फोहोरबाट मोहोर: मल, औषधि र ब्रिकेट बनाएर हुन्छ आम्दानी
– सम्झना घिमिरे | शुक्रबार, असोज ८, २०७८ तपाईं किनमेलका क्रममा घरमा आएका प्लास्टिक फाल्नुहुन्छ कि राख्नुहुन्छ ? अधिकांशको एउटै उत्तर हुन्छ– ‘फोहोर राखेर फाल्ने गर्छु ।’ कहाँ फाल्नुहुन्छ ? फोहोर बोक्ने गाडी, सडक वा खोलानालामा ? प्रयोग भएको प्लास्टिक बेच्छु भन्ने सायदै होलान् । अझ कतिपयलाई त यसरी हामीले प्रयोग गरिसकेको र काम नलाग्ने प्लास्टिक पनि बेच्न सकिन्छ भन्ने थाहा नहोला । काठमाडौंका आयुस देउजा यसरी प्रयोग भइसकेका प्लास्टिक पैसा दिएर किन्दै आएका छन् । आधुनिक पेट इन्डस्ट्री सञ्चालन गर्दै आएका देउजा भन्छन्, ‘तपाईंले देखेको फोहोरमा म पैसा देख्छु । सडकभरि छन् पैसैपैसा ।’ नेपालमा प्लास्टिक झोला तथा यसका विभिन्न सामान उत्पादन गर्ने उद्योगहरूले वार्षिक अर्बौं रुपैयाँबराबरको कच्चा पदार्थ आयात गर्दै आएको छ । उनी आयातलाई निर्यातमा परिणत गर्न लागिपरिरहेका छन् । त्यसका लागि उनी हाल सडक, खोला किनारमा भेटिएका प्लास्टिक संकलन गरेरै मासिक ६ टन कच्चा पदार्थ उत्पादन गरिरहेका छन् । माटोमा नमिल्ने भएकै कारण पूर्ण रूपमा विस्थापन गर्न नसकिने तर्क गर्ने उनी प्रशोधन नै एक मात्र समाधान मान्छन् । एक पटक प्रशोधन भइसकेको कच्चा पदार्थको आयु पनि ५० वर्षसम्म रहने हुँदा फोहोरको रूपमा मात्रै फाल्नुभन्दा फोहोरलाई नै व्यवसाय बनाउँदा प्लास्टिकको समस्या सामाधान गर्न सकिने देउजाको भनाइ छ । यसरी दैनिक रूपमा घरमा आइपुुगेका अनावश्यक प्लास्टिकलाई देउजा जथाभावी फालेर वातावरण नै दुर्गन्धित नबनाउन आग्रह गर्छन् । बरु प्लास्टिकबाट पैसा कमाउन सक्ने अवसरको सिर्जना गर्दै छन् । आधुनिक पेट इन्डस्ट्रीमार्फत उनले प्लास्टिक रिसाइकल गर्दै आएका छन् । फोहोरबाट विक्रेट रुपन्देहीका मनोजरत्न भुसाल पेसाले मेकानिकल इन्जिनिर हुन् । तर, उनी वातावरण संरक्षणका लागि जुटिरहेका छन् । सेवा र व्यवसाय दुवै एकै स्थानबाट गर्न सकिने हुनाले पनि भुसाल अचेल कहिले फोहोरका डंगुरमा भेटिन्छन् त कहिले ल्याबमा । यसरी सोलिड वेस्ट म्यानेजमेन्ट (ठोस फोहोर व्यवस्थापन) नामक व्यवसायबाट उनी फोहोरलाई मोहोर बनाउन लागिपरिरहेका छन् । फोहोर संकलन गरेर त्यसबाट उनले इन्धनको रूपमा प्रयोग गरिने विक्रेट बनाउँदै आएका छन् । नेपालमा कोइलाको माग उद्योगदेखि चुलोसम्म छ । वार्षिक करोडौँ रुपैयाँको कोइला भारतबाट आयात हुँदै आएको छ । तर, नेपालमा नै यत्रतत्र छरिएका स्रोतबाट कोइलाको विकल्प खोजेको भने पाइँदैन । भुसाल रुखका पात, फालिएका कागज तथा सडक र खोला किनारमा भेटिएका फोहोरलाई रिसाइकल गरेर विक्रेट बनाउने गर्छन् । दैनिक ५ सय थान विक्रेट उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेका भुसाल लगानी भेटेमा नेपालमा फोहोरबाट उत्पादन गर्न सकिने सामग्रीको अध्ययनमा लाग्ने बताउँछन् । बजारमा विक्रेटको माग र फोहोका डंगुर दुवै चुलिँदै गएका छन् । उनी भन्छन्, ‘दुवैलाई एकअर्काको परिपूरक किन नबनाउने ? फालिने वस्तुबाट पैसा किन नकमाउने ?’ भुसाल फोहोरबाट विक्रेट बनाएर वार्षिक ५४ लाख रुपैयाँबराबरको कारोबार गर्दै आएका छन् । फोहोरमा हुने झिँगामा औषधि खासगरी गर्मीयाममा झिँगा धेरैका लागि समस्या हो । यसलाई धपाउन वा मार्न हामी अनेक उपाय लगाइरहेका हुन्छौँ । धेरैलाई थाहा नहुन सक्छ, झिँगा केवल फोहोर होइन, औषधि पनि हो । त्यसैले ब्ल्याक सोल्जर फ्लाई व्यवसायमार्फत हिरेन्द्र जोशीले दुई वर्षदेखि झिँगाबाट औषधि निकालिरहेका छन् । उनले झिँगाबाट औषधि र पशुपन्छीलाई चाहिने प्रोटिनयुक्त दाना बनाउने प्रयास गरिरहेका छन् । उनीहरूले झिँगामा सफलताको सपना देखेका छन्, जसलाई साकार पार्न कहिले कालीमाटीमा कुहिएको फोहोर उठाउँदै गरेका भेटिन्छन् त कहिले सडक किनारका फोहोर उधिन्दै गरेका देखिन्छन् । बायोटेक विषयमा स्नातक गर्दै गरेका उनी बालाजुको जीतपुरफेदीमा फार्म खोलेरै झिँगाखेती गरिरहेका छन् । जहाँ फोहोरमैै पाउने ९ हजारभन्दा बढी झिँगाका लार्भा विकास भइरहेका छन् । हिरेन्द्र भन्छन्, ‘झिँगाबाट प्रोटिन निकाल्न सकिने थाहा पाएपछि त्यसको खोजी गर्न थाल्यौँ । सँगै प्रोटिन आवश्यक क्षेत्रमा पुग्यौँ । त्यहाँ प्रोटिनको अभावमा सयौँ किसानले व्यवसायबाट लाभ लिन नसकेको भेट्यौँ ।’ किन भनेर खोज्दै जाँदा अधिकांशको दानामै समस्या देखियो । उनी भन्छन्, ‘विदेशबाट दाना भित्र्याउँदा महँगो पर्नुका साथै गुणस्तर पनि निकै खस्केको पाइयो । गुणस्तर कम हुनु भनेको प्रोटिन कम हुनु नै हो । यता झिँगामा पर्याप्त प्रोटिन थियो, उता प्रोटिनको अभाव । अनि शहरभरि फोहोरको डंगुर । डंगुरभरि प्रोटिन बोकेका झिँगाहरू । यी तिनै समस्यालाई किन अवसर नबनाउने, किन फ्युजन गरेर पैसा नकमाउने ?’ सडकमा देखिएको फोहोर, फोहोरमा भन्किएका झिँगा, झिँगामा पाइने प्रोटिन र किसानको समस्या यी तीनै कुरालाई फ्युजन गर्ने व्यवसाय हो ब्ल्याक सोल्जर फ्लाई । फार्म सफल बनेसंँगै फार्मबाट उत्पादन भएको झिँगाका अण्डा देशका विभिन्न भागमा रहेका किसानसम्म पुर्याएर व्यवसाय गर्न सिकाउने उनकोे योजना छ । कपालबाट मल तपाईं हामीलाई कपाल कहाँ फाल्ने भन्ने समस्या हुन सक्छ । यही समस्यालाई व्यवसायको रूपमा सुरु गर्दै छन् विप्लव कार्की । ‘बाला : फ्रम वेस्ट टु वेल्थ’ नामक उक्त व्यवसायबाट कार्की मानिसको कपाल, जनावरको रौँबाट मल उत्पादन गर्न लागिपरिरहेका छन् । पछिल्लो समय माटोमा हराउँदै गएको उर्बरा शक्तिलाई पुनः जीवन दिन कपालको महत्त्वपूर्ण भूमिका रहने उनी बताउँछन् । कार्की भन्छन्, ‘कपाल र फरबाट हामीले मल बनाउन सक्छौँ । यो मलमा उर्बरा शक्तिको मात्रा धेरै हुन्छ । अर्ग्यानिक पनि हुनाले यस्तो मलले रासायनिक मललाई पनि विस्थापित गर्छ ।’ दुई वर्षअगाडि व्यवसाय सुरु गरेका कार्की यस प्रकारको मल कौसीखेती र गमलामा फूल फुलाउन प्रयोग गर्दा फाइदा हुने बताउँछन् । दिनहुँ कृषकले मल नपाएको गुनासो बढिरहँदा प्रतिलिटर ४० रुपैयाँमा नै अर्ग्यानिक मल उत्पादन गर्दा नेपालको समग्र कृषिक्षेत्रलाई नै टेवा पुर्याउने कार्कीको योजना छ । नेपालमा पनि यस प्रकारको मल पाइन्छ । अमेरिकाबाट आयात हुँदै आए पनि नेपालमै भने यसको प्रयोग भएको छैन । दिनहुँ झर्ने कपाल र जनावरका फरहरू खेर गइरहे पनि यसलाई सदुपयोग गर्न सके मल आयातलाई न्यूनीकरण गने कार्कीको योजना छ । माथि उल्लेखित चारवटै योजना बोकेर आइडिया स्टुडियो आइपुगेका छन्– आयुस देउजा, मनोज रत्न भुसाल, हिरेन्द्र जोशी र विप्लव कार्की । यी चारै जना आइडिया स्टुडियो सिजन– ५ अन्तर्गत डिल राउण्डका प्रतिस्पर्धी हुन् । जो सोचलाई व्यवसाय बनाउने आशाका साथ कार्यक्रममा सहभागी भएका हुन् । आइडिया स्टुडियोले यसरी व्यावसायिक सोच बोकेर आउनेलाई प्रशिक्षण दिँदै प्रतिस्पर्धामा उतार्दै आएको छ भने लगानीका लागि पनि सहयोग पुर्याउँदै आएको छ । यी चारै जना युवाहरू आइडिया स्टुडियो सिजन–५ को डिल राउण्डअन्तर्गतको ग्रिनोभेसन विधाका प्रतिस्पर्धी हुन् । उनीहरूसँगै यो विधामा अन्य चार जनाले पनि व्यावसायिक योजना प्रस्तुत गरिसकेका छन् । आठ जनाको व्यावसायिक योजना समेटिएको यो कार्यक्रममा दिगो नेपाल नामक व्यवसायले उत्कृष्ट व्यवसायको रूपमा बिजनेस सिड लगानी पाउन सफल बनेको छ । प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८, १९:४९:००