञानताले मानिस आत्महत्याकाे हदसम्म पुग्न सक्छ । सामान्य उपचार र परामर्शमा आधारित समाधानको निम्ति पाण्डे र चौधरी लागिपरेका छन् । ‘मिसिंग काउन्सेलर’को माध्यमबाट मानसिक स्वास्थ समस्यालाई अनलाइनबाटै हल गर्न सकिन्छ । पाण्डे भन्छन्, ‘मानिसमा रहेको चिन्ता, डिप्रेसन, निराशापनबारे यो पोर्टलमा बुझ्न सकिन्छ ।’ उनले अगाडि भने, ‘हाम्रो समाजमा मानसिक स्वास्थ्य सेवा खाेज्ने चलन छैन । याे सेवा सबैकाे पहुँचमा विस्तार पनि हुन सकेकाे छैन ।’ मिसिंग काउन्सेलरले मोबाइल र वेबको माध्यमबाट मानसिक स्वास्थ्य परामर्श सेवाहरू प्रदान गर्दछ । ‘अनुभवी काउन्सलरसँग लाइभ कुराकानी गर्न मिल्ने भएकाेले याे सबैको पहुँचमा छ । साथै यो वेबमा डिप्रेसन र एन्जाइटीबारे पढ्ने सामग्री समेत उपलब्ध छन्’, चाैधरीले भनिन् । ‘१२ कक्षासम्म पढ्दा पनि मानसिक स्वास्थ्यबारे न किताबमा छ नतअरू माध्यमबाट नै सिकाइन्छ’, उनले भनिन् । विभिन्न खालका परामर्शकर्ता, मेडिकल डाक्टर र सहजकर्ता रहेको मिसिंग काउन्सेलर’मा जुनसुकै बेला च्याट तथा भिडियो कल गरी सेवा लिन सकिने उनले जानकारी दिइन् । साथै डिप्रेसन, एन्जाइटीलगायत समस्याबारे बुझ्नका लागि विभिन्न किताब, लेख, रचना र अनुभवका सामग्रीसमेत पढ्न सकिने उनले बताइन् । उनका अनुसार मिसिंग काउन्सेलरमा अनुभवी सल्लाहकारहरूसँग परामर्श गरी बिरामीको मानसिक प्रशिक्षण पनि हुन्छ । डोल्पो उद्यम  त्यस्तै डोल्पाका येशे ग्याल्स्तेंन गुरुङले आफ्नै डोल्पो इन्टरप्राइजेज सञ्चालन गरेका छन् । उनले सञ्चालनमा ल्याएको व्यवसायबाट चिइज उत्पादन तथा वितरण गर्ने लक्ष्य लिएका छन् । साथै उनले डोल्पामै प्रशाेधन गरी उत्पादन गरिएको चिइजलाई नेपालसहित विश्व बजारमा लैजाने लक्ष्य लिएका छन् । डोल्पामा आर्थिक विकासको प्रवल सम्भावना रहेकोले येशेले स्थानीयवासीको संलग्नतामा व्यवसायलाई अगाडि बढाएका हुन् ।उनी भन्छन्, ‘यो व्यवसायबाट युवाहरूलाई उद्यमी बनाउने तथा महिलाहरूलाई पैसा ट्रान्जेक्सनमा टेवा पुर्‍याउने अठोट राखेको छु ।’ उनको यो अठोटसँगै डोल्पोले अहिले काठमाडौंको हायात होटल र याक एण्ड यति होटलमा आफ्नो उत्पादन निर्यात गरिरहेको छ । उनी भन्छन्, ‘नेपालसहित अहिले सातवटा देशमा हाम्रो उत्पादन टेस्टको लागि पुगेको छ ।’ डोल्पाका महिलालाई सशक्तिकरण गर्नका लागि डोल्पोले गाँउका महिलाहरूकै प्रत्यक्ष संलग्नतामा दूध संकलन गर्दै आएको छ । साथै डोल्पो कम्पनीमा चार जनाले राेजगारी पाएका छन् । ‘सुरुवाती चरणमा महिलाहरूले नोट समेत चिन्थेनन् तर अहिले आफैँ दूध ल्याउने र पैसाकाे हिसाब पनि राख्ने गरेका छन्’, उनले भने । येशेले सञ्चालन गरेको यो व्यवसायप्रति आइडिया स्टुडियोका निर्णायकले समेत खुसी व्यक्त गरेका छन् । टिफिन पोइन्ट वीरगञ्जका राकेशकुमार बर्नवालले ‘एसआर टिफिन पोइन्ट’ नामक व्यवसाय सञ्चालन गरेका छन् । राकेश पार्ट टाइम शिक्षक हुन् । उनी बीमा कम्पनीमा समेत काम गर्छन् । कामकै दौरान उनले यो व्यवसाय सुरु गरेका हुन् । उनी भन्छन्, ‘मानिसको कुल कमाई मध्ये २५ प्रतिशत खानामै खर्च हुन्छ । त्यसैले, मैले घरकै खाना टिफिन बक्समा उपलब्ध गर्ने सोच बनाएर व्यवसाय सुरु गरेँ।’ दैनिक जीवनमा व्यस्त रहन थालेका मानिसलाई घरकै खाजा खान समय हुँदैन । टिफिन पाेइन्टले बालबालिकालाई समेत स्कुलमा घरकै खाजा पठाउने व्यवस्था गरेकाे छ । राकेशको यो व्यवसायमा गृहिणीहरूले समेत रोजगारी पाएका छन् । ‘त्यस्ता गृहणीहरू जो काम गर्न रुचि राख्छन् तर घरबाट बाहिर जान सक्दैनन् उनीहरूले यो व्यवसायबाट पनि श्रोत जम्मा गर्न सक्छन्’, उनले भने । दैनिक तीन सय टिफिनको अर्डर लिने एसआर टिफिन पोइन्टलाई लकडाउनले सकस भयो । लकडाउनका बेला राकेशले मिथिलाको प्रसिद्ध परिकार ठेकुवा, पापड र अचारलाई व्यवसायसँग जोडे । उनी भन्छन, ‘लकडाउनमा सुरु गरेको यो परिकार अब दराजमा पनि उपलब्ध छ ।’ वीरगञ्चमा अवस्थित यो व्यवसायले घरमै बनेको खाजा बिक्री गर्दछ । उनको यो व्यवसायिक सोचबाट पनि निर्णायकहरू खुसी छन् । साथै राकेशले छिट्टै व्यवसायका लागि एप समेत निमार्ण गर्दैछन् । पाक आतिथ्य केन्द्र सुर्खेतका केशवबहादुर कठायत सि.टि.एच–पाक अतिथि केन्द्र नामक व्यवसाय लिएर आइडिया स्टुडियो आएका छन् । उनले पाक कलाको माध्यमबाट स्थानीय खानाको परिकार तथा उत्पादनलाई बिक्री वितरण गर्ने लक्ष्य लिएका छन् । केशवले आफैँ सिकेर आएको अनुभवलाई स्थानीय युवामा कलात्मक तथा व्यवसायिक माध्यमबाट पाककला सिकाउँदै छन् । त्यति मात्रै होइन, पाकले आफ्नै बेकरी र अर्गानिक कृषि उत्पादन समेत गर्दै आएको छ । केशवको पाककला कक्षामा खानाको परिकार पस्कने तरिका तथा आतिथि सत्कारकाे सिकाइ भइरहेकाे छ । पाक आतिथ्य केन्द्रले आफ्नै कृषि उत्पादन र उपभोगलाई जोड दिएको छ । उनी भन्छन्, ‘स्थानीय युवाहरूलाई विदेश जानबाट रोक्न तथा सिप सिकाउँदै कामकोसमेत जोहो गरेका छौँ ।’ स्थानीय समुदायमा अस्वस्थ जंक फुडलाई समेत परास्त गर्न अर्गानिक उत्पादनमा जोड दिइएको उनले बताए । ‘जनमानसलाई अर्गानिक उत्पादनबारे शिक्षित गर्न सके स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन विकासमा समेत टेवा पुग्न सक्छ’, उनले अगाडि भने, ‘गाउँमा युवाहरू छन्, काेहीसँग जग्गा जमिन छ तर त्यस्को सही सदुपयोग छैन । यी दुवै कुरालाई जोड्दै अगाडि बढ्ने हो ।’ उनको यो व्यवसायले विदेश जाने युवालाई नेपालमै सिप र रोजगारी दिने प्रयास गरेकाे छ । साथै पाक अतिथ्य केन्द्रले कर्णालीलाई व्यवसायिक ट्रान्जिट बनाउँदै छ । माथि उल्लेख गरिएका व्यवसायिक योजना आइडिया स्टुडियो सिजन–५ को डिल राउन्डमा आइपुगेका योजना हुन् । यो राउन्डमा माथि उल्लेखित चारसहित अन्य तीन जनाले पनि आफ्नो व्यवसायिक योजना सुनाएका थिए । जसमा स्मार्ट आमा, सोनाम वोयर र मिडास टच नेपाल नामक योजना प्रस्तुत भएका थिए । जम्मा सातवटा व्यवसायिक योजनामध्ये डोल्पो इन्टरप्राइजेज र सोनम वोयरले उत्कृष्ट व्यवसायको रूपमा बिउपूँजी पाउन सफल भएको छ । प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८, १०:५०:००

आइडिया स्टुडियोमा आएका फरक शैलीका चार उत्पादनमुखी योजना

– दिवाकर उप्रेती  | आइतबार, असोज २४, २०७८   अन्य देशबाट आयात गर्ने गरिएका सामानहरू नेपालमै पनि उत्पादन हुन थालेको छ। युवाको सोच र इच्छाशक्तिका कारण नेपालमा यस्ता व्यवसायहरू फस्टाइरहेको छ । यी व्यवसायको सुरुआत नेपालमा हुँदा स्थानीय कच्चा पदार्थको प्रयोग पनि भइरहेको छ भने स्थानीय उद्योगले प्रविधिमा समेत नयाँ छलाङ लगाउन सकेको छ । अझ यस्ता नयाँ योजनाले थप साथ र सहयोग पाएको खण्डमा अझै माथि पुग्न सक्छ भन्ने पनि देखिन्छ । यी उद्योगले साथ पाएको खण्डमा उत्पादनको वृद्धि मात्र नभइ आयात प्रतिस्थापन समेत गर्न सक्ने देखिएको छ । आइडिया  स्टुडियो सिजन– ५ मा प्रेमकृष्ण प्रजापति, सुनिल बानियाँ, तारा राई, डा. भीम काफ्ले आएका छन् । उनीहरूले फरकफरक व्यावसायिक योजना लिएर आएका हुन् । यी चारैजनाको योजना पृथक र दूरदर्शीसमेत रहेको छ । सेरामिक्स  मध्यपुर ठिमीका प्रेमकृष्ण प्रजापति माटोको सामान बनाउँछन् । ६३ वर्षका प्रेमकृष्णले विगत ३१ वर्षदेखि सो काम गर्दै आएका छन् । उनले सेरामिक्स नामको उद्योग सञ्चालन गरेर व्यवसाय गरिरहेका छन् । सेरामिक्सले प्लेट, कप, बाथरुम टायलजस्ता गुणस्तरीय डेकोरेसनका सामान बनाउँदै आएको छ । उनी भन्छन, ‘यो अवधिमा थुप्रै अनुभव बटुलेको छु । आफ्नै देशको कच्चा सामानबाट यो बनाउन सकिन्छ । जसले गर्दा यी सामान सस्तो पनि छ ।’ पहिल्यैदेखि यो काम गर्दै आएका प्रेमकृष्ण माटो, ढुङ्गाजस्ता वस्तुको मिश्रणबाट सबै खालका सजावटको वस्तु बनाउँछन् । उनी हाल बालुवा खानीबाट माटो र भारतबाट विभिन्नखालका ढुङ्गा आयात गरेर काम गर्दै आएका छन् । प्रेमकृष्णको व्यक्तिगत इच्छाशक्तिबाट स्थापना भएको सेरामिक्स अहिले उचित बजारीकरणको लागि अवसर लागिपरेको छ । उनी भन्छन्, ‘नेपालमा सबै थोक छ । तर, सरकारको बेवास्ता गर्दा नयाँ युवासम्म यहाँको खनिज पदार्थबारे जानकार छैनन् ।’ प्रेमकृष्णको व्यवसायले अन्य देशबाट आयात हुने सजावटका सामानहरूलाई विस्थापन गर्न सक्छ । साथै, सेरामिक्सले नेपालमै यी वस्तुको उत्पादन गर्न र बजारीकरणका लागि समेत काम गरिरहेको छ । व्यावसायिक रूपमा अगाडि बढेका प्रेमकृष्ण नेपालमै रहेको माटो, ढुङ्गा र अन्य वस्तुको मिश्रणमा निकै गुणस्तरीय सामान बनाउन सकिनेमा ढुक्क छन् । साथै, उनको यो योजनाबाट आइडिया स्टुडियोका निर्णायकहरूले उचित सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । न्यानो नानी  गोरखाका सुनिल बानियाँको सोचमा बनेको ‘न्यानो नानी’ आइडिया स्टुडियोसम्म आइपुगेको छ । नवजात शिशुहरूलाई यो उपकरणले न्यानोपन दिन्छ । सुनीलको समूहमा ६ सदस्य छन् । सो समूहले विभिन्न विधाका इन्जिनियरको सहकार्यमा काम अगाडि बढाएको छ । राष्ट्रिय आविष्कार केन्द्रमा रहेर काम गर्दै आएका सुनीलले यो काम पनि यहीँबाट गर्दै आएका छन् । उनी भन्छन्, ‘सबै साथीहरू इन्जिनियर भएकाले हाम्रो सोच र सामानलाई उद्योगसँग जोड्न आइडिया स्टुडियो आएका हौँ ।’ सुनीलले बनाएको न्यानो मेसिन ३ सयभन्दा बढी नवजात शिशुहरूको उपचारमा प्रयोग भइसकेको छ । उनको यो मेसिन अहिलेसम्म १६ वटा अस्पतालमा प्रयोग हुँदै आएको छ । ‘सस्तो, भरपर्दाे र सजिलै चलाउन सकिने हुनाले यसको माग हस्पिटलमा बढेको छ,’ उनी भन्छन, ‘अरु मेसिन डाक्टरले मात्र चलाउन सक्थे भने यो नर्सको पहुँचमा समेत छ ।’ अहिलेसम्म नेपालका विभिन्न १६ वटा ठाउँहरूमा यो उपकरण सफलतापूर्वक प्रयोगमा आइसकेको छ । मातृ मृत्युदर घटाउन तथा नवजात शिशुहरूलाई हुने हाइपोथर्मिया तथा श्वासप्रश्वासको समस्यालाई पनि सामाधान गर्ने उद्देश्य लिएको न्यानो नानीले प्रशंसा कमाएको छ । साथै, निर्णायकहरूले पनि यसमा साथ दिने प्रतिबद्धता जनाएका छन् । आस्था अर्ग्यानिक कृषि फार्म  बङ्गुर भनेको नै फोहोर जात हो । फोहोरमै खाने, फोहोरमै बस्ने हुन्छ । यो सामाजिक अवधारणालाई परिवर्तन गर्न सिन्धुपाल्चोककी तारा राईले ‘आस्था अर्ग्यानिक कृषि फार्म’ सञ्चालनमा ल्याएकी छिन् । उनी भन्छिन्, ‘यो जनावर खोरमा थुनेर पाल्ने हो र सफा ठाउँमा राखे त्यही बस्ने गर्छ ।’ आस्था अर्ग्यानिक कृषि फार्मले सफा र स्वस्थ बङ्गुरको मासु उत्पादन र बिक्रीवितरण गर्दै आएको छ । साथै, यो फार्मले स्वस्थ बङ्गुरको बच्चासमेत उत्पादन गरेर किसानलाई वितरण गर्ने लक्ष्य लिएको छ । ‘कीटनाशकरहित तरकारी तथा फलफूलसमेत उत्पादन गरेका छौँ,’  उनी भन्छिन्, ‘यस्तो कार्यबाट युवाहरूमा उत्प्रेरणा जागृत भए नेपालमै कृषि व्यवसाय गरेर जीविकोपार्जन गर्न सम्भव छ ।’ ताराको कार्यबाट प्रभावित भएर उनको घरनजिकैको भाइसमेत यो व्यवसायमा संलग्न भएका छन् । आस्था अर्ग्यानिक कृषि फार्मले बङ्गुरको वध गरेर मासुका परिकार विभिन्न कम्पनीमा पठाउने गरेको छ । साथै, नयाँ माध्यमबाट पनि प्याकेजिङ गर्ने उद्देश्यले तारा काम गर्दै आएकी छिन् । उनको इच्छाशक्ति र योजनाले गर्दा उनी यो व्यवसायमा सफल भइरहेकी छन् । उनी भन्छिन्, ‘नयाँ युवापुस्ताले कृषि पेसा गर्दै रोजगारी सिर्जना गर्न सक्नेबारे बताउँछिन् ।’ न्यानो प्याड  स्याङ्जाका डा. भीम काफ्लेले सौर्य हात वार्मर ‘न्यानो प्याड’ को योजना लिएर आइडिया स्टुडियो आएका छन् । पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले काफ्लेले सौर्य हात वार्मर क्रिस्टलीय सामग्रीको उत्पादन गरेका छन् । न्यानो प्याड एक सानो प्याकेज (थैलो) को रूपमा छ । यसमा सौर्य ऊर्जाको भण्डारण हुन्छ, जुन आवश्यक परेको बेला प्रयोग गर्न सकिन्छ । उनी भन्छन्, ‘एउटा केमिकल छ, जसले सौर्य किरण सोस्छ । सोसेको सौर्य थैलोमा संकलन हुन्छ । चाहिएको बेला प्रयोग गर्न सकिन्छ ।’ विशेषगरी जाडो ठाउँमा घुम्न जाने पर्यटक, मोटरसाइकल चालक, त्यस्तै चिसो ठाउँका बासिन्दाहरूका हात, खुट्टा, ढाड तथा कम्मर न्यानो बनाउन प्रयोग गर्न सकिन्छ । सञ्चित रहेको केमिकल पगाल्दै त्यहाँ रहेको सानो बटम थिचेर प्रयोग गर्न सकिन्छ । काफ्ले भन्छन्, ‘उचाइमा रहने वा पर्यटकले सजिलै उपयोग गर्न सक्छन् । यसले जाडोमा राहत दिनेछ ।’ यो उत्पादनले जाडो ठाउँमा बस्ने मानिसमा चिसोको समस्या समाधान गर्नेमा काफ्ले ढुक्क छन् । काफ्लेसँगै  निर्णायकहरू पनि यो उत्पादका निम्ति सहयोग गर्न इच्छुक छन् । माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउन्डमा आइपुगेका योजना हुन् । यो राउन्डमा माथि उल्लेखित चारसहित अन्य चार जनाले पनि नेपालमै व्यवसाय, नेपालमै बन्न सक्ने योजना सुनाए । जसमा हिमालको सातु, फुङ्गो फुड, मोतीखेती र पोथी नामक योजना प्रस्तुत भए । जम्मा आठवटा व्यावसायिक योजनामध्ये पोथी नामक योजनाले उत्कृष्ट व्यवसायको रूपमा बिउपूँजी पाउन सफल भएको छ । प्रकाशित मिति: आइतबार, असोज २४, २०७८, १९:२५:००

नेपाली उत्पादनमा अग्रसर युवाहरु

– दिवाकर उप्रेती  | बिहीबार, असोज २१, २०७८   नेपालमा बेलाबेला भन्ने गरिन्छ, ‘नेपालले आजसम्म सियो पनि बनाउन सकेको छैन ।’ के वास्तवमा त्यस्तै हो त ? पक्कै पनि होइन होला । नेपालले औद्योगिकीकरणमा फड्को मार्न धेरै नै बाँकी छ । बलियो अर्थव्यवस्था बनाउन औद्योगिकीकरण प्रमुख हो । तर, व्यावसायिक वातावरण बनाउन सरोकारवालाको पनि भूमिका अहम् हुन्छ । कृषि, प्रविधि र सोचको सम्मिश्रणमा बनेका योजनाको कार्यान्वयनले नेपाल विश्वसामु चिनिने निश्चित छ । वर्षा बस्नेत, कर्णबहादुर शाही, सुमन पौडेल र कमला राईले नेपालको आफ्नै उत्पादनमा जोड दिँदै आफ्नै आइडिया लिएर आइडिया स्टुडियो सिजन– ५ मा आएका छन् । यी चार युवाले नेपालमै बनेको वस्तुबाट विश्व बजारमा नेपालको उत्पादन चिनाउँदै छन् । ‘हिमालको सातु’ तपाईंमध्ये प्राय:ले सातु खानुभएको छ होला । घरमै फलेको मकै, गहुँ र अन्य अनाजको मिश्रणबाट बनेको सातुको स्वादको याद पक्कै पनि छ होला । तर, जीवनयापनको परिवर्तनसँगै सातु हराउँदै गएको छ । आममानिसको ध्यान बजार र रेस्टुरेन्टको विदेशी खानाको मोहसँगै यसको प्रयोग  घट्दै गएको हो । तर, यसलाई नै व्यवसायको माध्यम बनाउँदै आएका छन वर्षा बस्नेत, सरुप सेख र रमनी कँडेल । आइडिया स्टुडियोमा आएको टिम हिमालयले ‘हिमालको सातु’ नामक उत्पादनलाई जजसामु पस्केको छ । जसको मुख्य उद्देश्य नेपालीहरूका स्वास्थ्य समस्याहरू जस्तै; मोटोपन, मधुमेह, थकान आदिलाई सातुको दैनिक सेवनबाट निर्मूल पार्नु हो । टिम हिमालयकी वर्षा बस्नेत भन्छिन्, ‘९ प्रतिशत नेपाली जनता मधुमेहका बिरामी छन् । जसले गर्दा उहाँहरूलाई ग्लुटेन, चिनी र ट्रान्स फ्याट नभएको वस्तु चाहिन्छ । त्यसैले बजारमा पाइने अन्य सातुभन्दा यो भिन्न छ ।’ उनी भन्छिन, ‘कुनै रासायनिक मल प्रयोग नगरी उत्पादन गरेको हुनाले यसको स्वाद अरु सातुभन्दा फरक छ ।’ मकवानपुरका किसानसँग संकलन गरिएको कच्चा पदार्थलाई ग्लुटेन, चिनी र ट्रान्स फ्याटरहित शुद्ध बनाइन्छ । त्यसपछि सातुलाई बजारमा बिक्रीवितरण गरिन्छ । वर्षा भन्छिन्, ‘जाडोको समयमा हिमालय क्षेत्रहरूमा खानाको अभाव कम गर्न पनि सातुको प्रयोग हुन्छ ।’ जसले गर्दा सातुको व्यवसाय राम्रो हुनेमा टिम हिमालय ढुक्क छ । डोल्पाको–फुङ्गो फुड डोल्पाका कर्णबहादुर शाहीले फुङ्गो फुडको योजना लिएर आइडिया स्टुडियो आएका छन् । उनले नेपालका पहाडी र हिमालीक्षेत्रहरूमा परम्परागत खेती गरिने खाद्यवस्तुलाई काठमाडौंसम्म ल्याएका छन् । डोल्पामा उत्पादन हुने फापरको पिठो, सिस्नोको धुलो, चिनोको चामल, जिम्बु, कालो सिमी र लट्टाको दानाजस्ता उपयोगी वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले व्यवसाय गरेका हुन् । उनी भन्छन्, ‘नेपाल कृषि प्रधान देश भएर पनि उत्पादन भएका वस्तुहरूको उचित व्यवस्थापन तथा बजारीकरण नभएकाले यसलाई व्यावसायिक रूपमा ल्याएको हो ।’ जैविक उत्पादन र जडीबुटीहरू संकलन गरी प्रशोधन गर्दै नेपाली बजारमा बिक्रीवितरण गर्न थालेका छन् । उनका उत्पादन अहिले मेट्रो तरकारी अनलाइनमा देख्न र किन्न सकिन्छ । उनी भन्छन्, ‘यो वस्तुको उपभोगले ग्राहकहरूका बीच एक स्वस्थ जीवनशैलीलाई बढावा दिन्छ ।’ कर्णको यो व्यवसायले ग्रामीण किसानहरूलाई सशक्त बनाउँदै कामको सुनिश्चितता हुनेछ । त्यस्तै, फुङ्गो फुडले हिमालीक्षेत्रमा पाइने जडीबुटी शिवकथ्रोनलाई समेत संकलन गर्दै नेपाली बजारमा जुसको रूपमा ल्याउने तयारी गरेको छ । शिवकथ्रोनको दानालाई संकलन र प्रशोधन गर्दै यसबाट जुस निकालिन्छ । कर्ण भन्छन्, ‘यसको माग नेपाली बजारमा मात्र नभएर विदेशी बजारमा समेत रहेकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ ।’ फुङ्गो फुडको माध्यमबाट नेपाली बजारमा डोल्पाका जैविक तथा जडीबुटीहरूको उपभोग गर्न सकिन्छ । पोथी धनगढी, कैलालीका सुमन पौडेलले निकै फरक सोच लिएर आइडिया स्टुडियो आएका छन् । उनको सोचको नाम हो ‘पोथी’ । सुन्दै कस्तो विशिष्ट तथा अच्चम लाग्ने । हो, यो विशिष्ट सोचले नेपालमै चल्ला कोरल्ने मेसिन बन्न सक्ने आधार बनाएको छ । पोथीले अहिले चल्ला कोरल्ने मेसिन बनाउने काम गर्दै आएको छ । सुगम ठाउँमा मात्र प्रयोग गर्न सकिने अन्य मेसिनभन्दा यो फरक खालको मेसिन हो । यो मेसिन जस्तोसुकै ठाउँमा पनि प्रयोग गर्न सकिन्छ भने यसको आफ्नै विशेषता पनि छ । सुमन भन्छन्, ‘पोथीको मेसिनले थोरै बिजुली खपत गर्छ, खिया प्रतिरोध छ भने जस्तोसुकै स्थानमा पनि प्रयोग गर्न सकिन्छ । साथै, यसमा रहेको इलेक्ट्रिक इन्डिकेटरले यसको अवस्था बुझ्न सकिन्छ ।’ पोथीको यो मेसिनलाई मोबाइलकै एपबाट पनि चलाउन सकिन्छ । पोथीसँग अहिले ५ सय अण्डा अटाउनेसम्मको मेसिन छ । मेसिन ८० हजारदेखि २५ लाख रुपैयाँसम्म पर्छ । यसअघि पनि सुमनले थुप्रै खालको डिभाइस बनाएका छन् । रात परेसी आफैँ बत्ती बल्ने सिस्टम, चोर आयो भने म्यासेज आउने सिस्टम, ट्याङ्कीमा पानी सकिएपछि आफैँ चल्ने सिस्टम भएका डिभाइस उनले बनाएका छन् । सुमन भन्छन, ‘सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चार वर्षअघि बसचालक निदाएमा आफैँ ब्रेक लाग्ने सिस्टम बनाएको थिएँ ।’ सुमनको दृढ आत्मविश्वास र संकल्पले ‘पोथी’ मेसिन मेड इन नेपाल सम्भव भएको छ । मोती खेती मोतीको माला त पक्कै लगाउनुभएको छ होला ? तर, मोती कहाँबाट आउँछ थाहा छ ? सामान्य मानिसको जवाफमा मोती समुद्रमा वा खोलामा पाइन्छ । तर, मोतीको खेती नै हुन्छ भन्दा अचम्म लाग्न सक्ला । मोरङ सुन्दर हरैँचाकी कमला राईले पहिलो पटक नेपालमा मोतीको खेती गर्दै आएकी छिन् । कमलाले श्री महाकाली पर्ल फार्म र प्रशिक्षण केन्द्रद्वारा मोती खेती प्रशिक्षण र ज्ञान प्रदान गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘ख्यालख्यालमै युट्युबमा देखेको जस्तो भएन । त्यसैले मैले भारतको सिफा सेन्टरबाट सिकेर सुरु गरेको हो ।’ नयाँ काम गर्ने इच्छाबाट सुरु गरिएको मोती खेतीले अहिले स्वरुप लिँदै गएको हो । मोतीको उत्पादन गर्न तीन वर्ष लाग्ने हुनाले कमला व्यावसायिक व्यवस्थापनमा छिन् । उनी भन्छिन्, ‘नेपालमा पाइने प्राय: मोती कृत्रिम छन् । मानिसलाई त्यसबारे बुझाउनुपर्छ ।’ उनी भन्छिन्, ‘नेपालमा भित्रिने मोतीभन्दा यो सस्तो हुनेछ ।’ यो खेतीले नेपालमा मोती उत्पादन तथा सीपीको संरक्षणमा सहयोग पुग्नेछ । साथै, मोतीखेती एक अद्वितीय व्यवसाय भएकाले सीमित स्रोतसाधन र समयबाटै व्यवसाय गर्न सकिनेमा कमला ढुक्क छिन् । जजसामु प्रस्तुत गरिएको ‘मोतीखेती’ले प्रशंसा पाएको छ । आजसम्म नेपालमा मोतीखेतीको व्यावसायिक अभ्यास भएको छैन । माथि उल्लेख गरिएका व्यावसायिक योजना आइडिया स्टुडियो सिजन– ५ को डिल राउण्डमा आइपुगेका योजना हुन् । यो राउण्डमा माथि उल्लेखित चारसहित अन्य चार जनाले पनि नेपालमै व्यवसाय, नेपालमै बन्न सक्ने योजना सुनाएका छन् । जसमा सेरामिक्स विकास र निर्माण, न्यानो नानी, आस्था अर्ग्यानिक कृषि र न्यानो प्याड नामक योजना प्रस्तुत भएका छन् । जम्मा आठवटा व्यावसायिक योजनामध्ये पोथी नामक योजनाले उत्कृष्ट व्यवसायको रूपमा बिउपुँजी पाउन सफल भएको छ । प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८, १४:०७:००

Scroll to Top